बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

९८ वर्षको इतिहासमा पहिलोपटक दुई जना मिस इङ्ग्ल्यान्ड घोषित

बिहीबार, ३२ असार २०८३, १४ : १८
बिहीबार, ३२ असार २०८३

सारांश

  • मिस इङ्ग्ल्यान्ड प्रतियोगिताको ९८ वर्षको इतिहासमा पहिलोपटक १९ वर्षीया कैटलिन बेनेट र २३ वर्षीया एली ड्याग्लिस संयुक्त विजेता घोषित भएका छन् ।
  • दुवैले समान अंक प्राप्त गरेपछि आयोजकले राष्ट्रिय फाइनलमा प्रवेश गराउने निर्णय गरेका हुन् ।
  • अब दुवैले नोभेम्बर १७ मा हुने मिस इङ्ग्ल्यान्ड राष्ट्रिय फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

लन्डन । मिस इङ्ग्ल्यान्ड प्रतियोगिताको ९८ वर्षको इतिहासमा पहिलोपटक दुई प्रतियोगी संयुक्त रूपमा विजेता घोषित भएका छन् । 

१९ वर्षीया कैटलिन बेनेट र २३ वर्षीया एली ड्याग्लिसले आइतबार सम्पन्न मिस इङ्ग्ल्यान्ड ईस्ट मिडल्यान्ड्स प्रतियोगितामा समान अंक प्राप्त गरेपछि दुवैलाई संयुक्त रूपमा विजेता घोषणा गरिएको हो । सन् १९२८ मा प्रतियोगिता सुरु भएयता दुई जनाले उपाधी बाड्नु परेको यो पहिलो पटक हो ।

निर्णायकहरूको मूल्यांकनपछि दुवै प्रतियोगीले ठ्याक्कै समान अंक प्राप्त गरेको पुष्टि भएपछि आयोजकले दुवैलाई राष्ट्रिय फाइनलमा प्रवेश गराउने निर्णय गरेका हुन् । 

कैटलिन बेनेट विद्यार्थी र पार्ट–टाइम नृत्य प्रशिक्षक हुन् । पहिलो सौन्दर्य प्रतियोगितामै उपाधि जित्न पाउँदा अत्यन्त खुशी लागेको उनले बताइन् । एली ड्याग्लिस फेसन मर्चेन्डाइजर हुन् । संयुक्त विजेता हुने कल्पना आफूले नगरेको उनले बताइन् ।

प्रतियोगितामा मेकअपविहीन प्रस्तुति, सामाजिक सेवाका लागि धन सङ्कलन, र क्याटवाक प्रस्तुतिलगायत विभिन्न चरणमा प्रतिस्पर्धा भएको थियो । दुवै प्रतियोगीले समान अंक प्राप्त गरेकाले उनीहरूलाई छुट्याउन सम्भव नभएको मिस इङ्ग्ल्यान्डकी निर्देशक एन्जी बिस्लीले बताइन् । 

उनले भनिन्, ‘यस्तो अवस्था अत्यन्त दुर्लभ हो । दुवैले उत्कृष्ट प्रदर्शन गरेकाले दुवैलाई राष्ट्रिय फाइनलमा पठाउने निर्णय न्यायोचित ठहरियो,’ ।

हालकी मिस इङ्ग्ल्यान्ड ग्रेस रिचार्डसनले पनि निर्णायकहरूका लागि दुईमध्ये एक जनालाई मात्र छनोट गर्न असम्भव भएको बताउँदै दुवै उपाधिका योग्य रहेको प्रतिक्रिया दिइन् । अब कैटलिन बेनेट ‘मिस लेस्टरशायर’ र एली ड्याग्लिस ‘मिस नटिङ्घमशायर’का रूपमा नोभेम्बर १७ मा लेस्टरस्थित एथेना हलमा हुने मिस इङ्ग्ल्यान्ड राष्ट्रिय फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

राष्ट्रिय फाइनलका विजेताले मिस वल्र्ड २०२७ मा इङ्ग्ल्यान्डको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् । हालकी मिस इङ्ग्ल्यान्ड ग्रेस रिचार्डसनले भने आगामी महिना भियतनाममा हुने मिस वल्र्ड २०२६ प्रतियोगितामा इङ्ग्ल्यान्डको प्रतिनिधित्व गर्नेछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप