नेकपासँग बागमती सरकारबारे एमालेको ‘वाम गठबन्धन’ को प्रस्ताव
सारांश
- केन्द्रको सत्ता समीकरण फेरिएसँगै बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रयास सुरु भएको छ ।
- नेकपा एमालेले बागमती प्रदेशमा नेकपासँग वाम गठबन्धनको प्रस्ताव राखेको छ ।
- नेकपाका दलका नेता शालिकराम जम्कट्टेलले एमालेको प्रस्ताव सकारात्मक रहेको तर पार्टीको निर्देशनपछि मात्र छलफल हुने बताएका छन् ।
हेटौँडा । केन्द्रमा फेरिएको सत्ता समीकरणसँगै बागमती प्रदेशमा पनि नयाँ सरकार गठनको रस्साकस्सी सुरु भएको छ । नेकपा एमालेले बागमती प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग ‘वाम गठबन्धन’ गरेर अगाडि बढ्ने प्रस्ताव अगाडि सारेको छ ।
एमालेका सांसदहरूले नेकपाका बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेललाई बाम गठबन्धनमा सहकार्यको प्रस्ताव राखेका हुन् । पूर्वमुख्यमन्त्री समेत रहेका जम्कट्टेलले बुधबारबाट नै एमालेका सांसदहरूले फोन गरेर वाम गठबन्धनको प्रस्ताव अघि सारेको बताए । एमालेको प्रस्तावलाई सकारात्मक रूपमा लिएको र उक्त विषयमा पार्टी शीर्ष नेतृत्वको निर्देशन पछि मात्र छलफल हुने उनले बताए । नयाँ सरकार गठनको अवस्थामा नेकपाले मुख्यमन्त्रीमा दाबी गर्ने उनले बताए ।
उनले बागमती प्रदेशमा नेकपा निर्णायक शक्तिको रूपमा रहेको र आफ्नै नेतृत्वमा तीनवटै दल (एमाले, नेकपा र कांग्रेस) सम्मिलित सरकार बनाउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।
‘एमालेका माननीयज्युहरु तपाईं हामी मिलौँ र बाम गठबन्धन अगाडि बढाऔँ भनिरहनुभएको छ । मैले त्यसलाई सकारात्मक रूपमा लिएको छु । पार्टीको निर्देशन अनुसार छलफल हुन्छ । अहिलेसम्म कुनै निर्देशन आएको छैन’ उनले भने, ‘यदि अहिलेको सरकार परिवर्तन हुने स्थिति बन्यो भने हामी अरु कसैलाई सपोर्ट गर्दैनौँ । प्रदेशसभाको दोस्रो ठुलो दल हुनुको नाताले हाम्रै नेतृत्वमा सरकार बनाउन पहल गर्छौँ ।’
नेता जम्मकट्टेलका अनुसार हाल उत्पन्न राजनीतिक अस्थिरताको एमालेका कारण पैदा भएको हो । विशेषगरी सुदूरपश्चिम र कोशी प्रदेशको बजेट फेल गराउने खेलका कारण अहिलेको समस्या आएको उनको भनाइ छ । एमाले आफैँ कोशी र सुदूरपश्चिमको बजेट फेल गराउन सक्रिय रहेको र कांग्रेसलाई प्रस्ताव गरेको उनले बताए । सोही अवस्थाका कारण प्रदेश सरकारहरूमा समस्या देखिएको उनले बताए ।
प्रदेशको सत्ता समीकरणबारे शीर्ष तहबाट हुने जुनसुकै निर्णयलाई आफूहरूले स्वीकार गर्ने गरेर अघि बढ्ने उनको भनाइ छ । सरकारको विषयमा हाल कांग्रेसले कुनैपनि चासो नदिएको र छलफलका लागि सम्पर्क नगरेको उनले बताए ।
‘शीर्ष तहबाट जे निर्णय आउँछ, त्यसलाई स्वीकार्छौं, तर सरकारको नेतृत्वमा हाम्रो दाबी स्वाभाविक रहन्छ । हालसम्म औपचारिक रूपमा कांग्रेसले सरकारका लागि कुनै प्रस्ताव गरेको छैन ।’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीप विकास कार्यक्रम निजी क्षेत्रको नेतृत्वमा सञ्चालन हुनुपर्छ: अध्यक्ष पाण्डे
-
कानुन मन्त्रालयले किन रोकिरहेको छ निजामती विधेयक ?
-
कर्णालीमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे कांग्रेसभित्र छलफल सुरु
-
नीतिगत परिमार्जनमा सरकारले हतारो गर्दा निजी क्षेत्र साक्षी मात्रै बन्यो : अध्यक्ष श्रेष्ठ
-
धान रोपिरहेका बेला चट्याङ पर्दा ७ महिला घाइते
-
रुपन्देहीमा माइक्रोबस दुर्घटना : सहचालकको मृत्यु, सात यात्रु घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण