अभिनेता परेश रावलले खोले राजनीति छोड्नुको कारण
सारांश
- अभिनेता परेश रावलले अभिनयलाई निरन्तरता दिन नसक्ने र राजनीतिमा पूर्ण समय दिन नसक्ने महसुस गरेपछि राजनीति छाडेका छन्।
- राजनीतिमा कामको वास्तविक स्वरूप सोचेभन्दा फरक, कामको बोझ, निरन्तरको यात्रा र जिम्मेवारीले स्वास्थ्यमा असर पारेको उनले बताए।
- रावलले आफू सीमित समयका लागि राजनीतिमा गएको र यो आफ्नो काम नभएको भन्दै यसबाट अलग भएको स्पष्ट पारे।
मुम्बई । चर्चित अभिनेता परेश रावल एक समय राजनीतिमा निकै सक्रिय थिए। सिल्भर स्क्रिनमा मानिसहरूलाई हँसाउने परेश सन् २०१४ देखि २०१९ सम्म भारतीय जनता पार्टी (भाजपा) मा आबद्ध रहे।
उनी भाजपाको टिकटमा गुजरातको अहमदाबाद पूर्व लोकसभा सिटबाट सन् २०१४ को आम निर्वाचन जितेर संसद् पुगेका थिए। तर, सन् २०१९ मा उनले राजनीति छाडे। आफूले किन राजनीति छाड्नु पर्यो र के कारणले यो निर्णय लिनु पर्यो भन्ने विषयमा परेश रावलले हालै एक अन्तर्वार्तामा खुलासा गरेका छन्।
विक्की लालवानीको पोडकास्टमा कुरा गर्दै अभिनेता रावलले राजनीतिमा निकै ठूलो समर्पणको आवश्यकता पर्ने आफूले महसुस गरेको बताए। अभिनय यात्रालाई निरन्तरता दिँदै राजनीतिलाई पूर्ण समय दिन नसक्ने लागेर नै आफूले यो कदम चालेको उनको भनाइ छ।
राजनीतिमा कामको वास्तविक स्वरूप आफूले सोचेभन्दा निकै फरक पाएको उनले स्वीकार गरे। कामको बोझ, निरन्तरको यात्रा र जिम्मेवारीले आफ्नो स्वास्थ्यमा समेत असर पारेको उनले बताए।
‘म सन् २०१४ मा जब राजनीतिमा गएँ, त्यसपछि मेरो समस्या सुरु भयो,’ आफ्नो अनुभव सुनाउँदै रावलले भने, ‘ब्लड प्रेसरको समस्या त पहिलेदेखि नै थियो, तर राजनीतिमा लागेपछि दिनमा तीनवटा औषधी खानु पर्ने अवस्था आयो।’
उनले सर्वसाधारणले राजनीतिज्ञहरू एसी कोठामा बस्ने, खुट्टा मिचाउने र काजु–किसमिस खाएर बस्ने सोच्ने गरेको तर वास्तविकता त्यस्तो नभएको उल्लेख गरे। ‘त्यहाँ गएपछि मात्र थाहा भयो कि कति धेरै काम गराउँछन्,’ उनले थपे, ‘भगाइ भगाइ थकाइ लगाइदिन्छन्।’
आफू राजनीतिमा सीमित अवधिका लागि मात्र गएको पनि उनले स्पष्ट पारे। ‘यो मेरो काम होइन भनेर मैले छाडिदिएँ,’ उनले भने, ‘म सीमित समयका लागि मात्र गएको थिएँ र यसमा मेरो खासै बुझाइ पनि छैन।’
उनले राजनीतिलाई एक मर्यादित कामको रूपमा चित्रण गर्दै यसका लागि पूर्ण रूपमा समर्पित हुनुपर्ने र पूरा समय दिनुपर्ने धारणा राखे। त्यसो गर्न सके मात्र राजनीतिमा टिक्न सकिने उनको बुझाइ छ।
सन् २०१९ मा राजनीतिबाट अलग भएका परेश रावल हाल पूर्ण रूपमा बलिउडमै व्यस्त छन् र आफ्नो सम्पूर्ण समय अभिनयलाई नै दिइरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शान्तिश्री परियारको तीज गीत ‘केटी पार्टी’
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण