भ्रष्टाचार मुद्दामा सुनील पौडेललाई ८ वर्ष कैद, डेढ करोडभन्दा बढी जरिवाना
सारांश
- विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक सुनील पौडेल र व्यवसायी दीपक आनन्दलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको छ ।
- पौडेल र आनन्दलाई जनही ८ वर्ष कैद र १ करोड ५४ लाख २५ हजार २०० रुपैयाँ जरिवाना गर्ने फैसला भएको छ ।
- पौडेललाई सार्वजनिक पदमा बहाल रहेकाले थप ६ महिना कैद सजाय समेत सुनाइएको छ, जसले गर्दा उनले कुल ८ वर्ष ६ महिना जेल बस्नुपर्नेछ ।
काठमाडौँ । विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक सुनील पौडेल र व्यवसायी दीपक आनन्दलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको छ ।
अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले बिहीबार सजाय निर्धारण गर्दै दुवै जनालाई जनही ८ वर्ष कैद र १ करोड ५४ लाख २५ हजार २०० रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो ।
सुनील पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक जस्तो सार्वजनिक पदमा बहाल रहेकाले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप ६ महिना कैद सजाय समेत सुनाइएको छ । यससँगै पौडेलले कुल ८ वर्ष ६ महिना जेल बस्नुपर्नेछ । यस्तै, दुवै प्रतिवादीहरूबाट जनही ६ लाख १७ हजार ८ रुपैयाँ असुल गरी ‘अपराध पीडित राहत कोष’ मा जम्मा गर्न समेत अदालतले आदेश दिएको छ ।
पौडेल र आनन्दले तत्कालको विनिमय दर बमोजिम ३ करोड ८ लाख ५० हजार ४०० रुपैयाँ (अमेरिकी डलर २ लाख ८० हजार) रिसवत (घुस) लिन मञ्जुर गरेको प्रमाण भेटिएको छ । मिसिलमा संलग्न संवादका आधारमा उनीहरूले उक्त रकम माग गरेको पुष्टि भएको अदालतको ठहर छ । अदालतले ३ करोड ८ लाख ५० हजार ४०० रुपैयाँलाई दामासाहीले भाग लगाउँदा हुने जनही १ करोड ५४ लाख २५ हजार २०० रुपैयाँ जरिवाना तोकेको हो ।
विदेशी कम्पनीसँग सफ्टवेयर वा उपकरण खरिद गर्ने प्रक्रियामा कमिसन र घुस लेनदेनको विषयमा भएको कुराकानीलाई आधार मानेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरू विरुद्ध मुद्दा दायर गरेको थियो । यद्यपि उक्त घुस रकम बरामद नभएको र कुन बैंकमा जम्मा भएको भन्ने नखुले पनि संवादकै आधारमा उनीहरूलाई दोषी ठहर गरिएको फैसलामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
-
विष्णु पौडेलसहित केही व्यक्ति र कम्पनीविरुद्ध अदालतमा अभियोगपत्र दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण