बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने

बिहीबार, ३२ असार २०८३, २० : २२
बिहीबार, ३२ असार २०८३

सारांश

  • नेपाल भलिबल लिग (एनभीएल) को प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनले गर्ने भएको छ।
  • आयोजक केडिया ग्रुप र कान्तिपुर मिडिया ग्रुपबीच सम्झौता सम्पन्न भएको छ।
  • यस साझेदारीले नेपाली भलिबलको विकास र विस्तारमा सहयोग पुग्ने आयोजकको विश्वास छ।

काठमाडौँ । केडिया ग्रुपको आयोजनामा नेपालमै पहिलोपटक हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभीएल) को आधिकारिक ब्रोडकास्टिङ पार्टनरका रूपमा कान्तिपुर टेलिभिजन अनुबन्धित भएको छ। 

नेपाल भलिबल लिगका प्रबन्ध निर्देशक अश्विन केडिया र कान्तिपुर मिडिया ग्रुपका बिजनेस हेड सागर केसीले बिहीबार सम्झौता पत्रमा हस्ताक्षर गरे। सो अवसरमा कान्तिपुर टेलिभिजनका मार्केटिङ म्यानेजर अनुपम अधिकारी, नेपाल भलिबल लिगका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष उपाध्याय र एनभीएलका सीओओ विकास खेतानको पनि उपस्थिति थियो।

सम्झौतासँगै अब नेपाल भलिबल लिगको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनले गर्नेछ। कान्तिपुर टेलिभिजनले यसअघि टेनिसको प्रतिष्ठित ग्रान्डस्लाम विम्बल्डन र टी–२० विश्वकप क्रिकेट लगायतका प्रतिष्ठित प्रतियोगिताको प्रत्यक्ष प्रसारण गरिसकेको छ।

नेपाल भलिबल लिगको चरणबद्ध तयारीलाई अगाडि बढाउने क्रममा खेलस्थलमै आएर खेल हेर्न असमर्थ दर्शकलाई मध्यनजर गरी कान्तिपुर टेलिभिजनसँग साझेदारी गरिएको आयोजकले जनाएको छ। नेपाल भलिबल लिगको रोमाञ्चक प्रतिस्पर्धाको साक्षी बन्नबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने मुख्य उद्देश्य रहेको बुझिएको छ। यो सम्झौताले नेपाली भलिबलको विकास र विस्तारमा सहयोग पुग्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत भलिबलको पहिचानलाई अझ फैलाउन मद्दत पुग्ने विश्वास आयोजकले लिएको छ।

यसअघि एनभीएलको पहिलो संस्करणमा सहभागी हुने ६ फ्रेन्चाइज टोली, टिम मालिक, टिम लोगो, नारा, फ्रेन्चाइज टोलीका मुख्य प्रशिक्षक र सहायक प्रशिक्षक सार्वजनिक भइसकेका छन्। त्यस्तै टिकेटिङ पार्टनरका रूपमा आईएमई खल्ती लिमिटेडसँग सम्झौता गरिएको थियो। प्रतियोगितामा सगरमाथा स्म्यासर्स, मधेश वारियर्स, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली शिवराज र खप्तड फाल्कन्स गरी ६ वटा टोलीहरूले सहभागिता जनाउँदै छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप