बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अदालत

चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला

बिहीबार, ३२ असार २०८३, २१ : ४४
बिहीबार, ३२ असार २०८३

सारांश

  • चालु आर्थिक वर्ष २०८२/०८३ मा उच्च अदालत तथा इजलासहरूमा कार्यरत १० न्यायाधीशले सर्वाधिक मुद्दा फैसला गरेको भन्दै सर्वोच्च अदालतले बिहीबार विवरण सार्वजनिक गरेको छ ।
  • सर्वोच्चले सार्वजनिक गरेको प्रारम्भिक कार्यसम्पादन प्रतिवेदनअनुसार उच्च अदालत जनकपुर र विशेष अदालतमा समेत कार्यरत न्यायाधीश टेकनारायण कुँवरले १ हजार ४२१ थान मुद्दा फैसला गरी पहिलो स्थानमा रहेका छन् ।
  • अदालतमा मुद्दाको चाप बढिरहेको समयमा यी न्यायाधीशहरूले देखाएको कार्यसम्पादनले न्यायपालिकाको छवि उच्च बनाउन मद्दत पुगेको सर्वोच्च अदालतको निष्कर्ष छ ।

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/०८३ मा उच्च अदालत तथा इजलासहरूमा कार्यरत १० न्यायाधीशले सर्वाधिक मुद्दा फैसला गरेको भन्दै सर्वोच्च अदालतले बिहीबार विवरण सार्वजनिक गरेको छ । 

सर्वोच्चले सार्वजनिक गरेको प्रारम्भिक कार्यसम्पादन प्रतिवेदनअनुसार उच्च अदालत जनकपुर र विशेष अदालतमा समेत कार्यरत न्यायाधीश टेकनारायण कुँवर पहिलो स्थानमा  रहेका छन् 

उनले यस अवधिमा कुल १ हजार ४२१ थान मुद्दा फैसला गरेका छन् । त्यसैगरी, दोस्रो रहेका न्यायाधीश टीकाराम आचार्यले उच्च अदालत जनकपुर र उच्च अदालत पाटनमा रहँदा १ हजार २२१ मुद्दा फर्स्यौट गरेका छन् । 

तेस्रो स्थानमा अस्थायी इजलास वीरगन्ज र बुटवल इजलासमा कार्यरत न्यायाधीश जगतबहादुर थापा  रहेका छन् । उनले १ हजार १६९ मुद्दा फैसला गरेका छन् ।  चौथो स्थानमा रहेका उच्च अदालत पाटन र तुलसीपुर इजलासका न्यायाधीश सोमकान्त मैनालीले १ हजार ५९ मुद्दा फर्स्यौट गरेका छन् भने पाँचौँ स्थानमा रहेका उच्च अदालत जनकपुर र राजविराज इजलासका न्यायाधीश नरिश्वर भण्डारीले १ हजार २० मुद्दाको फैसला टुङ्ग्याएका छन् । 

त्यसैगरी, १ हजारभन्दा बढी मुद्दा फैसला गर्ने न्यायाधीशको सूचीमा उच्च अदालत जनकपुरका जगदीश घिमिरे पनि रहेका छन् । उनले १ हजार २ मुद्दा फैसला गरेका छन् । 

यस्तै, सर्वाधिक मुद्दा फर्स्यौट गर्ने अन्य न्यायाधीशहरूमा क्रमशः गोकर्ण डाँगी, कृष्णप्रसाद सुवेदी, राजुराम सिलवाल र कैलाशप्रसाद सुवेदी रहेका छन् । यसैगरी सबैभन्दा धेरै मुद्दा फैसला गर्ने जिल्ला अदालतका १२ न्यायाधीशको सूची पनि सर्वोच्चले सार्वजनिक गरेको छ । 

अदालतमा मुद्दाको चाप बढिरहेको समयमा यी न्यायाधीशहरूले देखाएको कार्यसम्पादनले न्यायपालिकाको छवि उच्च बनाउन मद्दत पुगेको सर्वोच्च अदालतको निष्कर्ष छ । 

सर्वोच्चका अनुसार चालू आर्थिक वर्षमा सबै तहका अदालतमा गरेर कुल ५५.०३ प्रतिशत प्रगति हासिल गरेको छ । यस अवधिमा जिम्मेवारी सरेर आएका र नयाँ दर्ता भएका गरी कुल ३ लाख ५७ हजार २३ मुद्दामध्ये १ लाख ९६ हजार ४७४ थान मुद्दा फर्स्यौट भएका हुन् । 

उच्च अदालतमा रहेका कुल ६० हजार ५६४ मुद्दामध्ये ४२ हजार ६१४ थान मुद्दा फर्स्यौट भएका छन्, जुन ७०.३६ प्रतिशत हुन आउँछ । त्यसैगरी, देशभरका जिल्ला अदालतहरूले ५५.६१ प्रतिशत सफलता प्राप्त गरेका छन् ।

जिल्ला अदालतमा रहेका कुल २ लाख ५१ हजार ७३४ मुद्दामध्ये १ लाख ३९ हजार ९७९ थान मुद्दा फर्स्यौट भएका छन् । सर्वोच्च अदालतमा भने कुल ३८ हजार ९३६ मुद्दामध्ये ११ हजार ४६९ थान मुद्दा फर्स्यौट भएका छन् ।

743588540_1949752585728008_5374906136080247322_n

743452943_1005863938925927_45473116210321236_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप