शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने

शनिबार, ०२ साउन २०८३, १२ : ४२
शनिबार, ०२ साउन २०८३

काठमाडाैँ । हङकङको राष्ट्रिय सुरक्षा कानुनका कारण उत्पन्न सुरक्षा खतरालाई आधार बनाउँदै घोषणा गरिएको सङ्कटकाल अब निरन्तरता नदिने निर्णय गरेको अमेरिकी अधिकारीहरूले शुक्रबार पुष्टि गरेका छन् ।

तर, जुलाई २०२० मा सङ्कटकाल घोषणासँगै खारेज गरिएको हङकङको विशेष व्यापारिक हैसियत पुनःस्थापना गरिने वा नगरिने भन्ने विषयमा भने अमेरिकाले स्पष्ट जानकारी दिएको छैन ।

चीनको वाणिज्य मन्त्रालयले अमेरिकी निर्णयको स्वागत गर्दै यो कदम दुई देशबिचको आर्थिक तथा व्यापारिक संवादका क्रममा भएको सहमति कार्यान्वयनतर्फको महत्वपूर्ण कदम भएको जनाएको छ ।

सन् २०२० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा बेइजिङले हङकङमाथि गरेको कडा नियन्त्रणको विरोध गर्दै हङकङलाई दिइँदै आएको विशेष व्यापारिक सुविधा हटाएका थिए । त्यससँगै उनले राष्ट्रिय सङ्कटकाल घोषणा गर्दै चीनका गतिविधिले अमेरिकी राष्ट्रिय सुरक्षामा ‘असामान्य र असाधारण खतरा’ निम्त्याएको बताएका थिए ।

ह्वाइट हाउसले त्यसयता उक्त सङ्कटकालीन आदेश हरेक वर्ष नवीकरण गर्दै आएको थियो । चीनको वाणिज्य मन्त्रालयका अनुसार अमेरिकाले हालै उक्त आदेश समाप्त गर्ने निर्णयबारे बेइजिङलाई जानकारी गराएको थियो ।

यद्यपि, अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले सङ्कटकाल अन्त्य भए पनि यसअघि जारी गरिएको कार्यकारी आदेशका अन्य प्रावधान भने कायमै रहने बताएका छन् । उनले अमेरिकी कानुनअनुसार हङकङलाई चीनभन्दा फरक व्यवहार गर्ने आधार अब पर्याप्त नरहेको दाबी गरे ।

अमेरिकी अर्थ मन्त्रालयका अनुसार सङ्कटकालअन्तर्गत प्रतिबन्धमा परेका ४८ जनामध्ये ३९ जना अझै अर्को कानुनअन्तर्गत प्रतिबन्धको सूचीमा छन् । मन्त्रालयले प्रतिबन्धसम्बन्धी व्यवस्थालाई अद्यावधिक गर्ने प्रक्रियाअन्तर्गत सङ्कटकाल नवीकरण नगर्ने निर्णय गरिएको जनाएको छ ।

सन् १९९७ मा बेलायतले हङकङ चीनलाई हस्तान्तरण गरेपछि उक्त क्षेत्रले विशेष स्वायत्तता र छुट्टै आर्थिक हैसियत पाउँदै आएको थियो । तर, सन् २०२० मा चीनले राष्ट्रिय सुरक्षा कानुन लागू गरेपछि हङकङको स्वायत्तता र नागरिक स्वतन्त्रताको अवस्थालाई लिएर अन्तरराष्ट्रिय आलोचना हुँदै आएको छ ।

हङकङ सरकारले अमेरिकी नीतिमा आएको परिवर्तनलाई ध्यानमा राखेको र दुवै पक्षबीच सामान्य आर्थिक तथा व्यापारिक सम्बन्ध पुनःस्थापित हुने अपेक्षा गरेको जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप