शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सीआईबीले मनायो १६ औँ स्थापना दिवस

शनिबार, ०२ साउन २०८३, १३ : ५२
शनिबार, ०२ साउन २०८३

सारांश

  • नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आफ्नो १६औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ।
  • कार्यक्रममा पूर्व ब्यूरो प्रमुखहरूसँग अन्तरसंवाद र सङ्गठन प्रमुख प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरको आतिथ्यतामा औपचारिक कार्यक्रम सम्पन्न भयो।
  • अपराध अनुसन्धान र नियन्त्रणमा योगदान पुर्‍याउने विभिन्न सरकारी निकाय, सरोकारवाला र पूर्व अधिकृतहरूलाई कदरपत्रद्वारा सम्मान गरियो।

काठमाडौँ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को १६ औँ स्थापना दिवस तथा वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको द ब्लु प्याभिलियनमा आयोजित कार्यक्रममा संस्थागत अपनत्वको जीवन्तता, विगतको स्मरण, वर्तमानको समीक्षा तथा भविष्यको रणनीतिक मार्गचित्र सहितको उद्देश्यका साथ वार्षिकोत्सव मनाइएको हो।

ब्यूरोको बृहत्तर हित तथा समुन्नत भविष्यका लागि पहिलो चरणमा पूर्व ब्यूरो प्रमुखहरूसँग अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको थियो। यसैगरी दोस्रो चरणमा सङ्गठन प्रमुख प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम गरिएको हो। 

उक्त कार्यक्रममा गृह मन्त्रालय, कानुन मन्त्रालय, सञ्चार मन्त्रालय, सर्वोच्च अदालत, फैसला कार्यान्वयन निर्देशनालय, उच्च, विशेष एवं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। त्यसैगरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, कसुरजन्य सम्पत्ति व्यवस्थापन विभाग, राष्ट्रिय सहकारी नियमन प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल राष्ट्र बैंक, वित्तीय जानकारी इकाइ, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लगायतका प्रमुख तथा प्रतिनिधिहरू र नेपाल पत्रकार महासङ्घका अध्यक्षको समेत कार्यक्रममा उपस्थिति थियो।

वार्षिकोत्सवको अवसरमा ब्यूरोका दुई जना पूर्व प्रमुखहरू, केन्द्रीय अनुसन्धान ब्यूरोसँग समन्वय र सहकार्य गर्दै अपराध अनुसन्धान तथा नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विभिन्न सरकारी निकाय, कार्य साझेदार संस्था तथा सरोकारवालाहरूलाई कदरपत्रद्वारा सम्मान गरिएको छ ।

साथै केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत रही हाल अवकाश प्राप्त गरेका दुई जना अनुसन्धान अधिकृतहरूलाई पनि कदरपत्रद्वारा सम्मान गरिएको ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रचलित कानुन बमोजिम प्रहरीले अनुसन्धान तहकिकात गर्ने अपराधको गम्भीरता, अपराधको प्रकृति, अपराधमा संलग्न गिरोह वा त्यसले समाजको शान्ति सुरक्षामा पार्ने असरको आधारमा विशिष्टीकृत अनुसन्धान तहकिकात गर्न सीआईबीको स्थापना गरिएको हो ।

अन्य कुनै प्रहरी कार्यालयबाट भइरहेको वा हुने अनुसन्धान तहकिकातको कार्यमा सहयोग गर्ने अभिप्रायले मिति २०६७ साल साउन १ गतेबाट केन्द्रीय अनुसन्धान ब्यूरोको कार्य सञ्चालन सुरु भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप