समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
सारांश
- लोसपा र जसपा नेपालबीच एकता भएको ६ महिना बितिसक्दा पनि पार्टी समायोजन हुन नसक्दा दुवै दलले छुट्टाछुट्टै बैठक बोलाएका छन् ।
- पार्टी समायोजनका लागि दुवै दलका नेताहरूबीच पर्याप्त संवाद नहुँदा प्रक्रिया प्रभावित भएको छ ।
- ६०–४० को अनुपातमा पार्टी समायोजन गर्ने सहमति भए पनि लोसपाका धेरै नेताहरू एकीकृत केन्द्रीय समितिमा समायोजन नहुने देखिएको छ ।
काठमाडौँ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबिच एकता भएको ६ महिनाभन्दा बढी भइसके पनि हालसम्म पार्टी समायोजन हुन सकेको छैन ।
समायोजनका लागि दुवै पार्टीले गृहकार्य गरे पनि त्यो सफल हुन सकिरहेको छैन । एकता तथा समायोजनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्न दुवै दलले छुट्टाछुट्टै बैठक बोलाएका छन् । २०८२ पुसमा दुई पार्टीबिच एकता भई जसपा नेपाल बनेको हो ।
सो पार्टीको अध्यक्षमा उपेन्द्र यादव र संरक्षकमा महन्थ ठाकुर छन् । अन्य कुनै पनि पदाधिकारीको हालसम्म टुङ्गो लाग्न सकेको छैन । पार्टी दर्ताका लागि ५२ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिएको भए पनि त्यसको नियमित बैठक बस्ने गरेको छैन ।
जसपा नेपालका एक नेताले भने, ‘यी दुई पार्टीबिच एकता भएको कुनै महसुस नै हुँदैन । जसपाका नेताहरू जसपा नेपालको कार्यालयमा भेटिन्छन् भने लोसपाका नेताहरू जहाँ महन्थ ठाकुर हुन्छन्, त्यहीँ हुन्छन् ।’ बालकुमारीस्थित जसपा नेपालको कार्यालयमा संरक्षक महन्थ ठाकुरका लागि कार्यकक्ष बनाइएको छ, तर उनले आफ्नो कार्यकक्षमा एक दिन पनि पाइला टेकेका छैनन् ।
उनको कार्यकक्षमा धुलो जमिसकेको छ। संरक्षक ठाकुर प्रायः आफ्नो निवासमा वा सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भेटिन्छन् । औपचारिक भेटघाट गर्नुपरेमा उनले सिंहदरबारकै संसदीय दलको कार्यालय प्रयोग गर्छन् भने लोसपा निकट नेताहरू पनि प्रायः त्यतै भेटिन्छन् ।
बबरमहलस्थित मधेसी निजामती कर्मचारी मञ्चको भवनमा साबिक लोसपा नेपालको कार्यालय रहेको थियो । सरकारले अहिले त्यसमा ताला लगाइदिएको छ । लोसपा नेपालका सामानहरू अहिले पनि सोही भवनमा छन् । ट्रेड युनियन खारेज गर्ने निर्णयसँगै सरकारले उपलब्ध गराएको जग्गामा रहेका ती युनियनका कार्यालयहरू खाली गराइएका हुन् ।
महन्थ ठाकुर सिंहदरबारको संसदीय दलको कार्यालय वा आफ्नै निवासमा रहने गरेका कारण जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग उनको पर्याप्त संवाद हुन पाएको छैन । कुराकानीका लागि कि त उपेन्द्र यादवले फोन गर्नुपर्छ, कि त महन्थ ठाकुरकै निवासमा पुग्नुपर्छ, जुन सधैँ र जुनसुकै बेला सम्भव हुँदैन। यसले गर्दा दुवै नेताबिच संवादहीनताको अवस्था सिर्जना भएको जसपा नेपालका एक नेताले बताए ।
यही संवादहीनताका कारण पार्टी समायोजनको काम अगाडि बढ्न सकेको छैन । संरक्षक ठाकुर र अध्यक्ष यादवबिच नियमित भेटघाट तथा छलफल नहुँदा समायोजन प्रक्रिया प्रभावित भएको हो । यता, लोसपा नेपालका धेरैजसो नेताहरू नयाँ सङ्गठन बनाउनतिर लागेको गुनासो पनि जसपा नेपालको पार्टी कार्यालय वृत्तमा सुनिन्छ ।
जसपा नेपालमा समायोजन हुँदा धेरैले उचित स्थान नपाउने भएपछि उनीहरू अहिलेदेखि नै पार्टीबाट टाढिन थालेको बताइएको छ ।
जसपा नेपालका नेता शैलेन्द्र साहले भने दुई पार्टीको समायोजनको विषयमा कुनै विवाद नरहेको र यसका लागि पार्टीभित्र आवश्यक गृहकार्य भइरहेको बताए । समायोजनका लागि पूर्वपार्टीहरूमा आन्तरिक छलफल हुनु स्वाभाविक भएको भन्दै उनले यसलाई अन्यथा लिन नहुने र समायोजन टुङ्गो लगाउन नेताहरू सक्रियतापूर्वक लागेको उल्लेख गरे ।
पार्टी एकता तथा समायोजनको विषयमा छलफल गर्न जसपा नेपालले एकता हुनुअघि कायम रहेको कार्यकारिणी समितिको बैठक बोलाएको छ । पार्टी एकता तथा समायोजनलाई कसरी र कुन मोडेलमा अगाडि बढाउने भन्नेलगायतका विषयमा छलफल गर्न जसपा नेपालले पुरानो कार्यकारिणी समितिको बैठक बोलाएको हो ।
लोसपा नेपालले पनि आफ्नो पुरानो कार्यकारिणी समितिको बैठक बोलाउने तयारी गरिरहेको छ । जसपा नेपालको बैठकले गर्ने निर्णयका आधारमा लोसपाले पनि बैठक बोलाएर छलफल गर्ने बताइएको छ ।
तत्कालीन लोसपा नेपालका महासचिव एवं जसपा नेपालका नेता विनोद सिंहले दुई पार्टीबिचको समायोजन गृहकार्य द्रुत गतिमा भइरहेको र केही दिनमै यसको टुङ्गो लाग्ने बताए । समायोजनका लागि दुवै पुराना पार्टीका बैठकहरू बस्न लागेको र यो आवश्यक पनि रहेको उल्लेख गर्दै उनले सबैसँग सल्लाह गरेर समायोजनको कार्य अगाडि बढाउँदा राम्रो हुने भएकाले पुरानो पार्टीको बैठक बोलाइएको प्रस्ट पारे ।
साबिक लोसपा नेपालको ६५ सदस्यीय पदाधिकारीसहित ३०७ सदस्यीय केन्द्रीय समिति र जसपा नेपालको १८ सदस्यीय पदाधिकारीसहित २४१ सदस्यीय केन्द्रीय समिति रहेको छ । अर्थात्, दुवै पार्टी मिलाएर हाल ५४८ जना केन्द्रीय समितिमा छन् । त्यसैमध्ये एकीकृत पार्टीको केन्द्रीय समिति बनाइने बताइएको छ ।
स्रोतका अनुसार एकीकृत पार्टीका लागि २५१ सदस्यीय कार्यसमिति प्रस्ताव गरिएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रस्ताव गरेको सो केन्द्रीय समितिमा १९ जना पदाधिकारी रहनेछन् । ६०–४० को अनुपातमा पार्टी समायोजन गर्ने दुई दलबिच आन्तरिक सहमति भएको छ । एकीकृत पार्टीको केन्द्रीय समितिमा ६० प्रतिशत नेता जसपा नेपालबाट र ४० प्रतिशत लोसपाबाट रहने बताइएको छ ।
यस हिसाबले लोसपाका थुप्रै नेताहरू एकीकृत केन्द्रीय समितिमा समायोजन नहुने देखिएको छ । २५१ सदस्यीय केन्द्रीय समितिमा लोसपाबाट लगभग १०० जना राख्ने सम्भावना छ भने मोटामोटी दुई सय जना जसपा नेपालबाट रहने बताइएको छ । संरक्षक महन्थ ठाकुरलाई सबैभन्दा बढी सकस पदाधिकारी समायोजनमा हुने देखिएको छ । तत्कालीन लोसपा नेपालमा ६५ जना पदाधिकारी रहेकाले उनीहरूलाई नयाँ संरचनामा कसरी समायोजन गर्ने भन्ने चिन्ता संरक्षक ठाकुरलाई छ । त्यसैले उनी पुरानो लोसपाको बैठक बोलाएर यसबारे छलफल गर्न खोजिरहेका छन् ।
साविक जसपा नेपालमा १८ जना मात्र पदाधिकारी रहेकाले एकीकृत पार्टीमा पदाधिकारी चयन गर्न अध्यक्ष यादवलाई भने त्यति समस्या नहुने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक: रातो रङ इङ्कित २३ जिल्लामा रात्रिकालीन सवारीमा रोक
-
झापामा विपद्का घटनाः २२ करोडभन्दा बढीको क्षति
-
साउनभित्रै सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र प्रविधिको कस्तो छ प्रबन्ध ?
-
पोखरामा शृङ्खलाबद्ध चोरीः नेपालीसहित भारतीय र चिनियाँ नागरिकको गिरोह पक्राउ
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण