साउदी अरेबियासँग अर्जेन्टिनाले हारेको खेलकै रेफ्रीले खेलाउँदैछन् फाइनल
सारांश
- स्पेन र अर्जेन्टिनाबिचको फिफा विश्वकप २०२६ को फाइनल खेल स्लोभेनियाका स्लाभ्को भिन्चिचले खेलाउने भएका छन्।
- भिन्चिचले कतारमा भएको २०२२ विश्वकपमा अर्जेन्टिना र साउदी अरेबियाबिचको खेलको पनि रेफ्रीको भूमिका निभाएका थिए।
- भिन्चिचको रेफ्रिङ शैली खेललाई स्वाभाविक रूपमा बग्न दिने र आवश्यक परेमा कडाइका साथ हस्तक्षेप गर्ने रहेको छ।
स्पेन र अर्जेन्टिनाबिच सोमबार हुने फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनल खेलको मुख्य रेफ्रीका रूपमा स्लोभेनियाका स्लाभ्को भिन्चिच नियुक्त भएका छन् । विश्व फुटबलकै सबैभन्दा ठुलो मञ्चमा हुने यस खेललाई पहिलो पटक स्लोभेनियाली रेफ्री टोलीले नेतृत्व गर्ने भएकाले यो नियुक्तिले ऐतिहासिक महत्त्व पनि बोकेको छ ।
भिन्चिचलाई सहायक रेफ्रीका रूपमा उनलाई टोमाज क्लान्चनिक र आन्द्राज कोभाचिचले साथ दिनेछन् । त्यसैगरी फोर्थ अफिसियलको जिम्मेवारी जोर्डनका अदहम मखादमेहले सम्हाल्नेछन् भने रिजर्भ सहायक रेफ्रीका रूपमा मोहम्मद अल्कालाफ रहनेछन् ।
भिडियो सहायक रेफ्री (भीएआर)को नेतृत्व जर्मनीका बास्टियन डान्कर्टले गर्नेछन् । उनलाई कोलम्बियाका निकोलास गालो र कतारका खामिस अल मारीले सहयोग गर्नेछन् । सन् २०१० देखि फिफा ब्याजधारी रहेका ४६ वर्षीय भिन्चिच अन्तर्राष्ट्रिय फुटबलका अनुभवी रेफ्रीमध्ये एक मानिन्छन् । उनले २०२२ युरोपा लिग फाइनल, २०२४ यूईएफए च्याम्पियन्स लिग फाइनल तथा युरो २०२४ को सेमिफाइनलजस्ता उच्चस्तरीय खेलहरू सञ्चालन गरिसकेका छन् ।
कतार विश्वकपमा पनि निभाएका थिए अर्जेन्टिनाको खेलमा रेफ्रीको भूमिका
विश्वकपमा पनि उनको अनुभव उल्लेखनीय छ । कतारमा भएको २०२२ विश्वकपमा अर्जेन्टिना र साउदी अरेबियाबिचको चर्चित खेल उनले नै सञ्चालन गरेका थिए । उक्त खेलमा उनले आठौं मिनेटमा भीएआरको सिफारिसपछि अर्जेन्टिनालाई पेनाल्टी दिएका थिए, जसलाई लियोनेल मेस्सीले गोलमा परिणत गरेका थिए ।
त्यसपछि भने मेस्सीको एक तथा लाउटारो मार्टिनेजका दुई गोल अफसाइडका कारण रद्द भएका थिए । पहिलो हाफमा १–० ले अघि रहेको अर्जेन्टिना दोस्रो हाफमा दुई गोल खाँदै २–१ ले पराजित भएको थियो, जुन विश्वकप इतिहासकै सबैभन्दा ठुलो अप्रत्याशित नतिजामध्ये एक मानिन्छ । त्यस खेलमा भिन्चिचले साउदी अरेबियाका खेलाडीलाई ६ वटा पहेँलो कार्ड देखाएका थिए भने अर्जेन्टिनाका कुनै पनि खेलाडीलाई कार्ड दिएका थिएनन् ।
भिन्चिचले २०२६ विश्वकपमा ब्राजिल–मोरक्को, जोर्डन–अल्जेरिया तथा मेक्सिको–इक्वेडर गरी तीन खेल सञ्चालन गरेका छन् । ती खेलमा उनले कुल सात पहेँलो कार्ड र एक रातो कार्ड देखाएका छन् भने कुनै पनि पेनाल्टी दिएका छैनन् ।
उनको रेफ्रिङ शैलीलाई सामान्यतया ‘खेललाई स्वाभाविक रूपमा बग्न दिने, तर आवश्यक पर्दा कडाइका साथ हस्तक्षेप गर्ने’ शैलीका रूपमा चिनिन्छ । २०२६ विश्वकपमा उनले कार्ड प्रयोगमा संयम देखाएका थिए । तर मेक्सिको–इक्वेडर खेलमा इक्वेडरका डिफेन्डर पिएरो हिन्कापिएलाई नयाँ नियमअनुसार मुख छोपेर रेफ्रीसँग विरोध गरेको भन्दै रातो कार्ड देखाउने निर्णय प्रतियोगिताकै चर्चित निर्णयमध्ये एक बनेको थियो । आजको फाइनलमा विश्वका दुई उत्कृष्ट टोली स्पेन र अर्जेन्टिना आमनेसामने हुँदै गर्दा अनुभवी भिन्चिचमाथि खेललाई निष्पक्ष, अनुशासित र विवादरहित रूपमा सम्पन्न गराउने ठूलो जिम्मेवारी रहनेछ ।
विश्वकप २०२६ फाइनलका रेफ्रीहरू
मुख्य रेफ्रीः स्लाभ्को भिन्चिच (स्लोभेनिया)
सहायक रेफ्रीहरूः टमाज क्लान्चनिक (स्लोभेनिया), आन्द्राज कोभाचिच (स्लोभेनिया)
फोर्थ अफिसियलः अदहम मखादमेह (जोर्डन)
रिजर्भ सहायक रेफ्रीः मोहम्मद अल्कालाफ
भिएआर प्रमुखः बास्टियन डान्कर्ट (जर्मनी)
सहायक भिएआरः निकोलास गालो (कोलम्बिया), खामिस अल मारी (कतार)
समग्रमा भिन्चिचको अनुभव
फिफा ब्याजः २०१० देखि
ठुला प्रतियोगिताः २०२२ युरोपा लिग फाइनल, २०२४ च्याम्पियन्स लिग फाइनल, युरो २०२४ सेमिफाइनल
विश्वकप अनुभवः २०२२ मा अर्जेन्टिनाको साउदी अरबसँगको ऐतिहासिक हार ब्यहोरेको खेलमा रेफ्रीको भूमिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण