सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
काठमाडौं। विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) भित्र सञ्चालनमा रहेका उद्योगहरूको वर्षौंदेखिको बक्यौता भाडा असुली प्रक्रिया तीव्र पारिएको छ।
सेज प्राधिकरणले बक्यौता रहेका उद्योगहरूलाई एक साताभित्र सम्पूर्ण बक्यौता भाडा बुझाउन अन्तिम सूचना जारी गरेको छ। तोकिएको अवधिभित्र रकम नतिरे सम्बन्धित उद्योगको बिजुली र खानेपानी सेवा बन्द गरिने चेतावनी दिइएको छ।
प्राधिकरणले विभिन्न विशेष आर्थिक क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योगहरूको भाडा, सेवा शुल्क तथा अन्य देय रकमको विवरण सार्वजनिक गर्दै तत्काल बक्यौता असुली प्रक्रिया अघि बढाएको जनाएको छ। पटक–पटक सूचना तथा ताकेता गर्दा पनि धेरै उद्योगले बक्यौता नतिरेपछि कडा कदम चालिएको प्राधिकरणको भनाइ छ।
प्राधिकरणका अनुसार पहिलो सूचीमा रहेका उद्योगहरूको उठ्न बाँकी बक्यौता १ करोड ७७ लाख ६८ हजार ४३८ रुपैयाँ ९० पैसा रहेको छ। दोस्रो सूचीमा रहेका उद्योगहरूको बक्यौता १६ लाख ९४ हजार ७८६ रुपैयाँ १७ पैसा छ। दुवै सूची जोड्दा कुल बक्यौता करिब १ करोड ९४ लाख ६३ हजार रुपैयाँभन्दा बढी पुगेको छ।
त्यसैगरी हालसम्म पहिलो सूचीबाट ६ करोड १४ लाख ५८ हजार २५९ रुपैयाँ १२ पैसा तथा दोस्रो सूचीबाट ९ करोड ९५ लाख ९२ हजार ४९२ रुपैयाँ ४१ पैसा असुल गरिएको प्राधिकरणले जनाएको छ। दुवै सूचीबाट गरी १६ करोड रुपैयाँभन्दा बढी रकम असुल भइसकेको विवरणमा उल्लेख छ।
सेज व्यवस्थापनका अनुसार सम्बन्धित उद्योगहरूलाई पटक–पटक लिखित तथा मौखिक रूपमा बक्यौता तिर्न आग्रह गरिए पनि अपेक्षित रूपमा रकम संकलन हुन नसकेपछि कानुनी प्रक्रिया अघि बढाइएको हो। अन्तिम सूचना जारी भइसकेकाले सात दिनभित्र बक्यौता नतिर्ने उद्योगमाथि बिजुली तथा खानेपानी सेवा बन्द गर्ने, सम्झौताअनुसार थप कारबाही अघि बढाउने र आवश्यक परे कानुनी प्रक्रिया समेत अपनाइने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले नियमित अनुगमनलाई थप प्रभावकारी बनाउने, नयाँ बक्यौता सिर्जना हुन नदिने तथा पुराना सबै बक्यौता असुलीलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ। साथै, तोकिएको समयभित्र बक्यौता चुक्ता गर्न सम्बन्धित उद्योगहरूलाई आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण