बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
प्रदेश सरकार

प्रदेशमा प्रमुख ३ दल मिलेर सरकार बनाउन नहुने कांग्रेसको बटमलाइन

मङ्गलबार, ०५ साउन २०८३, १५ : ००
मङ्गलबार, ०५ साउन २०८३

सारांश

  • नेपाली कांग्रेसका सभापति गगन थापाले मुख्य ३ दल मिलेर प्रदेश सरकार बनाउन नहुने पार्टीको स्पष्ट अडान रहेको बताएका छन् ।
  • थापाका अनुसार मुख्य ३ दल मिलेर सरकार बनाउँदा प्रदेश सभा प्रतिपक्षविहीन हुने र त्यो जनताको म्यान्डेटविपरीत हुनेछ ।
  • कांग्रेसले यस विषयमा आधिकारिक निर्णय नगरे पनि सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माले प्रतिपक्षविहीन संसद् बनाउने अभ्यास लोकतान्त्रिक मूल्यमान्यता अनुकूल नहुने बताएका छन् ।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । प्रदेशहरूमा सरकार फेर्ने प्रयास तीव्र भइरहेका बेलामा नेपाली कांग्रेसका सभापति गगन थापाले मुख्य ३ दल कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी मिलेर प्रदेश सरकार बनाउन नहुने पार्टीको स्पष्ट अडान रहेको बताएका छन् ।

गत आइतबार ललितपुरमा सन्त नेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण तथा ४४औँ बीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा सभापति थापाले मुख्य ३ दल मिलेर सरकार बनाउँदा प्रदेश सभा प्रतिपक्षविहीन हुने र त्यो जनताको म्यान्डेटविपरीत हुने बताए ।

प्रदेशसभा प्रतिपक्षीविहीन हुने प्रस्ताव कांग्रेसले ठाडै अस्वीकार गर्ने सभापति थापाको भनाइ थियो । संसद् प्रतिपक्षीविहीन हुँदा लोकतान्त्रिक मूल्यमान्यतालाई कमजोर बनाउने थापाको तर्क छ ।

कांग्रेसले यस विषयमा आधिकारिक निर्णय त गरेको छैन, तर सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माले यस्तै अभिव्यक्ति सार्वजनिक रूपमा दिएका छन् ।

शर्माले सोमबार पार्टी कार्यालय सानेपामा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रदेश सरकार हेरफेरका सवालमा कांग्रेसको बटम लाइन प्रतिपक्षविहीन नभएको बताए । ‘प्रदेश सरकार बन्दै र हेरफेर हुँदैगर्दा हामी प्रतिपक्षीविहीन परिकल्पना नगरी टुङ्गोमा पुग्न चाहन्छौँ’, शर्माले भने, ‘त्यसका लागि आवश्यक परे कांग्रेस प्रतिपक्षमा बस्न पनि तयार हुन्छ, तर नागरिकको मनोविज्ञान विपरीत सबै दल सरकारमा बस्नुपर्छ भन्दैन ।’

सभापति थापा र उपसभापति शर्माको एउटै भनाइ आएपछि कांग्रेसको बटमलाइन त्यही नै हो भन्ने अनुमान लगाउन गाह्रो छैन । कांग्रेसका शीर्ष नेताहरूको यो भनाइले अब प्रदेश सरकारमा कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टी (तीन दल) मिलेर सरकार बनाउने सम्भावना देखिन्न ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचन अगाडि निर्वाचन प्रचार प्रसारका क्रममा सभापति थापाले कांग्रेसले अब गठबन्धन नगर्ने भन्दै चुनावी भाषण गर्दै हिँडेका थिए । त्यही भाषणका कारण अहिले कांग्रेसलाई अहिले गठबन्धन गर्न अप्ठ्यारो परेको भन्नेहरू पनि भेटिन्छन् ।

तर, कांग्रेस महामन्त्री प्रदीप पौडेलले सभापति थापाको त्यो बेलाको भाषण कांग्रेसले निर्वाचनमा गठबन्धन गर्दैन भन्ने अर्थमा रहेको बताउँछन् । ‘सभापतिज्यूको त्यो बेलाको भाषण निर्वाचनमा कांग्रेसले गठबन्धन गर्दैन भन्ने हो । हामीले त्यही भनाइ अनुरूप गठबन्धन गरेनौँ,’ महामन्त्री पौडेलले रातोपाटीसँग भने, ‘अहिले हाम्रो भनाइ प्रदेशलाई प्रतिपक्षीविहीन बनाउन हुँदैन भन्ने हो । दुई दलबिच सहमति गरेर सरकार सञ्चालन गर्ने र प्रदेश सभा होस् या केन्द्रमा लोकतान्त्रिक व्यवस्थामा प्रतिपक्षी हुनुपर्छ भन्ने कांग्रेसको मान्यता हो ।’

कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका बेलामा नै चुनाव अगाडि कुनै पनि दलसँग गठबन्धन नगर्ने नीतिगत निर्णय लिएको नेताहरू बताउँछन् । निर्वाचनपूर्वको गठबन्धनले पार्टीको मौलिक पहिचान र सांगठनिक सामर्थ्यमा ह्रास ल्याउने सभापति थापाले चुनावी सभाहरूमा बताएका थिए । अहिले प्रदेश सरकार गठनको सन्दर्भमा उनले राखेको धारणा पनि सोही नीतिगत निरन्तरताका रूपमा रहेको थापा निकट एक नेताले बताए ।

सभापति थापा र उपसभापति शर्माले सत्ता साझेदारीका नाममा सबै प्रमुख दल सरकारमा सामेल हुनुभन्दा कांग्रेस स्वेच्छाले प्रतिपक्षमा बसेर सरकारका कामकारबाहीको निगरानी गर्न सक्ने पनि बताइरहेका छन् । प्रदेश सभामा सार्वजनिक सरोकारका विषय उठाउन र सरकारलाई उत्तरदायी बनाउन प्रतिपक्षको उपस्थिति रक्षा गर्ने दायित्व कांग्रेसले बोक्नुपर्ने तर्क कांग्रेस नेताहरूको छ ।

तथापि कांग्रेसले यसबारे संस्थागत निर्णय गरिसकेको छैन । महामन्त्री पौडेलले आवश्यक परेमा बैठक बोलाएर संस्थागत निर्णय गरिने जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप