बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै

बुधबार, ०६ साउन २०८३, १८ : ४०
बुधबार, ०६ साउन २०८३

नेपालगञ्ज । बाँकेको दुर्गम मानिने र स्वास्थ्य सेवाको न्यून पहुँच रहेको नरैनापुर गाउँपालिकामा बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने महिलाको सङ्ख्या बढ्दै गएको छ।

केही समयअघिसम्म घरमै सुत्केरी गराउने महिला अहिले गाउँमै स्थापना गरिएका बर्थिङ सेन्टरमा पुगेर सुत्केरी सेवा लिन थालेको गाउँपालिकाले जनाएको छ। नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले केही वर्षपहिलेसम्म नरैनापुरका अधिकांश महिलाले घरमै सुत्केरी गराउँदै आएकोमा अस्पताल जानुपर्दा सीमापारि भारतका अस्पताल वा नेपालगञ्जस्थित भेरी अस्पताल पुग्नुपर्ने बाध्यताको अन्त्य भएको बताए।

उनले गणतन्त्र स्थापनापछि दुर्गम र पिछडिएको नरैनापुरमा कालोपत्रे सडक र विद्युत्सँगै स्वास्थ्य सेवाको पहुँच पनि बढेर बर्थिङ सेन्टरहरू सञ्चालन गरिएपछि महिला ती सेन्टरमा पुग्न थालेको उल्लेख गरे।

एम्बुलेन्ससमेत नरहेको सो पालिकामा अहिले विभिन्न वडामा स्वास्थ्य केन्द्र तथा बर्थिङ सेन्टर सञ्चालनमा आएका छन्। “कुनै बेला प्रसूति सेवाका लागि करिब ५० किलोमिटर टाढा नेपालगञ्जका अस्पताल पुग्नुपर्ने बाध्यता थियो तर अहिले त वडावडामै सञ्चालन गरिएका बर्थिङ सेन्टरमा सुत्केरी सेवा उपलब्ध छ”, उनले भने।

नरैनापुर गाउँपालिकामा सञ्चालनमा ल्याइएका बर्थिङ सेन्टरमार्फत चालु आर्थिक वर्ष २०८२/०८३ मा एक हजार १५१ जना महिलाले सुरक्षित सुत्केरी सेवा पाएको पालिकाको स्वास्थ्य शाखाले जनाएको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा एक हजार १२३ जना महिलाले सुरक्षित सुत्केरी सेवा लिएकोमा चालु आर्थिक वर्षमा सो सङ्ख्यामा वृद्धि भएको छ।

स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार शाहले घरमै अधिकांश सुत्केरी गराउने र अस्पताल जान नमान्नेहरूले पछिल्लो समय धमाधम बर्थिङ सेन्टरमा पुगेर सेवा लिन थालेको बताए। उनले नरैनापुरको वडा नम्बर १ देखि ६ सम्मका ६ वटा बर्थिङ सेन्टरमा चौबीसै घण्टा सञ्चालन भइरहेको प्रसूति सेवाबाट सो क्षेत्रका महिला लाभान्वित भइरहेको जानकारी दिए।

स्वास्थ्य शाखा प्रमुख शाहका अनुसार प्रशिक्षित जनशक्ति र निःशुल्क एम्बुलेन्स सेवामार्फत सुरक्षित सुत्केरी सेवा दिइँदै आएको छ । उनले तालिमप्राप्त जनशक्तिबाट चौबीसै घण्टा प्रसूति सेवा दिएको उल्लेख गर्दै बर्थिङ सेन्टरसम्म ल्याउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको बताए।

नरैनापुरमा चालु आवमा वडा नम्बर १ मा १८६, वडा नम्बर २ मा १७४, वडा नम्बर ३ मा १०१, वडा नम्बर ४ मा २५४, वडा नम्बर ५ मा २८६ र वडा नम्बर ६ मा १५३ जना महिलाले सेवा लिएको स्वास्थ्य शाखाले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप