कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
काठमाडाैँ । कङ्गोमा फैलिएको इबोला प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या करिब एक हजार पुगेको छ। बुधबार सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्कअनुसार यस प्रकोपमा हालसम्म कम्तीमा ९९९ जनाको मृत्यु भएको छ।
कङ्गोको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्म देशमा दुई हजार ४७३ जना सङ्क्रमित भएका छन् भने ७३७ जना बिरामी आइसोलेसन र अस्पतालमा उपचाररत छन्।
गत मे १५ मा घोषणा गरिएको यो इबोला प्रकोप हालसम्मकै तीव्र गतिमा फैलिएकोमध्ये एक भएको अधिकारीले बताएका छन्। यसपटक फैलिएको ‘बुन्डिबुग्यो’ भाइरस विरुद्ध हालसम्म स्वीकृत खोप वा उपचार विधि उपलब्ध छैन।
स्वास्थ्य अधिकारीका अनुसार यस प्रकोपले विगतका ठूला इबोला प्रकोपको तुलनामा छोटो समयमै ठुलो मानवीय क्षति पुर्याएको छ। सन् २०१३–२०१६ मा पश्चिम अफ्रिकामा फैलिएको इबोला प्रकोपमा ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो, तर मृत्यु सङ्ख्या एक हजार पुग्न करिब आठ महिना लागेको थियो।
इबोला अत्यधिक सङ्क्रामक रोग हो, जुन सङ्क्रमित व्यक्तिको रगत, शारीरिक तरल पदार्थलगायतको सम्पर्कबाट सर्न सक्छ। यो रोग गम्भीर प्रकृतिको हुने र धेरै अवस्थामा ज्यान जोखिममा पार्ने स्वास्थ्य विज्ञले बताएका छन्।
अधिकारीले नयाँ सङ्क्रमितमध्ये करिब ८० प्रतिशतमा सङ्क्रमणको स्रोत अझै पहिचान हुन नसकेको बताएका छन्। यसले सङ्क्रमण नियन्त्रण र निगरानीकार्य थप चुनौतीपूर्ण बनेको उनीहरूको भनाइ छ।
प्रकोपको केन्द्रबिन्दु रहेको इतुरी प्रान्तसहित प्रभावित अन्य क्षेत्रमा स्वास्थ्य टोलीले नियन्त्रण तथा उपचार प्रयास तीव्र बनाएका छन्। तर स्वास्थ्य केन्द्र र प्रतिकार्य टोलीमाथि भएका आक्रमण तथा केही स्वास्थ्यकर्मीको आन्दोलनका कारण अभियान प्रभावित भएको छ।
अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) का महानिर्देशक डा जीन कासेयाले घानामा आयोजित स्वास्थ्य सम्मेलनमा प्रकोप नियन्त्रणका लागि तत्काल थप प्रयास आवश्यक रहेको बताउनुभयो।
'यदि हामीले अहिले नै यसलाई रोक्न सकेनौँ भने यो विश्वले देखेका सबैभन्दा गम्भीर इबोला प्रकोपमध्ये एक बन्न सक्छ,' उनले चेतावनी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण