रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
सारांश
- रियल म्याड्रिडले फ्रान्सका खेलाडी माइकल ओलिसेलाई अनुबन्ध गर्ने तयारी गरेको छ, जसमा किलियन एमबाप्पेले महत्त्वपूर्ण भूमिका खेलेको दाबी गरिएको छ ।
- रियल म्याड्रिडले लगातार दुई सिजन उपाधिविहीन बनेपछि टोलीलाई सुदृढ बनाउन २४ वर्षीय ओलिसेलाई प्राथमिक लक्ष्य बनाएको छ ।
- एमबाप्पेले ओलिसेलाई रियल म्याड्रिडको दीर्घकालीन परियोजनामा विश्वास गर्न आग्रह गर्दै सम्झौतामा महत्वपूर्ण भूमिका खेलेका छन् ।
स्पेन । स्पेनिस क्लब रियल म्याड्रिड पछिल्लो विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका एक विश्वस्तरीय खेलाडीलाई अनुबन्ध गर्ने दिशामा पुगेको बताइएको छ । यस सम्भावित सम्झौतामा फ्रान्सका कप्तान किलियन एमबाप्पेले निर्णायक भूमिका खेलेको दाबी गरिएको छ ।
रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज र क्लबको बोर्ड यस गर्मीयाममा चर्चित तथा प्रभावशाली खेलाडी भित्र्याउने योजनामा छन् । लगातार दुई सिजन प्रमुख उपाधिविहीन बनेपछि क्लबले टोलीलाई नयाँ रूपमा सुदृढ बनाउन चाहेको हो ।
यसै क्रममा २४ वर्षीय माइकल ओलिसे क्लबको प्राथमिक लक्ष्यमध्ये एक बनेका छन् । दायाँ विंगमा खेल्ने ओलिसे पनि रियल म्याड्रिडमा आबद्ध हुन इच्छुक रहेको जनाइएको छ । सन् २०२६ को अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजित फिफा विश्वकपमा ओलिसेले सात असिस्ट गर्दै प्रतियोगिताकै सर्वाधिक असिस्ट गर्ने खेलाडी बनेका थिए । उनले त्यसअघि बायर्न म्युनिखबाट पनि उत्कृष्ट सिजन बिताएका थिए । उनले ५२ खेलमा २२ गोल गर्नुका साथै ३१ असिस्ट दिएका थिए ।
उनको यही प्रदर्शनले सान्टियागो बेर्नाबेउमा प्रशंसा बटुलेको छ । रियल म्याड्रिडले सन् २०२९ जुनसम्म बायर्नसँग सम्झौतामा रहेका लन्डनमा जन्मिएका विंगरलाई अनुबन्ध गर्ने प्रक्रिया तीव्र बनाउने तयारी गरिरहेको छ ।
फ्रेन्च सञ्चारमाध्यम फुट मर्काटोका अनुसार ओलिसे रियल म्याड्रिडमा जान निकै इच्छुक छन् । त्यहाँ उनले विश्वकपमा सँगै खेलेका ओरेलियन चुआमेनी र किलियन एमबाप्पेसँग पुनः सहकार्य गर्ने अवसर पाउनेछन् ।
रिपोर्टअनुसार एमबाप्पेले ओलिसेलाई रियल म्याड्रिडको दीर्घकालीन परियोजनामा विश्वास गर्न आग्रह गर्दै सम्झौतामा महत्वपूर्ण भूमिका खेलेका छन् । जर्मन पत्रिका बिल्डका अनुसार ओलिसेले विश्वकपका क्रममा आफ्ना फ्रान्सेली टोलीका साथीहरूसँग रियल म्याड्रिड जाने इच्छा व्यक्त गरेका थिए । त्यसक्रममा कप्तान एमबाप्पेले दिएको सुझाव र प्रेरणाले उनलाई थप प्रभावित बनाएको थियो ।
पूरै प्रतियोगिताभर एमबाप्पेले आफ्ना निकट मित्र ओलिसेलाई रियल म्याड्रिडमा आबद्ध हुन मनाउने प्रयास गरेका थिए । उनले क्लबले आफूलाई अनुबन्ध गर्न गम्भीर रहेको विश्वास दिलाउनुका साथै म्याड्रिड शहरको जीवनशैली, रेस्टुरेन्ट र मौसमबारे पनि सकारात्मक अनुभव सुनाएका थिए ।
एमबाप्पेको प्रयास सफल भएको संकेत पनि देखिएको छ । उनले रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजलाई समेत ओलिसेबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको जानकारी दिएका थिए ।
रिपोर्टअनुसार ओलिसेलाई बायर्न म्युनिखबाट यूईएफए च्याम्पियन्स लिग जित्न सकिने सम्भावनाप्रति केही शंका छ । उनको विश्वासमा रियल म्याड्रिडको बेर्नाबेउमा उनले आफ्नो प्रतिभालाई अझ प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्नेछन् ।
यद्यपि अन्तिम निर्णयअघि उनले बायर्न म्युनिखको व्यवस्थापनसँग छलफल गर्ने योजना बनाएका छन् । त्यस भेटमा उनले क्लबको दीर्घकालीन योजना, च्याम्पियन्स लिगमा प्रतिस्पर्धात्मक शक्ति कायम राख्ने रणनीति तथा आगामी सिजनका लक्ष्यबारे बुझ्नेछन् । बाभेरियामा उनको भविष्य निर्धारण गर्न उक्त छलफल निर्णायक बन्न सक्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण