यस्तो थियो पुष्पलालले तयार गरेको नेकपाको पहिलो घोषणा पत्र
सारांश
- नेपाल कम्युनिस्ट पार्टीको घोषणापत्रले सामन्ती निरंकुशता, विदेशी प्रभुत्व र शोषणको अन्त्य गरी जनवादी राज्य स्थापनाको आह्वान गरेको छ।
- घोषणापत्रले मजदुर, किसान, विद्यार्थी र महिला लगायत सबै वर्गलाई एकीकृत जनवादी मोर्चामा गोलबद्ध हुन आग्रह गरेको छ।
- यसमा जमिनको वितरण, राष्ट्रियकरण, पूर्ण प्रजातान्त्रिक अधिकार र स्वतन्त्र शिक्षा जस्ता मागहरू समावेश छन्।
नेपाल कम्युनिस्ट पार्टीको (पहिलो घोषणापत्र)
(१५ सेप्टेम्बर १९४९)
पहाड पर्वत खोला नाला जग्गा जमीन सबको
मालिक हामी दास बनौं किन हिस्सा सबका सबको !
विगत चालीस वर्षमा दुई विश्वयुद्धहरू भए । पहिलो विश्वयुद्धको फलस्वरूप विश्वको छ खण्डको एक खण्ड भूभाग पूँजीवादी घेराबाट मुक्त महको महान ऐतिहासिक यथार्थतामा फेरिएको छ । यो महान ऐतिहासिक यथार्थता छ र समाजवादी सोभियत संघको जन्म भएको छ र सबल वैज्ञानिक समाजवाद पूँजीवादी तथा सामन्ती दासत्व बिरुद्ध विद्रोह गर्न सबै मुलुकहरूका शोषित र श्रमजीवी जनतालाई निरन्तर आह्वान हो । अतः बेलायत, फ्रान्स र अमेरिकाका पूँजीवादी शासक वर्गहरूले सोभियत संघको बिरुद्ध हिटलरी फासिष्टवादलाई उठाए र प्रत्यक्षरूपले दोश्रो विश्वयुद्धको लागि बाटो बनाइदिए तर दोश्रो विश्वयुद्धको फलस्वरूप, सोभियत संघ ध्वस्त नभएको मात्र होइन, बरु पूर्वी तथा दक्षिण पूर्वी यूरोपका कैयन मुलुकहरूले आफूलाई पूँजीवादी–साम्राज्यवादी कैदबाट मुक्त पारेर समाजवादी विश्वको सीमानालाई विस्तारित पारे । दोश्रो, विश्वयुद्धको फलस्वरूप, अन्तर्राष्ट्रिय मजदुर आन्दोलनले ठूलो फड्को मारेको छ र औपनिवेशिक जनताहरूले खुल्ला सशस्त्र विद्रोहको बाटो लिएका छन् । विश्व पूँजीवादका मोर्चा र पृष्ठभाग गम्भीर खतरामा परेका छन् ।
दक्षिण पूर्वी एसियामा चलिरहेको क्रान्तिकारी छाल हाम्रो प्यारो मुलुक नेपालमा पनि आईपुगेको छ । एक युग पुरानो सामन्ती अत्याचारलाई हाँक दिँदै नेपालको मजदुर वर्गले पहिलो पल्ट मार्च १९४७ मा संग्राममा प्रवेश गर्यो । विराटनगर जूट तथा कपड़ा मीलहरूका मजदुरहरूले बाँच्न लायक ज्याला र काम गर्ने राम्रो अबस्थाका लागि हडताल गरे । गुप्त रूपमा क. मनमोहन अधिकारीको नेतृत्वमा बनेको मजदूर यूनियनले त्यसको नेतृत्व गर्यो । भारतका विश्वासघाती समाजवादी नेता र निस्कासित राणाहरूद्वारा समर्थित नेपाली राष्ट्रिय काँग्रेसका नेताहरूले हडतालप्रति विश्वासघात गरे । हडतालको छाल राजधानीमा पनि फैलियो । काठमाडौँमा विजुली तथा टक्सार विभागका सरकारी कर्मचारी र बैंक तथा अस्पताल कर्मचारीहरूले त्यस्तै मागहरू राखेर हडताल गरे । हडतालीहरू कति दृढ थिए भने सरकार तलब बढाउन र राशन दिन बाध्य भयो । काठमाडौं उपत्यका भित्र मात्र तलव वृद्धि र अन्न–खरीद सुविधाहरू सीमित भए पनि नेपालका सम्पूर्ण जनताले त्यसलाई आफ्नै विजयको रूपमा लिए र आफ्ना अधिकारहरूको सुरक्षार्थ जन संघर्षको खाँचोलाई बुझे ।
१
१३८५ देखिन् सामन्ती निरंकुशहरूले नेपालमा शासन गर्दैछन् । यी शताब्दीहरूको क्रममा भएका परिवर्तनहरूले राणाहरूको निरंकुशतालाई मात्र बलियो पारेका छन् । नेपालका केही भागमा पूँजीवादी उत्पादन प्रणाली लागु भए पनि अझसम्म सामन्ती उत्पादन प्रणाली र प्रशासनको निर्णायक प्रभाव रहेको छ ।
मुलुकमा अझसम्म आत्म–निर्भर प्राकृतिक अर्थतन्त्रको प्रभुत्व छ, तर यो मर्दो रूपमा छ । किसानहरूले आफ्नो खाद्यान्न मात्र होइन आफूले उपयोग गर्ने धेरै जसो चीज आफै पैदा गर्छन् । राणा, जमीन्दार, द्वारे, ठालू र मुखियाहरूले किसानहरूबाट उठाएको तिरो आफ्नै व्यक्तिगत मोजमज्जामा खर्च गर्छन् । पहिले सो तिरोलाई चीजहरूको साटा–साटमा प्रयोग गरिन्थ्यो । अहिले सामन्ती परजीवीहरूले यस्तो प्रणाली लागु गरेका छन् तापनि त्यसको अझसम्म निर्णायक प्रभाव छैन ।
धेरै जसो जमीन सामन्ती शासक वर्ग, अर्थात राणा, साहेवज्यू, घरानियाँ, जमिन्दार र गुरूज्यूहरूको मालिकत्वमा छ । किसानहरूको मालिकत्वमा ज्यादै थोरै जमीन छ, वा जमीनै छैन । किसानहरूले आफ्नै ज्यावल प्रयोग गरेर आफ्ना मालिकहरूको जमीन जोत्छन् र ती मालिकहरूको लोभ पूरा गर्न आफ्नो बालीको तीन चौथाई हिस्सा बुझाउँछन् । १९२४ मा दास प्रथाको उन्मूलन भए पनि अझसम्म घृणित खालको शारीरिक दण्ड दिने चलन छँदै छ । अझसम्म सामन्ती मालिकहरूले १५ दिनसम्म किसानहरूलाई थुन्ने कानुनी अधिकार पाएका छन् । वास्तवमा किसानहरूको स्थिति भूदासको भन्दा राम्रो छैन ।
किसानहरूले सारा राणाहरू र सामन्ती मालिकहरूद्वारा गरिने शोषणको असह्य भार बोक्नु परेको छ र त्यसका साथै नजराना, कर तथा बेगारी दिएर सम्पूर्ण सामन्ती नोकरशाही र जन विरोधी सरकारी सेनालाई पनि कायम परेको छ ।
मल्ल वंशको शासन कालमा नेपालमा धेरै सामन्तहरूले शासन गर्थे । तर १७६९ देखिन् पृथ्वीनारायण शाहको पालादेखिन् नेपाल राणाहरू र तिनका सामन्ती पिट्ठूहरूद्वारा शासित एक केन्द्रीकृत सामन्ती निरंकुश राज्य बनेको छ ।
नेपाली किसानहरूले कुनै पनि व्यक्तिगत, शारीरिक वा राजनैतिक स्वतन्त्रताको उपभोग न पहिले गरेका थिए न अहिले गरेका छन् । सामन्ती शासक गुटद्वारा गरिएको कठोरतम रूपको शोषण तथा उत्पीडनको कारणले गर्दा नेपालको सामाजिक व्यवस्था शताव्दियौंदेखिन् प्राय गतिहीन रहेको छ ।
“कोत पर्व” को रूपमा परिचित बल प्रयोगद्वारा सत्ता–अपहरणबाट राणाहरू सत्तामा आउने वित्तिकै, विदेशी साम्राज्यवादीहरूले नेपालमा छिट–छिटो आफ्नो प्रभाव बढाउन थाले । यो कतिसम्म बढेको छ भने आज नेपाल वास्तवमा विदेशी साम्राज्यवादीहरूको अर्ध–उपनिवेश रहेको छ । त्यसबेलादेखिन् नेपाल वृटिश साम्राज्यवादीहरूका लागि भरौटेहरू भर्ति गर्ने एक मुख्य स्थान बनेको छ । महाराणा त्यसको मुख्य एजेन्ट रहेको छ । आज पनि भारतको पूँजीवादी नेहरू सरकारले बृटिश साम्राज्यवादीहरूलाई बृटिश उपनिवेशहरूको मुक्ति–संघर्षलाई दवाउन भोका युवा किसानहरू मध्येबाट हजारौं सिपाही भर्ति गर्न दिइरहेको छ । बृटिश एकाधिकार पूँजीको नाफाको रक्षा गर्न, अपराधी महाराणाले गरीब नेपाली युवकहरूको जीवन र रगतको बिक्री गरिरहेको छ ।
यसका अतिरिक्त, वालस्ट्रीटका एजेन्टहरूले नेपालमा प्रभुत्व जमाएका छन् र उनीहरू हाम्रो पवित्र भूमिमा सोभियत–विरोधी सैनिक अड्डाहरू बनाउने योजना गर्नमा व्यस्तछन् । भारतीय पूँजीपतिहरू पनि नेपालमा आफ्नो शोषणका जालहरू फैलाउँदै छन् । नेपालमा जनवादी आन्दोलनको उठ्दो लहरको बिरुद्ध आफ्नो स्थितिलाई बलियो पार्न महाराणाले उक्त सब विदेशी शोषकहरूलाई निम्त्याइरहेको छ । के कुरो स्पष्ट छ भने जो शोषक अँग्रेज–अमेरिकी साम्राज्यवाद र भारतीय पिछलग्गुहरूको दलाल मात्र बनेको छ । उसले भोका जनताको एउटा पनि समस्या हल गर्न सक्दैन । उसले जनताका समस्याहरूलाई बढाउन र चर्काउन मात्र सक्छ र वास्तवमा अहिले उसले यस्तै गर्दै छ ।
यस्तो भयानक थिचोमिचोको बिरूद्ध नेपाली जनता आन्दोलित भएका उत्पादन प्रणालीको स्थापनाले गर्दा आधुनिक समाजको सबभन्दा । पूँजीवादी क्रान्तिकारी वर्ग, मजदुर वर्गको जन्म हुँदैछ । घृणित महाराणाको बिरूद्ध प्रजातान्त्रिक अधिकारहरूका लागि ऐतिहासिक हडताल–संग्रामहरूमा नेपालको मजदुर वर्गले आफ्नो क्रान्तिकारी गुणको प्रदर्शन गरिसकेको छ । नेपालको इतिहासमा सर्वप्रथम जनताले राजनैतिक अधिकारहरूको माग गरेर काठमाडौंका सडकमा प्रदर्शन गरे । फेरि, नेपालको जीवनमा पहिलो पल्ट विद्यार्थीहरूले शिक्षण संस्थाहरू भित्र राजनैतिक सभाहरू गरे र उनीहरू नागरिक अधिकारहरूको मागलाई बुलन्द गर्दै सडक प्रदर्शनमा उत्रे । उक्त आन्दोलनलाई निर्ममता पूर्वक दवाइयो तर पनि शासक वर्गले बाध्य भएर नागरिक अधिकारहरू दिने र राजवन्दीहरू छोडी दिने कबूल गर्नुपरेको थियो । लडाकू जनताले यसलाई ठीक रूपमा महाराणा र उनको गुटको कमजोरीको स्वीकारोक्ति र आफ्नो बढदो ताकतको प्रमाण ठानेका छन् ।
२
दोश्रो विश्वयुद्धको अन्त्यपछि सम्पूर्ण संसार दुई शिविरमा विभाजित भएको छ–अमेरिका तथा अंग्रेज एकाधिकारी पूँजीद्वारा नेतृत्व गरिएको साम्राज्यवाद, प्रतिकृयावाद तथा युद्धको शिविर र समाजवादी सोवियत संघद्वारा नेतृत्व गरिएको साम्राज्यवाद विरोधी, जनवाद तथा शान्तिको शिविर । अंग्रेज–अमेरिकी साम्राज्यवादी युद्धखोरहरूले संसारभर प्रत्येक मुलुकभित्र जनवादी शक्तिहरूको उठदो लहरका बिरूद्ध प्रतिकृयावादीहरूलाई सकृय सहयोग गरिरहेका छन् र उपनिवेश तथा अर्ध– उपनिवेशहरूका मुक्ति संघर्षहरूको बिरूद्ध आक्रमणकारी युद्धचलाइरहेका छन् । आसन्न पूँजीवादी सङ्कटबाट उम्कने र अमानवीय शोषणको आफ्नो टाटपल्टेको पूँजीवादी ब्यवस्थालाई जोगाउने उद्देश्यले तिनीहरूले सोवियत संघ र लोक जनवादी राज्यहरूका बिरूद्ध तेश्रो विश्वयुद्ध भडकाउन हतारमा तयारी गर्दैछन् । नेपालका शासक गुटहरूले यस साम्राज्यवादी शिविरलाई खुल्लारूपमा साथ दिएका छन् र आज प्रतिकृयावादका इमान्दार चाकरको रूपमा काम गर्दैछन् । आफ्नो जालसाजी प्रचारयन्त्रको व्यापक प्रयोग गरेर राणाहरूले जनतालाई के विश्वास दिलाउन खोज्दैछन् भने बेलायत, अमेरिका र भारतसित भएको उनीहरूको विश्वासघाती गठवन्धनले हाम्रा जनताकालागि शान्ति–सुख ल्याउने छ । स्वर्गीय प्रधानमन्त्री पद्यसम्शेर राणाले कतिसम्म पनि भनेका छन् भने नेपालमा प्रजातन्त्र स्थापना भइसकेको छ । बर्तमान प्रधानमन्त्री मोहनशम्शेर राणाले आधुनिक राज्यको रूपमा नेपालको निर्माण गर्न एक पंचवर्षीय योजनाको राणाहरूको तरीका अमेरिकी युद्धखोरहरूको सेवामा नेपाललाई युद्ध अखाडा घोषणासमेत गरेका छन् । तर यी आँखामा धुलो फ्याँक्ने कुरा मात्र हुन् । वास्तवमा बनाउन दिने तरीका हो, बृटिश साम्राज्यवादको रक्षामा नेपालको मानव शक्ति प्रदान गर्ने तरीका हो र नेपालको व्यापार तथा वाणिज्यमा भारतीय पूँजीपति वर्ग र त्यसको नेहरू सरकारको सेवामा लगाउने तरीका ही । महाराणासित सन्धिगरेर केही अमेरिकी व्यापारिक संस्थाहरूले आगामी तीस वर्षका लागि पश्चिम नेपालका केही भागहरूलाई आफ्नो नियन्त्रणमा लिइसकेका नै छन् । काठमाडौंस्थित अमेरिकी मिशनले हाम्रो मुलुकलाई आफ्नो उपनिवेशमा परिणत गर्न जोडतोडले काम गर्दैछ ।
१८५७ देखिन् नेपालको मानव शक्तिको उपयोग गरिआएका बृटिश साम्राज्यवादीहरू पनि यस निन्दनीय काममा त्यति कै संलग्न छन् । बृटिश भारतीय र नेपाल सरकारहरूका बीच नबेम्बर ९, १९४७ मा काठमाडौँमा हस्ताक्षर गरिएको सन्धिको एउटा धारा यस प्रकारको छः– “भारतीय सरकारले के कुरालाई सकारेको छ भने भारत वा नेपालको कुनै ठाउँमा अर्को भर्ति केन्द्र नबनेसम्म बृटिश सरकारले पहिले झैं गोरखपुर र घूमका भर्तिकेन्द्रहरूको प्रयोग गर्ने छ ।”
उपरोक्त एउटै धाराले नेहरू सरकार र महाराणा सरकारको “तटस्थता” तथा “स्वाधिनता” सम्वन्धी कथालाई धुजाधुजा पारिदिएको छ । फेरि सो धाराले के नांगो सत्यलाई प्रमाणित गरेको छ भने नेहरू सरकार र नेपाल सरकार दुवै प्रतिकृयावाद तथा साम्राज्यवादी युद्धशिविरका सकृय सहभागी तथा चाकर हुन् ।
नेपाली जनताको दुर्भाग्य यतिमा मात्र सीमित रहेको छैन । नयाँ दिल्लीमा आफ्नो सरकारको संरक्षण तथा निर्देशन पाएको भारतीय ठूलो बन्द–व्यापारले ठूलो युद्धमा नेपालको ढोका ’खोलिरहेको’ छ । बिडला, सिंघानिया र चौधरियाले नेपालमा जूट, कपडा र चिनी मिलहरू खोलेका छन् । नेहरू सरकार आफैले कोशी योजना लिएको छ । आज नेपालमा लगानी गरिएको पूँजीको अधिकांश हिस्सा भारतीय पूँजीपतिहरूको छ । यी भारतीय पूँजीवादी लुटेराहरू नेपालको सस्तो श्रम र प्राकृतिक साधन श्रोतहरूको शोषणमा लागेका छन् र उनीहरूको उद्देश्य आफ्नै थैली भर्नु हो, नेपालको औद्योगीकरण गर्नु होइन । किनभने उनीहरू औद्योगीकरण गर्न अनिच्छुक मात्र होइन, असमर्थ पनि छन् । यसरी नेपाली जनता दोहोरो शोषणको जाँतोमुनि पिसीदै छन्– सामन्ती शोषणलाई पूँजीवादी शोषणले टेवा दिँदै छ । आफ्नो प्राकृतिक अर्थतन्त्रको स्थितिबाट छुट्टिएर नेपाल अचानक विश्व– पूँजीवादी अर्थतन्त्रको आँधीमा पर्न गएको छ र आसन्न संकटको खतरनाक समाघातमा परेर काँपिरहेको र टुटिरहेको छ । यसबाट नेपाली जनताको मुक्ति होइन, विनास हुनेछ ।
त्यसैले नेपाली जनताले एउटा भिन्नै बाटो लिनुपर्छ । त्यो बाटो हो–विश्व जनवादी शिविरसित सकृय मेल गरी विद्यमान सामन्ती व्यवस्था र नेपाल माथिको साम्राज्यवादी– पूँजीवादी आधिपत्यलाई पूरैसित खतम पार्नु र मजदुर वर्गको नेतृत्वमा मेहनतकश जनताको जनवादी राज्य स्थापना गर्न, अर्थात यस्तो राज्य– व्यवस्था स्थापना गर्नु जसमा जनता राष्ट्रको सम्पत्तिका मालिक हुने छन् र त्यसलाई आफ्नै फाइदाका लागि विकसित गर्ने छन् । विजयी समाजवादको देश सोभियत सँघको अनुभव र पूर्वी यूरोपका लोकजनवादी राज्यहरू, नयाँ चीन, उत्तर कोरिया तथा अघि बढिरहेका औपनिवेशिक जनताका अनुभवहरूले नेपाली जनतालाई दिनप्रति दिन यस गौरवपूर्ण संघर्षमा प्रेरणा दिँदैछन्, किनभने तिनले सर्वत्र उत्पीडित जनतालाई प्रेरणा दिन्छन् ।
सामन्ती व्यवस्था र नेपाल माथिको साम्राज्यवादी आधिपत्यलाई खतम पार्ने सँघर्षमा मजदुर वर्गले अग्रणी भूमिका खेल्नु परेको छ र यो इतिहासले त्यसको काँधमा हालिदिएको अभिभारा हो । आज संख्यामा थोरै भए पनि, नेपालको मजदुर वर्ग पूँजीवादी शोषण तीव्र हुँदै गएको सिलसिलामा दिन प्रतिदिन संख्यात्मक र राजनैतिक दृष्टिले बलियो हुँदैछ । “सोवियत संघको कम्युनिस्ट पार्टी (वो.) को इतिहास” मा कामरेड स्टालिनले भन्नु भएको छः– “त्यसैले हामीले आफ्नो कार्यदिशाको आधार समाजका त्यस्ता अंगहरूलाई बनाउनु हुन्न जो अहिले प्रमुखशक्ति रहेता पनि, विकसित भैरहेका छैनन् बरू हामीले त्यस्ता अंगहरूलाई आफ्नो आधार बनाउनु पर्छ जो अहिले प्रमुखशक्ति नरहे तापनि विकसित भैरहेका हुन्छन् र जसको सामु भविष्य छ ।”
। नेपालमा विकासशील वर्ग संघर्षप्रति यस्तो द्वन्दात्मक भौतिकवादी दृष्तिकोणको मद्दतबाट मात्र क्रान्तिकारीहरूले सही रणनीतिको प्रतिपादन गर्न र त्यसलाई माक्र्स, एंगेल्स–लेनिन–स्टालिनको अजेय झण्डामुनि विजयसम्म बढाउन सक्नेछन् ।
३
हामी नेपालका, मजदुर, किसान, सिपाही, श्रमजीवी, मध्यमवर्गहरू र सारा प्रजातन्त्र प्रेमी जनतालाई के अपील गर्छौं भने उनीहरू सामन्ती एकतन्त्रवादको विरूद्ध र आफ्ना सबै प्रिय आकाँक्षाहरूका सिद्धीकरणका लागि एउटा साझा मोर्चामा एकगठ होऊन्। हामीलाई के कुरामा पूर्ण विश्वास छ भने जनवादी शक्तिहरू तलको जनवादी कार्यक्रमको आधारमा ठोस रूपले एकगठ हुन सक्छन् ः–
१) सामन्ती एकतन्त्रवाद तथा विदेशी आधिपत्यको पूर्ण उन्मूलन र पूर्ण तथा वास्तविक स्वाधीनता ।
२) मजदुर, श्रमजीवी, किसान र उत्पीडित निम्नपूँजीपति वर्गको प्रतिनिधित्व गर्ने जनवादी सरकार, जसले अँग्रेज–अमेरिकी साम्राज्यवाद र त्यसका भारतीय पिछलग्गुहरूसित सहयोगको विरोधी हुन्छ र जसले शान्ति तथा सबै जातिहरूको स्वतन्त्रताका लागि कृयाशील जनवादी राज्यहरूसित सहयोग गर्दछ ।
३) बालिग मताधिकारमा आधारित संविधान जसले सर्व साधारणलाई पूर्ण स्वतन्त्रता तथा प्रजातन्त्र र आधारभूत आर्थिक अधिकारको ग्यारेन्टी गर्दछ । विशेषाधिकारीहरू र जातपात, नस्ल र जातिको आधारमा गरिने भेदभाव कानूनद्वारा खतम पारिने छ र यसको उल्लंघनलाई कानूनद्वारा दण्डनीय पारिने छ ।
४) बिना मुआबजा जमीन्दारी प्रथा र सबै खालको सामन्ती शोषणको उन्मूलन र जोताहाहरूलाई जमीनको वितरण गर्नु, ग्रामीण ऋण खतम गर्नु, कृषि मजदुरहरूलाई जीवन योग्य ज्याला ।
५) बैंक, औद्योगिक तथा यातायात व्यवसाय, बगान, खानी आदिमा लगाइएको विदेशी पूँजी राज्यद्वारा जफतगर्नु र ती व्यवसायहरूको राष्ट्रियकरण गर्नु,
६) ठूलठूला उद्योगहरू, ठूला बैंकहरू र बीमा कम्पनीहरूको राष्ट्रियकरण, मजदुर नियन्त्रणको ग्यारेन्टी, न्यूनतम जीवन योग्य ज्याला, आठ घण्टा कामको दिन आदि ।
७) मुलुकका साधन श्रोतहरूको विकास गर्न आर्थिक योजना र रणनीतिक आर्थिक केन्द्रहरूबाट ठूलो व्यवसायलाई हटाउनु । निजी उद्योगहरूमा नाफा माथि नियन्त्रण ।
८) सबै दमनकारी कानूनहरू खारेज गर्नु ।
९) नोकरशाहीको उन्मूलन र निर्वाचित अधिकारीहरू सहितको र जन समितिहरूद्वारा निर्देशित प्रशासन ।
१०) आम जनतालाई सशस्त्र पार्नु र जनताको जनवादी सेना स्थापना गर्नु ।
११) स्वतन्त्र शिक्षा र अनिवार्य प्राथमिक शिक्षा प्राप्त गर्ने अधिकार ।
१२) महिलाहरूलाई समान प्रजातान्त्रिक अधिकारहरू ।
जनवादी मोर्चा र यसको निर्माण गर्ने नेपाल कम्युनिस्ट पार्टीले नेपालका विश्वासघाती राजनैतिक पार्टी तथा नेताहरूको विरूद्ध दृढ रूपमा संघर्ष गर्नुपर्छ र जनताका झूठा मित्रहरूलाई निर्ममतापूर्वक उदांग र एक्लो पार्नुपर्छ । जति हदसम्म विगार्नेहरूको विरूद्ध संघर्ष चलाई तिनलाई परस्त गरिन्छ, त्यति हदसम्म नै नेपालमा जन संघर्षले वास्तविक क्रान्तिकारी वेग प्राप्त गर्नेछ ।
नेपाली राष्ट्रिय कांग्रेस (रेग्मी गुट र कोइराला गुट) र तथाकथित प्रजातन्त्र कांग्रेसले नेपाली जनताका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय हितहरूप्रति विश्वासघात मात्र गरेका होइनन् की नेपालको सामन्ती निरंकुशतावाद सित भारतका प्रतिकृयावादी पूँजीवादी नेहरू सरकारसित र अंग्रेज अमेरिकी युद्धखोरहरूसित सहयोग गर्ने निर्लज्ज नीतिको अनवरत रूपले अनुशरण समेत गरिरहेका छन् । आफ्ना मुख–पत्र र भाषणहरूमा उनीहरूले सोभियत संघ, गौरवशाली चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चिनियाँ जनताको वेगवान विजय, मलाया, भियतनाम, श्याम तथा इण्डोनेशियाको विरूद्ध विषालु बदनामीहरू ओकलिरहेका छन् । उनीहरूको भनाई अनुसार महाराजाको घृणित सरकार नेपालका श्रमजीवी जनताको साझा शत्रु होइन । उनीहरूको भनाई अनुसार, कम्युनिज्म र कम्युनिस्टहरू नेपालका लागि मुख्य खतरा छन् र उनीहरू कम्युनिज्मको विरूद्ध आफ्नो “पवित्र अभियान” मा महाराजाको रक्त रंजित हातसित हात मिलाउन समेत इच्छुक छन् । कम्युनिज्मको विरूद्ध उनीहरूको पाखण्डी घृणामा मौलिक कुरो केही पनि छैन । यो त संसार भरका जनशत्रुहरूको सुपरिचित तथा दिवालिया नीति हो । कम्युनिज्म–विरोधलाई आवरण बनाएर उनीहरू आफ्नो अपराध पूर्ण निहित स्वार्थको रक्षा गर्न शोषित जनताको विरूद्ध लड्ने गर्दछन् ।
उदयमान मध्यमवर्गको सानो तहको प्रतिनिधित्व गर्ने रेग्मी र खुद आफै सामन्ती मालिक रहेका असन्तुष्ट राणाहरू श्रमजीवी जनताको शोषणलाई खतम पार्नमा बिलकूल चासो राख्दैनन् । उनीहरू विद्यमान सत्तासित संझौता गर्न चाहन्छन् र जनताको रगत चुस्ने काममा उचित हिस्सा प्राप्तगर्न मात्र उत्सुक असन्तोषसित खेलवाड गर्छन, विरोधको टोपी लगाउँछन् र नक्कली वीरता छन् । आफ्ना खराब उद्देश्य सिद्ध गर्नका लागि, उनीहरू जनताको वास्तविक देखाउँछन् । तर सदासर्वदा उनीहरू आम जनताको क्रान्तिकारी शक्ति र अग्रसरतालाई रोक्न भगीरथ कोशिश गर्दछन् । जब जन असन्तोषले सारा छेकवारलाई भत्काउन लागेको हुन्छ, अनि यी बाग्बहुल वीरहरू संघर्षरत जनताको पीठ पछाडि संघर्षलाई फिर्ता लिन्छन् र महाराणासित गर्हित संझौता गर्छन् । उनीहरूले हालसालै मात्र यसो गरेका छन् ।
कम्युनिस्टहरू श्रमजीवी जनताको संघर्षका सबभन्दा संझौताहीन समर्थक हुन, त्यसैले स्वभावतः यी गद्दारहरू कम्युनिस्टहरूको बिरूद्ध आफ्नो मुख्य हमलालाई केन्द्रित पार्छन् । शोषित जनताप्रतिको विश्वासघात र शोषक वर्गहरू प्रतिको अधिनस्थतालाई लुकाउन उनीहरूले “तेश्रो बाटो” को झुठो नारा उठाएका छन् । अंग्रेज–अम्रिकी एकाधिकारी पूँजीको नेतृत्वमा रहेको पूँजीवादको शिवर सोवियत संघ तथा अन्तर्राष्ट्रिय मजदुर वर्गको नेतृत्वमा रहेको समाजवादको शिविरका माझ स्पष्टरूपले विभाजित संसारमा कुनै “तेश्रो बाटो” कुनै “मध्यम मार्ग” को नीति हुन सक्दैन । उपर्युक्त दुई शिविरमा– दुई बाटोमा, एउटा सबैले चुन्नै पर्छ । “तेश्रो बाटो” को नारा प्रतिकृयावादसितको गठवन्धन र विश्वासघाती अनहारलाई लुकाउन प्रयोग गरिएको राजनैतिक छद्मभेष हो । नेहरूको “तेश्रो बाटो” यसको एउटा घिनलाग्दो प्रमाण हो ।
नेहरूले “तेश्रो बाटो” बाट सुरु गरेर केही महिना भित्रै उनी साम्राज्यवादी– पूँजीवादी सामन्ती गठबन्धनको शिविरमा, अंग्रेज–अमेरिकी युद्धखोरहरूको शिविरमा सामेल भए। “तेश्रो बाटो” को अनिवार्य गन्तव्य स्थान यही हो । यो अन्तर्राष्ट्रिय सामाजिक जनवादको घृणित झण्डा हो, मजदुर वर्गप्रति विश्वासघातको झण्डा हो ।
हामी नेपालका प्रजातन्त्रवादी जनतालाई के आह्वान गर्छौँ भने उनीहरू यी झूठा मित्रहरूबाट, यी नक्कली प्रजातन्त्रवादीहरूबाट सतर्क होउन् र उनीहरूले सोवियत संघद्वारा नेतृत्व गरिएको विश्वसाम्राज्यवाद विरोधी शिविरको पक्षमा दरो अडान लेउन र लोक जनवादको लागि संझौताहीन संघर्षलाई अघि बढाउन् ।
शोषित, पददलित जनताका पंक्तिमा रहेका दाजूभाई दिदी बहिनीहरू हो !
संसारका संघर्षरत जनताको नेता समाजवादी सोवियत संघका बिरूद्ध हाम्रो पवित्र मातृभूमिलाई साम्राज्यवादी युद्ध अखडामा फेर्ने अपराधी योजनालाई बिफल पार्न दृढरूपमा संघर्ष गर्नु होस् ! नेपालका श्रमजीवी जनताले कहिले पनि सोवियत संघको बिरूद्ध संघर्ष गर्ने छैन र आफ्ना वर्गीय दाजुभाईहरूको विरूद्ध कहिले पनि हात उठाउने छैनन् ।
विदेशमा साम्राज्यवादी डकैतीको रक्षार्थ रगत बगाउन इन्कार गर्नोस् ! नेपालका गरीब जनताले अरु मुलुकहरूका गरीब जनताको शोषण गर्नमा साम्राज्यवादी उपनिवेशवादीहरूलाई किन मदत गर्ने ? नेपालका गरीव जनताले हाम्रो मुलुक र जनता माथि आधिपत्य जमाइरहेका उही अंग्रेज–अमेरिकी साम्राज्यवादीहरूलाई बलियो पार्न आफ्नो जीवनको बलिदान किन गर्ने ? बर्मा, मलाया र अन्य दक्षिण एसियाली मुलुकहरूका मुक्ति संघर्षको बिरूद्ध लड्न इन्कार गर्नोस्, किनभने ती मुलुकहरूका जनताहरू पनि उही मागहरूका लागि र उही शोषक वर्गहरूको बिरूद्ध लडिरहेका छन्, जुन मागका लागि र जुन शोषक वर्गको बिरूद्ध नेपाली जनता आफ्नो मुलुकमा लडिरहेका छन् । शोषितहरूको बिरूद्ध होइन, शोषकहरूको बिरूद्ध लडन कम्मर कस्नोस् ! आफ्नै दाजुभाईहरूतिर होइन, सर्वसाधारण जनताका शत्रुहरू तिर आफ्नो बन्दुक सोझ्याउनुहोस् । आफ्ना दाजुभाईहरूको बिरूद्ध लड्नुको अर्थ आफ्नै दासत्वलाई बलियो पार्नु हो । घृणित महाराणा र उनका अधिकृतहरूको आदेशमा आफ्नो मुलुकका आफ्नै जनतालाई दवाउन दृढता पूर्वक इन्कार गर्नुहोस् । महाराणा र उनको साँगुरो शासक गुटले तपाइँहरूलाई तपाइँका जग्गाको हकबाट बन्चित पारेका छन्, तपाइँहरू र तपाइँहरूका नातेदारहरूलाई भोकमरीको मुखमा हालेका छन् र अनि तपाइँहरूको अति गरिबीबाट फाइदा उठाएर, आफ्नो लुटको साम्राज्य बचाउन सशस्त्र चाकरको रूपमा तपाइँहरूलाई भर्तिगरिरहेका छन् र विदेशी साम्राज्यवादीहरूलाई भरौटेको रूपमा तपाइँहरूको बेचविखन गरिरहेका छन् । त्यस्तो सेनामा तपाइँहरूको जीवन एक सततः अपमान हो । आफ्नै भोका दाजुभाई तथा दिदी वहिनीहरूलाई गोली हान्न इन्कार गर्नोस्, थिचाहा, शोषकहरू तर्फ आफ्नो संगीन सोझ्याउनु होस् र आफ्ना संघर्षरत जनताको पक्ष लिनुहोस् । यो नै मुक्तिको बाटो, सम्मानको बाटो, जीवनको बाटो हो ।
नेपालका मजदुरहरू हो ! तपाइँहरूले मार्च १९४७ का आफ्ना पहिला हडताल– संग्रामहरूको बेलामा नै आफ्नो झण्डा, विश्व सर्वहारा वर्गको अन्तर्राष्ट्रिय एकताको झण्डा उठाउनु भएको छ । निष्काशित राणाहरू र भारतको समाजवादी नेताद्वारा समर्थित कांग्रेसी नेताहरूले तपाइँहरूको वर्ग–शत्रुसितको पहिलो मूठभेड प्रति विश्वासघात गरे पनि त्यो मुलुकभर फैलियो । कांग्रेसी गद्दारहरूले औपचारिक रूपमा हडताल बन्द गर्ने घोषणा गरिसके पछि पनि राजधानीमा विभिन्न विभागका सरकारी कर्मचारीहरूले बाँच्न योग्य ज्याला र कामको राम्रो अवस्थाका लागि हडताल गरे । अव एकताबद्ध तागतद्वारा आफ्नो संघर्षलाई अघि बढाउनका लागि, सबै जिल्लाहरूबाट प्रतिनिधिहरू राखी आफ्नो स्वतन्त्र मजदुर संघहरू गठन गर्नुहोस् र उपर्युक्त महत्वपूर्ण मागहरूको तत्काल पूर्तिका लागि, बाँच्न योग्य ज्याला, आठ घण्टा कामको दिन, कामको राम्रो अवस्था, सेवाको सुरक्षा, बुढेसकालमा भत्ता, केटाकेटीहरूको निम्ति मुफ्त शिक्षा, पूर्ण मजदुर संघीय अधिकारहरूको कार्यान्वयनका लागि आफ्ना शक्तिहरूको परिचालन गर्नु होस् !
मजदुर साथीहरू हो ! एकता, संगठन र संघर्षमा हाम्रो तागत रहेको छ । नयाँ नेपाल र प्रजातान्त्रिक जीवन पद्धतिको निर्माणको लागि लालझण्डाको नेतृत्वमा नयाँ संग्रामहरू तर्फ अघि बढनुहोस् !
नेपालका श्रमजीवी किसानहरू हो ! बर्तमान सामन्ती व्यवस्थाको बिरूद्ध कठोर संझौताहीन संघर्षबाट नै तपाईंहरूको मुक्ति हुनेछ । यस गौरवशाली संघर्षमा तपाइँहरू न कमजोर हुनुहुन्छ, न एकलो । तपाइँहरू मुलुकमा अत्यधिक बहुसंख्यामा हुनुहुन्छ । वीरतापूर्ण मजदुर वर्ग यस संघर्षको अघिल्लो मोर्चामा उभिएको छ र नेपाल, भारत, पाकिस्तान तथा समस्त विश्वका सबै प्रजातान्त्रिक शक्तिहरू तपाईंहरूको साथमा छन् । लाल झण्डाको नेतृत्वमा मुलुकव्यापी स्तरमा आफ्नो स्वतन्त्र जन संगठन बनाउनु होस् र तलका मागहरू पूरा गर्न दृढ संघर्ष चलाउनु होस् ः–
१) जमीन जोत्नेलाई देऊ !
२) खेत मजदुरहरूमा पर्ती जग्गा वितरण गर !
३) गैर कानूनी नजराना तथा बेठ–बेगारी खारेज गर !
४) तिभागा तत्काल लागुगर !
५) खेत मजदुरहरूका लागि बाँच्न योग्य ज्याला देऊ !
६) पूर्ण नागरिक स्वतन्त्रता बहाली गर !
नेपालका विद्यार्थी तथा जनवादी युवाहरू हो ! नेपालको पहिलो राष्ट्रिय संघर्षमा तपाईंहरूले गौरवशाली भूमिका खेल्नु भएको छ र प्रशस्त रगत बगाउनु र नयाँ बलिदानको निम्ति अभिप्रेरित गरेको छ । १९३० का एकजना वीर श्री भएको छ । युवा गंगालालको अमर प्राणोत्सर्गले तपाइँहरू धेरैजनालाई नयाँ संग्राम खड्गमान अझसम्म आफ्नो आङमा सिक्री र नेल सहित जेलमा सडिरहनु भएको समय आएको छ र आह्वान् गरिएको छ । आजसम्म तपाइँहरूको स्वतन्त्र लडाकू छ । दैनिक परिपक्क संग्रामहरूद्वारा उक्त परम्परालाई अरु उचाइमा उठाउने जन संगठन नहुँदा विश्वासघाती र अवसरवादीहरूले तपाइँहरूलाई मजधारमा अलपत्र छोडने मौका पाएका छन् । त्यसैले तलका मागहरूको लागि लडन आफ्नो स्वतन्त्र, लडाकू प्रजातान्त्रिक जनसंगठन बनाउन अघि बढनु होस् !
१) सर्व साधारण जनताका लागि पूर्ण प्रजातान्त्रिक अधिकारहरू !
२) प्रजातान्त्रिक शिक्षा प्रणाली, मुफ्त, अनिवार्य प्राथमिक शिक्षा, उच्च स्तरमा सस्तो शिक्षा !
३) पूर्ण शैक्षिक एवं प्राज्ञिक अधिकारहरू !
४) सच्चा स्वाधीन प्रजातन्त्र र शान्तिका लागि !
नेपालका श्रमजीवी महिलाहरू हो ! हामी तपाइँहरूको बढदो संघर्ष र लडाकू पनाको स्वागत गर्दछौं । मार्च १९४७ मा बिराटनगर जूट तथा कपडा मीलहरूका श्रमजीवी महिलाहरूले पुरुषहरूसित काँधमा काध मिलाएर लडेका छन् । यही सालमा महिलाहरूले महाराणाको सशस्त्र आतंकलाई हाँक दिदै काठमाण्डूका सडकहरूमा प्रदर्शन गरेका छन् । जन आक्रोशको बढदो स्तरदेखि डराएर राणा सरकारले बाध्य भै नगरपालिकीय प्रशासन जनताको हातमा सुम्पियो। तर निर्वाचनमा महिलाहरूलाई मतदान गर्ने अधिकारबाट बंचित पारियो । नेपालका श्रमजीवी महिलाहरूले चूपचाप सहेर बस्न इन्कार गरे र एउटा प्रतिनिधि मण्डल बनाएर उनीहरू प्रधामन्त्रीको निवास स्थानतिर गए । यसबाट तपाइँहरूको लडने तथा अधिकार प्राप्त गर्ने अठोट देखिएको छ । सामाजिक, आर्थिक तथा राजनैतिक तेहरो थिचोमिचोको बिरूद्ध लड्न आफ्नो महिला संघ गठन गर्नु होस् र संझौताहीन संघर्षद्वारा त्यसलाई टेवा दिनु होस् ः–
१) समान कामको लागि समान तलव !
२) राष्ट्रिय जीवनका सबै क्षेत्रमा समान अधिकारहरू !
३) सुत्केरी सुविधा र केटाकेटीहरूका लागि सुरक्षित जीवन !
४) मुफ्त शिक्षा
५) विदेशमा साम्राज्यवादी सेनाहरूमा रहेका हाम्रा छोरा र लोग्नेहरू फिर्ता देऊ !
६) स्वतन्त्र, लोकजनवादी नेपाल !
अतः नेपाल कम्युनिस्ट पार्टी श्रमजीवी जनताको विकासशील संघर्षमा सहभागी बन्ने र त्यसलाई संगठित पार्ने तथा नेतृत्व दिने र त्यसलाई विजयसम्म अघि बढाउने काममा आफूलाई समर्पित गर्दछ । यसलाई सो बाटोबाट जस्तासुकै आतंक वा झुठो प्रचारले विचलित पार्न सक्नेछैन । अन्य पूँजीवादी तथा निम्नपूँजीवादी पार्टीहरूले पहिले जनताप्रति विश्वास घात गरेका छन् र पछि पनि गर्दैरहनेछन् । नेपाल कम्युनिस्ट पार्टी, माक्र्सवाद–लेनिनवादको मार्गदर्शनमा अघि बढेको पार्टीले क्रान्तिको आँधिबेहरीमा जनताको साथ दिने छ र यसले के प्रतिज्ञा गर्छ भने सच्चा स्वतन्त्रता तथा लोकजनवादका लागि संघर्षको अघिल्लो पंक्तिमा सदा अडिग भै लडिरहने छ । नेपाल कम्युनिस्ट पार्टी शोषकहरूलाई ठोक्ने जनताको मुड्की हो । तसर्थ हामी मजदुर वर्ग, भूमिहीन तथा गरीब किसानहरूका सर्वोत्तम छोरा छोरीहरूलाई र जनवादी विद्यार्थी, युवा तथा महिलाहरूलाई नेपाल कम्युनिस्ट पार्टीका जुझारू पंक्तिहरूमा सामेल हुन आह्वान गर्दछौं । किन भने एउटा बलियो, जन आधारित कम्युनिस्ट पार्टीले मात्र जनताको लोक जनवादी क्रान्तिलाई सक्षम नेतृत्व प्रदानगरी विजयसम्म अघि बढाउन सक्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
-
राप्रपा र राप्रपा नेपालबिचको एकता अवैध, आयोगले काट्यो पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण