बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
राजनीति

कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी

बिहीबार, ०७ साउन २०८३, १३ : ३०
बिहीबार, ०७ साउन २०८३

सारांश

  • नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको वर्तमान अवस्थालाई चिर्दै नयाँ कार्यदिशा तय गर्न साउन २९ गतेदेखि राष्ट्रिय भेला गर्ने घोषणा गरेको छ ।
  • भेलाको तयारी, जिम्मेवारी बाँडफाँट, र प्रतिनिधि छनोटका विषयमा निर्णय गर्न समूहको बैठक शुक्रबार बस्नेछ ।
  • भेलामा पार्टीको वैचारिक र सांगठनिक पुनर्जीवनका लागि राजनीतिक, समसामयिक, नीतिगत र सांगठनिक प्रस्ताव पेस गरिनेछ ।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर (निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइराला) समूहले पार्टीको वर्तमान अवस्थालाई चिर्दै नयाँ कार्यदिशा तय गर्न भन्दै साउन २९ गतेदेखि राष्ट्रिय भेला गर्ने घोषणा गरेको छ ।

पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (बीपी)को ४४औँ स्मृति दिवसको अवसर पारेर साउन ६ गते प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा भेलाको मिति घोषणा गरिएको हो । भेलाका लागि शुक्रबारदेखि तयारी सुरु गर्ने सो समूहले जनाएको छ ।

भेलाको तयारी कसरी गर्ने ? के–के एजेण्डा पेस गर्ने ? प्रतिनिधि कति बनाउने र छनोटका आधार के बनाउने भन्ने निर्क्यौल गर्न शुक्रबार समूहको बैठक बोलाइएको छ ।

समूहका प्रचार प्रसार संयोजक मीन विश्वकर्माले भेलाले पार्टीलाई वैचारिक र सांगठनिक रूपमा पुनर्जीवन दिने दाबी गर्दै त्यसको तयारी शुक्रबारदेखि गरिने जानकारी दिए । भेलाको तयारीबारे छलफल गरी जिम्मेवारी बाँडफाँट गर्न र बुधबार बीपी स्मृति दिवसमा गरिएको कार्यक्रमको समीक्षा गर्न शुक्रबार समूहको बैठक बोलाइएको उनले बताए ।

‘शुक्रबार हामी सम्पर्क कार्यालय चुनदेवीमा बैठक बस्छौँ । बैठकले बीपी स्मृति दिवसको कार्यक्रमको समीक्षा गर्छ,’ विश्वकर्माले रातोपाटीसँग भने, ‘राष्ट्रिय भेलाको तयारी, जिम्मेवारी बाँडफाँट, र प्रतिनिधि कसरी छनोट गर्ने भन्ने विषयमा निर्णय लिन्छ ।’

साउन २९ गते सुरु हुने राष्ट्रिय भेला सहभागीको सङ्ख्या र छलफलको गहनतालाई हेरेर २ देखि ३ दिनसम्म लम्बिन सक्ने नेता विश्वकर्माले बताए । ‘साउन २९ गते भेला सुरु हुन्छ । आवश्यकता अनुसार भेला ३० र ३१ गतेसम्म पनि चल्न सक्छ,’ उनले भने, ‘भेलाले पार्टीका लागि एउटा स्पष्ट र नयाँ कार्यदिशा दिने लक्ष्य हामीले राखेका छौँ ।’

भेलामा गम्भीर वैचारिक मन्थन गरिने र विभिन्न प्रतिवेदन प्रस्तुत गरिने जनाइएको छ । विश्वकर्माका अनुसार पार्टीको वर्तमान राजनीतिक लाइन र भावी दिशाबारे राजनीतिक प्रस्ताव, मुलुकको वर्तमान राजनीतिक घटनाक्रम र कांग्रेसको भूमिकाबारे समसामयिक प्रस्ताव, पार्टीले लिनुपर्ने आर्थिक, सामाजिक र राजनीतिक नीतिहरूबारे नीतिगत प्रस्ताव र पार्टीको संरचना र विधानलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे सांगठनिक र वैधानिक प्रस्ताव पेस गर्ने सो समूहको तयारी छ । ती प्रतिवेदन कसले तयार गर्ने भन्नेबारे शुक्रबारको बैठकले निर्णय लिने नेता विश्वकर्माले बताए ।

समूहले नेता कार्यकर्ताको मनोभावना बुझ्न यसअघि सातै प्रदेशमा भेला गरिसकेको छ ।

राष्ट्रिय भेलामा को–को सहभागी हुने भन्नेबारे मापदण्ड तय गर्न बाँकी रहेको नेता विश्वकर्माले बताए । ‘यो महाधिवेशनजस्तो चुनिएका प्रतिनिधिमात्र आउने कार्यक्रम होइन, यो भेला हो । त्यसैले यसमा सहभागीको सङ्ख्या अलि ठुलो हुन सक्छ,’ विश्वकर्माले भने, ‘त्यसको मापदण्ड तय गर्न बाँकी नै छ । अब हामी बिस्तारै तयारीका कामहरू गर्दै जान्छौँ ।’

सहभागीको मापदण्ड तय भएपछि सोही अनुसार जिल्ला–जिल्लामा केन्द्रीय प्रतिनिधिहरू पठाएर कार्यकर्ता र नेताहरूलाई निमन्त्रणा तथा परिचालन गरिने योजना रहेको विश्वकर्माले बताए ।

भेला काठमाडौँमै आयोजना गरिने निश्चित भएको छ । ठुलो संख्यामा नेता–कार्यकर्ता सहभागी हुने र वर्षातको समय भएकाले काठमाडौँका ठुला ‘इन्डोर’ हलहरूको खोजी भइरहेको विश्वकर्माले बताए । ‘हामी वर्कसप मोडलमा पनि जान सक्छौँ, त्यसैले कस्तो खालको हल चाहिन्छ र कति संख्या अटाउनुपर्छ भन्ने कुरा भोलिको बैठकले तय गरेपछि स्थानको अन्तिम टुङ्गो लाग्नेछ,’ उनले भने ।

भेलाको थप व्यवस्थापन, दस्ताबेज लेखनको जिम्मेवारी बाँडफाँट र समयतालिका निर्धारण गर्न शुक्रबारको बैठकले ठोस निर्णय गर्ने नेता विश्वकर्माले बताए ।

गत पुस अन्तिम साता तत्कालीन केन्द्रीय समितिको सहमतिबिना गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गरी नयाँ नेतृत्व चयन गरेपछि कांग्रेसमा सुरु भएको विवाद अझै मथ्थर भएको छैन । पार्टीमा एकता कायम गर्ने पटक–पटकका प्रयास विफल भएपछि विशेष महाधिवेशनपछि पार्टीको संस्थापनबाट बाहिरिएको देउवा समूह र नेता डा. शेखर कोइराला समूहले राष्ट्रिय भेला आह्वान गरेका हुन् ।

भेलासम्म पार्टीमा एकता कायम हुन नसकेमा यो भेलाबाट नयाँ पार्टीको जन्म हुन सक्ने सम्भावना रहेको पनि नेताहरू बताउँछन् । बुधबार बीपी स्मृति दिवसमा आयोजित कार्यक्रममा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइरालासहितले तत्काल सहमतिका लागि सभापति गगन थापाले प्रयास नगरे नयाँ बाटो तय गर्ने र त्यसपछि उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वयं सभापति थापाले लिनुपर्ने बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप