शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु

शनिबार, ०९ साउन २०८३, ०६ : ५७
शनिबार, ०९ साउन २०८३

सारांश

  • युक्रेनको राजधानी किभ नजिक ड्रोन प्रविधि प्रदर्शनीलाई लक्षित गर्दै रुसले गरेको मिसाइल आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने करिब १०० जना घाइते भएका छन्।
  • पूर्वी युक्रेनको स्लोभियान्स्क शहरमा रुसी ग्लाइड बम आक्रमणमा थप पाँच जनाको मृत्यु भएको छ भने उत्तरी सुमी शहरमा पनि दुई जनाको मृत्यु भएको छ।
  • युक्रेनले रुसको किरोभ शहरस्थित एउटा सैन्य उद्योगमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको र २६ जना घाइते भएको रुसी पक्षले जनाएको छ।

किभ  । युक्रेनको राजधानी किभ नजिक आयोजित ड्रोन प्रविधि प्रदर्शनीलाई लक्षित गर्दै रुसले गरेको ब्यालिस्टिक मिसाइल आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने करिब १०० जना घाइते भएका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार रक्षा क्षेत्रका उच्च अधिकारी तथा ड्रोन प्रविधिसम्बन्धी विशेषज्ञहरूको सहभागिता रहेको प्रदर्शनीमा दिउँसो भएको आक्रमणमा सबैभन्दा ठुलो क्षति भएको हो। यस आक्रमणमा मात्रै १० जनाको ज्यान गएको बताइएको छ।

यसैबिच, पूर्वी युक्रेनको स्लोभियान्स्क शहरमा रुसी ग्लाइड बम आक्रमणमा थप पाँच जनाको मृत्यु भएको छ। उत्तरी सुमी शहरमा पनि शनिबार बिहान दुई जनाको मृत्यु भएको युक्रेनी सैन्य अधिकारीहरूले पुष्टि गरेका छन्।

आक्रमणअघि शुक्रबार साँझ राष्ट्रपति जेलेन्स्कीले रुसले आगामी ४८ घण्टाभित्र अर्को ठुलो मिसाइल आक्रमणको तयारी गरिरहेको गुप्तचर सूचना प्राप्त भएको बताएका थिए।

युक्रेनी वायुसेनाका प्रवक्ता युरी इहनातका अनुसार किभ नजिकको आक्रमणमा रुसले तीनवटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो, जसमध्ये एउटा मात्रै युक्रेनी वायु प्रतिरक्षा प्रणालीले खसाल्न सफल भएको थियो।

उता, रुसले पनि उक्त आक्रमणको पुष्टि गर्दै आफ्नो रक्षा मन्त्रालयमार्फत विज्ञप्ति जारी गरेको छ। मन्त्रालयले रूसभित्रका नागरिक क्षेत्रलाई निशाना बनाउन प्रयोग हुने ड्रोनको प्रदर्शन भइरहेको स्थलमा उच्च सटीकतायुक्त लामो दूरीका हतियार प्रयोग गरिएको जनाएको छ। त्यहाँ ड्रोन निर्माता, युक्रेनी ड्रोन फोर्सका प्रतिनिधि तथा रुसविरुद्ध आक्रमणको योजना बनाउने सुरक्षा निकायका अधिकारीहरू उपस्थित रहेको दाबी पनि रुसले गरेको छ।

सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेयता यस प्रकारको ड्रोन प्रदर्शनीमाथि भएको यो तेस्रो आक्रमण हो। सार्वजनिक रूपमा व्यापक प्रचारप्रसार गरेर यस्तो कार्यक्रम आयोजना गरिएको विषयमा युक्रेनभित्रै पनि तीव्र आलोचना भएको छ।

घटनापछि युक्रेनका महान्यायाधिवक्ताको कार्यालयले प्रदर्शनी आयोजना गर्ने निर्णय कसले गर्‍यो, सुरक्षा व्यवस्थाको अवस्था कस्तो थियो भन्ने विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ।

यसैबिच, युक्रेनले शुक्रबार रुसको किरोभ शहरस्थित एउटा सैन्य उद्योगमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको र २६ जना घाइते भएको रुसी पक्षले जनाएको छ। युक्रेनले रुसको सबैभन्दा ठुलो अनलाइन खुद्रा विक्रेता वाइल्डबेरीजका गोदामहरूमा पनि ड्रोन आक्रमण गरेको छ।

राष्ट्रपति जेलेन्स्कीले किरोभमा रहेको युक्रेनी आक्रमणको निशाना बनेको कारखानाले युक्रेनमाथि आक्रमणमा प्रयोग हुने विमान तथा मिसाइलका महत्वपूर्ण पुर्जा उत्पादन गर्ने बताएका छन्। युक्रेनले पछिल्ला दिनहरूमा तेल भण्डारण केन्द्रको सट्टा रसद आपूर्ति केन्द्रहरूलाई लक्षित गर्दै आएको जनाएको छ।

यसैबिच, राष्ट्रपति जेलेन्स्की आगामी साता अमेरिका भ्रमणमा जाने तयारीमा छन्। ह्वाइट हाउसका एक अधिकारीका अनुसार उनले मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उक्त भेटमा युक्रेन–रुस युद्ध अन्त्यका लागि शान्ति वार्तालाई पुनर्जीवित गर्ने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

यता, रोमानियाका राष्ट्रपति निकुसोर डानले शुक्रबार आफ्नो देशको हवाई क्षेत्रमा प्रवेश गरेको एक रुसी ड्रोनलाई रोमानियाली एफ–१६ लडाकु विमानले खसालेको बताएका छन्। त्यसअघि रोमानियाका पूर्वी तथा दक्षिणपूर्वी क्षेत्रमा हवाई जोखिमको चेतावनी जारी गरिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप