देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
सारांश
- शारीरिक रूपमा विशेष क्षमता भएका खेलाडीहरू जापानमा आयोजना हुने पाँचौं एसियाली पारा खेलकुदको तयारीमा जुटेका छन् ।
- खेलाडीहरूले प्रशिक्षणका लागि सार्वजनिक यातायात प्रयोग गर्दा समाजबाट अपमान र नकारात्मक दृष्टिकोणको सामना गर्नुपरेको गुनासो गरेका छन् ।
- राज्यले पारा खेलकुदका लागि छुट्याएको बजेट अपर्याप्त रहेको र खेलाडीहरूको लागि आवश्यक पूर्वाधार तथा सुविधाको अभाव रहेको गुनासो छ ।
काठमाडौँ । बाहिर पानी परिरहेको छ, मौसम चिसो छ । तर भित्र स्वीमिङ पुलमा केही युवायुवतीका हाडगोडा निरन्तर चलिरहेका छन् । उनीहरूसँग चिसो पानीभित्र तातो ऊर्जा छ, अनि देशको प्रतिनिधित्व गरेर पारा एसियन गेम्समा सहभागी हुने हुटहुटी छ ।
शारीरिक रूपमा विशेष क्षमता भएका यी खेलाडीहरू पाँचौं एसियाली पारा खेलकुद अर्थात् पारा एसियन गेम्सको तयारी गरिरहेका हुन् । पारा एसियन गेम्स आगामी १० अक्टोबरदेखि जापानको नागोयामा हुँदैछ, जहाँ नेपालको झन्डा फहराउने लक्ष्यमा छन् यी खेलाडीहरू ।
स्पाइनल कर्ड इन्ज्युरीका कारण कम्मरमा फलामको रड हालेर ह्विलचेयरको सहारामा बाँचेका यी खेलाडीहरू आफ्नै स्वास्थ्यको पर्वाह नगरी आफ्नो लक्ष्यमा लागेका छन् ।
यी खेलाडीहरूको सङ्घर्ष पोखरीको निलो पानी र खेल मैदानमा मात्र सीमित छैन । खेलकुदको तयारीका लागि दैनिक प्रशिक्षण केन्द्रसम्म पुग्न उनीहरूले काठमाडौँका सडक, सार्वजनिक यातायात र समाजसँग ठुलो मानसिक तथा शारीरिक युद्ध लड्नुपर्छ ।
कैलालीको कैलारीकी जेनिशा कठायत र जुम्लाकी सिर्जना सार्की काठमाडौँमा बसेर पारा पौडीको प्रशिक्षण लिइरहेका छन् । सिर्जना साढे तीन वर्षदेखि मेरुदण्डको चोट (स्पाइनल कर्ड इन्ज्युरी)का कारण ह्विलचेयरको सहारामा छिन् । जेनिशा भने स्कुटर चलाएर प्रशिक्षण केन्द्रसम्म पुग्न सक्छिन् ।
सिर्जनाले तालिम केन्द्रसम्म पुग्दाको सास्तीको कथा निकै पीडादायी छ । ‘आज म टेम्पोमा चढिसकेको मान्छेलाई पनि ओरालियो । मलाई यति धेरै अपमान महसुस भयो कि रुन मन लाग्यो,’ उनले सुनाइन्, ‘प्रशिक्षणमा जानुको साटो कोठामै फर्किऊँ जस्तो लाग्यो । तर पछि गुरू (प्रशिक्षक)ले फोन गरेर सम्झाएपछि महँगो ट्याक्सी रिजर्भ गरेर प्रशिक्षणमा आउनुपर्यो ।‘
शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिलाई देख्नेबित्तिकै समाजमा बिचरा, कठै यसले के गर्न सक्ला र ? समाजमा व्याप्त यही दयाभाव र नकारात्मक दृष्टिकोणले खेलाडीहरूलाई खेलमैदानको भौतिक अवरोधभन्दा बढी मानसिक चोट पुर्याउँछ । शारीरिक रूपमा सबल खेलाडीहरूको तुलनामा पारा खेलाडीहरूको सङ्घर्ष कैयौँ गुणा बढी छ । सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा भोग्नुपर्ने सास्तीदेखि लिएर समाजले हेर्ने सङ्कुचित नजरसम्मका चुनौतीहरू उनीहरूका अगाडि पहाड बनेर उभिएका छन् ।
‘हामी दयाका पात्र होइनौँ, हामी देशको गौरव बन्न चाहन्छौँ । हामी कुनै संस्था वा व्यक्तिका लागि होइन, आफ्नो तनमन दिएर देशको झण्डा बोक्नका लागि सङ्घर्ष गरिरहेका छौँ,’ जेनिशा भन्छिन् । सडकमा पानी पर्दा वा मौसम प्रतिकूल हुँदा उनीहरूको सङ्घर्ष अझै थपिन्छ ।
बागलुङका हर्कमान घर्ती मगर हाल बौद्ध नयाँबस्तीमा बस्छन् । एक वर्षदेखि पौडी खेलमा सक्रिय उनको खेलस्तर निरन्तर वृद्धि भइरहेको छ । हालै जापानको फुजीमा भएको इन्टरनेसनल क्लासिफिकेसनमा सहभागी भएर उनी नेपाल फर्किएका हुन् । पारा खेलकुदमा अन्तर्राष्ट्रिय स्पर्धामा भाग लिनुअघि यो वर्गीकरण प्रक्रिया अनिवार्य मानिन्छ ।
खेलप्रति निकै दृढ हर्कमान भन्छन्, ‘विदेशी खेलाडीहरू पनि मान्छे हुन्, म पनि मान्छे हुँ । यदि उनीहरूले राम्रो गर्न सक्छन् भने म किन सक्दिनँ ? म पनि अवश्य सक्छु ।‘ तर उनको यो आत्मविश्वासलाई देशको खेलकुद संरचना र सुविधाको अभावले बारम्बार गिज्याउने गर्छ । पारा खेलाडीहरूका लागि आवश्यक पर्ने सन्तुलित आहार, उपयुक्त फिजियोथेरापी, आधुनिक जिम र समयमै खेल सामग्रीको उपलब्धता छैन ।
यस्तै कथा रसुवाका मेम्बर सिंह स्याङ्बोको पनि छ । बालाजु बस्ने मेम्बर जापानमा वर्गीकरण पूरा गरी फर्किएका हुन् । ‘हामी देशका लागि खेल्छौँ, तर सरकारले हाम्रो अवस्था कहिल्यै बुझ्ने प्रयास गरेन । पारा खेलाडीहरूलाई पनि अन्य खेलाडी सरह समान अवसर र सम्मान मिल्नुपर्छ,’ उनी भन्छन् ।
शुभ श्रेष्ठ विगत १५ वर्षदेखि खेलकुद प्रशिक्षणमा आवद्ध छन् । पछिल्लो ६ महिनायता उनी पारा पौडी खेलाडीहरूलाई प्रशिक्षण दिइरहेका छन् ।
‘पारा खेलाडीहरूलाई हामीले जिरो लेभलबाट सिकाउनुपर्छ । कसैको हात छैन, कसैको खुट्टा चल्दैन, कसैको कम्मरमुनिको भाग चल्दैन,’ श्रेष्ठ प्रशिक्षण अनुभव सुनाउँछन्, ‘पानीभित्र पस्दा उनीहरूको शरीरको सन्तुलन मिलाउन निकै गाह्रो हुन्छ । कतिपय अवस्थामा पानीभित्रै पसेर उनीहरूको हातगोडा समातेर सिकाउनुपर्ने हुन्छ ।‘
चुनौतीका बाबजुद खेलाडीहरूको मेहनतबाट प्रशिक्षक श्रेष्ठ निकै सन्तुष्ट छन् । उनीहरूले हप्ताको ६ दिन, दैनिक डेढदेखि दुई घण्टासम्म कडा प्रशिक्षण लिइरहेका छन् । ‘अहिले खेलाडीहरूको टाइमिङमा निकै सुधार आएको छ । विगतको तुलनामा उनीहरूले धेरै मेहनत गरेका छन् । मलाई विश्वास छ, उनीहरूले एसियाली खेलकुदमा देशका लागि राम्रो नतिजा ल्याउनेछन्,’ श्रेष्ठ भन्छन् । खेलकुद मन्त्रालयमा युवा नेतृत्व आएपछि केही आशा जागेपनि पारा खेलकुदलाई हेर्ने दृष्टिकोणमा अझै ठुलो परिवर्तन देख्न नसकेको उनी बताउँछन् ।
नेपाल राष्ट्रिय पारा ओलम्पिक कमिटीका बोर्ड सदस्य तथा राष्ट्रिय पारा पौडी सङ्घका अध्यक्ष सरोज श्रेष्ठ नेपालमा पारा खेलकुद र अपाङ्गता भएका खेलाडीप्रति राज्य गैरजिम्मेवार रहेको बताउँछन् । आगामी पाँचौँ पारा एसियन गेम्समा नेपालबाट ९ वटा विभिन्न खेलका ३५ जना खेलाडीहरूले सहभागिता जनाउनेछन् । जसमा पौडीबाट २ महिला र २ पुरुष गरी ४ जना सहभागी हुँदैछन् ।
राज्यले शारीरिक रूपमा सबल खेलाडीहरूका लागि ११ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गर्दा पारा खेलकुदका लागि भने ३५ लाख रुपैयाँ मात्र छुट्याएको छ । ‘३५ लाख रुपैयाँ त हाम्रा ३५ जना खेलाडीहरूको हवाई टिकट र जापान बस्दा लाग्ने दैनिक ५० डलरको एक्युम्युलेसन चार्ज तिर्न पनि पुग्दैन,’ अध्यक्ष श्रेष्ठ भन्छन्, ‘हाम्रा खेलाडीहरूलाई ह्विलचेयर डोर्याउन, लुगा फेरिदिन र खानपानमा सहयोग गर्न सहयोगीको आवश्यकता पर्छ । तर बजेट अभावका कारण हामीले सहयोगीहरू लैजान सक्ने अवस्था छैन । प्रशिक्षक र अफिसियल आफैँले खेलाडीको हेरचाह र ह्विलचेयर बोक्ने काम गर्नुपर्ने बाध्यता छ ।‘
नेपालमा पारा खेलाडीहरूका लागि प्रशिक्षण गर्न आवश्यक भौतिक पूर्वाधारको समेत अभाव छ । सातदोबाटोमा रहेको सरकारी पौडी पोखरी अपाङ्गतामैत्री छैन । ह्विलचेयर प्रयोग गर्ने खेलाडी त्यहाँ सहजै जान सक्दैनन् । नेपालमा पारा खेलकुदको इतिहासमा हालै मात्र पारा तेक्वान्दो खेलाडीले पेरिस प्यारालम्पिकमा ऐतिहासिक कास्य पदक जितेर नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चमा स्वर्ण अक्षरले लेखेका छन् । यो पदकले प्रमाणित गरिसकेको छ- अवसर र लगानी पाउने हो भने पारा खेलाडीहरूले देशलाई जुनसुकै स्तरको सफलता दिलाउन सक्छन् ।
तर यति ठुलो सफलताका बाबजुद राज्यले अझै पनि पारा खेलकुदलाई प्राथमिकतामा राखेको छैन । खेलाडीहरू भन्छन्, ‘हामी सडकमा अपमानित हुन चाहँदैनौँ । हामी चाहन्छौँ कि हामी प्रशिक्षण गर्न आउँदा सार्वजनिक गाडीहरूले हामीलाई सम्मानका साथ चढाऊन् । सरकारले हाम्रा लागि अपाङ्गतामैत्री खेलकुद मैदान र उचित बजेटको व्यवस्था गरोस् ।‘
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाे बढाउँदै चलचित्र ‘गौँथली’
-
बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर–७२–६००
-
युवालाई प्रविधिसँग जोड्दै सामसङ, कोडिङ र प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न
-
रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भत्र्सना
-
मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु
-
मुकबाङ भिडियोका लागि ३ वर्षीया छोरीको तौल ३५ केजी पुर्याएपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण