एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
सारांश
- पोखरामा एसिया र युरोप घुमाउने लोभ देखाएर अनलाइन ठगी गर्ने गिरोहका दुई सदस्य पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा विवेक रेग्मी र भारतीय नागरिक मोहम्मद याशिर छन्, जसले 'ओएसिस टुरिजम इन्टरनेसनल' मार्फत ठगी धन्दा चलाइरहेका थिए।
- उनीहरूले कुपन भर्न लगाएर हालसम्म ३० जनाबाट ९ लाख ६५ हजार रूपैयाँ ठगी गरेको र १५ जना युवायुवतीलाई अवैधानिक क्रियाकलापमा संलग्न गराएको प्रहरीले जनाएको छ।
कास्की । पोखरामा एसिया र युरोप महादेशका देशहरूमा घुम्न लैजाने भन्दै अनलाइन स्क्याम गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले शुक्रबार पोखरा महानगरपालिका वडा नं. ५ प्रस्याङस्थित पुस्पेन्द्र कोइरालाको घर भाडामा लिई ठगी गरिरहेका दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कञ्चनपुर जिल्लाको कञ्चनपुर नगरपालिका वडा नं. १२ बस्ने २६ वर्षका विवेक रेग्मी र भारतको कर्नाटक राज्य, महेश्वर जिल्ला, शान्तिनगर बस्ने ३० वर्षका मोहम्मद याशिर रहेका छन्।
उनीहरूले ‘ओएसिस टुरिजम इन्टरनेसनल’ नामको संस्था स्थापना गरी १५ जना युवायुवतीलाई समेत खटाएर अनलाइन माध्यम तथा फोनबाट ठगी धन्दा चलाइरहेका थिए। उनीहरूले विभिन्न व्यक्तिलाई सम्पर्क गरी ‘३ एन/४ डि होलिडे भौचर फिल एन्ड विन रजिस्टर एन्ड विन एश्योर्ड गिफ्ट’ लेखिएको कुपन भर्न लगाउने गरेका थिए।
यसरी एसिया र युरोपका विभिन्न देश भ्रमण गराउने प्रलोभनमा पारी कुपन भर्न लगाएर हालसम्म ३० जनाबाट नगद ९ लाख ६५ हजार रूपैयाँ ठगी गरिसकेको प्रहरीले जनाएको छ। साथै उनीहरूले १५ जना बेरोजगार युवायुवतीलाई रोजगारीको लोभ देखाएर वैधानिक काम भन्दै अवैधानिक क्रियाकलापमा संलग्न गराएका थिए।
प्रहरीले उनीहरूको डेराबाट २ थान कम्प्युटर मनिटर, ८ थान विभिन्न रजिस्टर तथा रेकर्ड बुक, ६ थान कुपन रसिद, ४ थान स्ट्याम्प छाप र विभिन्न व्यक्तिका नाममा काटिएका कुपनका अर्धकट्टी बरामद गरेको छ। प्रहरीले पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार माझी पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
-
बिहारमा विद्यार्थी आन्दोलन हिंसात्मक : प्रहरीद्वारा १० राउन्ड हवाई फायर, एसपी घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण