शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राजीनामा दिँदै कँडेलले भने : बाहिरबाट कर्णाली जति सुन्दर छ, भित्र त्यति छैन (पूर्णपाठ)

शनिबार, ०९ साउन २०८३, २१ : २१
शनिबार, ०९ साउन २०८३

सारांश

  • कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले शनिबार आफ्नो पदबाट राजीनामा दिएका छन् ।
  • नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले साउन ३२ गते कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
  • कँडेलले दलहरूको गतिविधिलाई लक्षित गर्दै कर्णाली बाहिरबाट हेर्दा जति सुन्दर छ, भित्र बुझ्दा त्यति नै जटिल छ भनेका छन् ।

सुर्खेत। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले शनिबार आफ्नो पदबाट राजीनमा दिएका छन् । 

नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले असार ३२ गते उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । शनिबार बसेको प्रदेश सभामा उक्त प्रस्तावमाथि छलफलका क्रममा आफ्नो भनाइ राख्दै कँडेलले पदबाट राजीनामा दिए । 

कँडेल २ वर्ष ३ महिना बराबर सत्ताको नेतृत्वमा रहे । यो अवधिमा उनले साविक माओवादी र त्यसपछि नेपाली कांग्रेसँग सत्ता सहकार्य गरे । २०८० चैत्र २७ गते उनी तत्कालीन माओवादीको समर्थनमा मुख्यमन्त्री बनेका थिए । 

यद्यपि लगत्तै केन्द्रमा कांग्रेस–एमालेबिच सत्ता समीकरण बनेपछि माओवादी सत्ताबाट बाहिरियो भने ०८१ साउनमा कँडेलकै नेतृत्वको सरकारमा कांग्रेस सहभागी बन्यो । चार मन्त्रालयसहित सहभागी कांग्रेसले असार ३१ गते आफ्ना मन्त्रीलाई फिर्ता बोलायो । 

लगत्तै पछिल्लो दिन (असार ३२) मा प्रमुख प्रतिपक्ष दललाई मनाएर कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्‍यो । साथै, मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई प्रस्ताव गरिएको थियो ।
नेकपा र कांग्रेस मिल्दा कँडेलले सत्ता जोगाउने अवस्था नरहेपछि शनिबार राजीनामा दिए । 

त्यस क्रममा कँडेलले यी सबै विषयबारे प्रस्ट पारेका छन् । कँडेलले दलहरूका गतिविधिलाई लक्षित गर्दै भने–कर्णाली बाहिरबाट हेर्दा जति सुन्दर छ, मेरो दुई वर्षको मेरो अनुभूतिमा भित्रबाट बुझ्दा त्यति नै जटिल छ । 
सत्तामा रहँदा सहयोग र असहयोग दुवैको सामना गरिएको उल्लेख गर्दै उनले आफ्नो कार्यकालमा स्थापित थिति र विधिमा केही सुधार गर्ने प्रयास गरिएको बताए । 

उनको सम्बोधन जस्ताको त्यस्तै 

सभामुख महोदय,
संविधान र कानुनी व्यवस्था अनुसार प्रदेश सभाबाट सरकार निर्माण हुने, यही सभाको विश्वास जितेर सरकार अगाडि बढ्नुपर्ने वैधानिक व्यवस्था छ । ममाथि अविश्वासको प्रस्ताव दर्ता भएपछि स्वयं प्रस्ताव पेस गर्नुहुने माननीयहरूले र अरूहरूले टिप्पणी गर्ने कुरा त्यो सामान्य र स्वाभाविक प्रक्रिया हो । यद्यपि यो विषयमा मौनता साँधेकै अर्थमा पनि कतिपयले बुझिरहेका छन्, लेखिरहेका छन् र प्रतिक्रिया दिइरहेका छन् । तर आज सम्मानित सदन चलिरहेकै बेला आफ्ना धारणा संसदमा राख्नु मैले उपयुक्त ठानेँ । हाम्रो निर्वाचन प्रणालीका आधारबाट गएको प्रदेश सभा होस् वा अहिलेको प्रदेश सभा होस्, जनताको मतको परिणामका आधारबाट एकल पार्टीको सरकार बन्ने अवस्था छैन । यद्यपि गत फागुन २१ गतेको निर्वाचनमा यही निर्वाचन प्रणालीका आधारबाट त्यो सम्भव त देखियो । हामी सबै जानकार छौँ, अहिले देख्दा सामान्य तर देश विषम परिस्थितिमा उपस्थित छ ।

आजसम्मका कामकारबाहीहरू एकाध बाहेक सर्वसम्मत ढङ्गले नै भइआएको अवस्था छ । प्रदेश सरकारको सबैभन्दा महत्त्वपूर्ण र चासोको विषय बजेट पनि सर्वसम्मत ढङ्गले पास गर्‍यौँ । विषयवस्तु सर्वसम्मत ढङ्गले पास गर्ने, तर माननीयज्यूहरूले पाउनुभयो त्यो हक राख्न पाउनुभयो–अविश्वास गरेको अवस्था पनि देखियो । 

म आजकै सन्दर्भमा धेरै चर्चा गर्न चाहन्न नै । त्यो समयक्रममा विषयले माग गरेछ भने त्यतिबेला भनौँला । भन्नुपर्ने एउटा परिस्थिति रहन्छ । मैले आफ्नो कार्यकालमा दुवै दलसँग सहकार्य गर्ने अवसर मिल्यो । यो अवसर यहाँका कारणले होइन, केन्द्रीय राजनीतिको कारणले त्यो अवसर मिल्यो । एकले अर्कोलाई केन्द्रीय तहको राजनीतिक परिवर्तनका कारणले, विचार मिलेको भए पनि संगत फेर्नुपर्ने परिस्थिति बनेअनुसार अहिलेको नेपाली कम्युनिस्ट पार्टीसँग पनि संगत गरियो, कांग्रेससँग त अस्ति भर्खरसम्म हामी संगत गरेकै अवस्था थियो । 

नियमावली र कानुनी व्यवस्थाका आधारबाट फलानोसँग अविश्वास रह्यो, त्यसकारणले हामीले यो प्रस्ताव पेश गर्‍यौँ । हाम्रो सहकार्यमा रहँदा दुवै सहयात्रीहरूसँगको सहकार्यमा आफ्ना–आफ्ना किसिमका अनुभव छन् । कर्णाली जति सुन्दर छ बाहिरबाट हेर्दा–यो दुई वर्षको मेरो अनुभूति आज पहिलोपटक भन्दैछु–भित्र बुझ्दा त्यति सुन्दर छैन । बाहिर सुन्दर छ, तर भित्र बुझ्दा त्यति सुन्दर छैन । 

तर पनि हामीले यसलाई सुन्दर बनाउनुपर्ने छ । त्यसका निम्ति एकल प्रयत्नका आधारबाट होइन, सामूहिक सहयात्राका आधारबाट अगाडि बढ्नुपर्ने अवस्था रहन्छ । हो, यो बीचमा तपाईँहरूको पनि सहयोग–असहयोग दुवै रह्यो । हामीले हाम्रो थिति र विधिलाई केही सुधार गर्ने कोसिस गर्‍यौँ । त्यसमा कतिपयलाई त्यो असहज र अप्ठ्यारो पनि लागेको अवस्था होला नै । म त्यस्तो देख्छु । 

कसैलाई प्रभाव पार्ने बाटोमा म आज पनि छैन, हिजो पनि थिइनँ । बरु त्यसको मार मैले भोगेको छु । बिहान मसँग कुनै ठाउँमा वार्ता गर्ने, दिउँसो वार्ता गर्ने, बेलुका म रहेकै पार्टीका माननीयहरूलाई अन्यत्र लगेर सरकार बनाएको दृष्टान्त रहेको प्रदेश पनि हो यो । दृष्टान्त हो यो । 

अहिले मेरो घर जल्यो, मसँग ती अभिलेख छैनन् । तर कतिपय साथीभाइहरूले गर्नुभएका हस्तलिखित साथीको घरमा त होला, किनभने उहाँहरूको घर जलेको छैन । मेरो त घर जलेको हुनाले मसँग मेरा अभिलेखहरू छैनन् नै । त्यो व्यहोरेको एउटा अवस्था हो । 

पछिल्लो चोटी कांग्रेससँग हामी सहयात्रामा सामेल हुँदा करिब दुई वर्ष सरकार सञ्चालन गरियो । साथीहरूले बोल्नुभएका, गर्नुभएका सबै कुरा हामी हाम्रा अगाडि कतिपय रेकर्डेड छन्, कतिपय सम्झन सकिन्छ नै । हाम्रा कारणले यहाँको सहकार्य गर्ने कुराको अवसर होइन । त्यसकारणले मैले बजेट पास हुनुभन्दा अगाडिको सार्वजनिक कार्यक्रममा सत्तासँग संलग्न रहेका कांग्रेस र एमालेका माननीय सदस्यहरूको विचार सबैले सुन्ने गरी नै कार्यक्रमको आयोजना गरेका थियौँ हामीले । तर त्यतिबेला बजेटलाई प्राथमिकतामा लिएर हामी अगाडि बढ्यौँ । बजेट बनाउँदा कस्तो अवस्था थियो, अब आज भन्नुहुन्छ कि भन्नुहुन्न उहाँको कुरा हो । तर कतिपय मन्त्रीज्यूहरूको जुन अनुभूति मैले त साक्षात्कार रूपले व्यहोरिरहेको अवस्था छ । 

सरकार प्रमुखका हिसाबले नैतिक जिम्मेवारी लिनुपथ्र्यो होला नै । तर बजेट निर्माणको हिजोको लागि पनि, आजको र भोलिका लागि पनि कतिपय प्रक्रिया तपाईँले सुनेका बेला थाहा पाए जस्तै थाहा पाउने भूमिका रहँदो रहेछ । बजेट बनाउँदा महत्त्वपूर्ण भूमिका खेल्ने साथीहरू त्यही बजेटलाई नै देखाएर आज अर्को ठाउँमा पुग्ने परिस्थिति पनि बनेछ त ! सचिवहरू टुलुटुलु हेरेर अर्कैले काम गरेको दृष्टान्त पनि व्यहोर्दै आएको अवस्था हो । 

तर त्यसका बाबजुद बजेट पास गर्दा एकदिन दुःखद घटना घट्यो । घटना घटाउनमा पनि सामेल हुने, मलमपट्टी लगाउनमा पनि सामेल हुने मेरो कुरा छैन । मेरो त्यस्तो कुनै उद्देश्य छैन । कहिलेकाहीँ सभा असहमत र विरोधका बाबजुद अगाडि किन नबढ्ने ? विगतमा पनि गरिएको प्रयत्नमा हामीले बजेट पास गर्दा एकदिन अभ्यास गर्‍यौँ । जे दृश्य देखियो, त्यो दृश्य लगत्तै सभामुखको उपस्थितिमा एउटा बैठक हुँदा मैले प्रतिपक्ष दलका नेतालाई भनेँ– कसैसँग परामर्श गरेर होइन, मैले वस्तुस्थिति बुझेँ, थाहा पाएँ । मैले उहाँलाई भनेँ–हाम्रो सभा हल जस्तो छ, विरोधको रूपमा जे प्रकट र जे घटना भयो, त्यसैलाई नै निरन्तरता दिने कुरा अब हुन्न । त्यसो हुँदा कि थप सभा कक्षमा घटना घटाउनुपर्ने हुन्छ, कि कुनै बहानाबाजी गरेर संविधानको अर्को कुनै दफाबाट, प्रदेश सभाबाट होइन अन्त कतैबाट बजेट ल्याउने कुरा–यी दुवै कुरा मबाट हुँदैन । 

तपाईँहरूसँग विषयमा सहमत भएको, प्रक्रियामा असहमत भएको । जे घटना घट्यो र जे परिस्थिति छ, अब म त्यो प्रक्रियामा सामेल हुन्न । किनभने हामीले हिजो निकै मिहिनेत गरेर आफ्नो तहको सुधारका निम्ति बजेट निर्माणका सम्बन्धमा केही कुराहरू गर्‍यौँ । तर त्यो कार्यान्वयन भएन । नभएपछि कार्यान्वयन नहुने कागज मात्रै नगरौँ न त भन्ने मेरो मनसाय हो । तर साथीहरूले भन्नुभयो– हाम्रो अरू कुरा केही छैन, कागज गरे हुन्छ । हुन्छ, किनभने अध्यादेश नजाने, प्रदेश सभाको जे विरोधको रूप र अवस्था देखियो त्यसका आधारबाट विरोधका बाबजुद सभा चल्न सक्ने अवस्था देखिएन । मैले पाँच बुँदे वा छ बुँदेमा कागज गर्ने कुरा सहज कुरा ठानेँ । हामीले सर्वसम्मत बजेट पास गर्‍यौँ । 

बजेट पासपछि म केही दिन काठमाडौँ गएँ, आएको भोलिपल्ट सत्ता साझेदार दलको नेतासँग कुराकानी भयो नै । त्योभन्दा अगाडि पनि त्यो विषयमा विचार राख्दै आएको थिएँ नै । समयावधि सकियो । दुई पार्टीको केन्द्रीय तहमा गरेको समयावधि सकियो । त्यसमा म राम्रोसँग जानकार छु । त्यसैले मैले पार्टीको अध्यक्ष, आफ्नो पार्टीमा चैतको महिनामा समयावधि सकियो, तपाईँहरूको जेन्टलम्यान एग्रीमेन्ट के हो ? असहजता नहुने गरी अगाडि बढ्ने कुरा बेलैमा सोच गर्नुस् भनेको हो । 

हाम्रो कुरा भयो । मैले उहाँलाई तीनवटा कुरा राखेको थिएँ । एउटा त नेतृत्व लिने कुरा अन्तर प्रदेशसँग सम्बन्धित छ । तपाईँले पनि पहल गर्नुस्, मैले आफ्नो समयावधि बढाउने कुराको कुनै मिहिनेत गर्दिनँ । तर यहाँ दुईजना बसेर गर्ने कुरा त्यति व्यावहारिक देखिरहेको छैन–एउटा कुरा राखेँ । अर्को, मन्त्री परिवर्तन गर्ने कांग्रेसको कुरा हो भने आफ्नो कुरा हो, आफ्नो ठाउँमा समयमा गर्न सक्नुहुन्छ । तर अहिले जे व्यवस्था छ, त्यही व्यवस्थाअनुसार एमालेका मन्त्रीहरू परिवर्तन हुन सक्छन् । यो कुरा मैले गरेँ, अरू हामीले सुख–दुःखका कुराहरू गर्‍यौँ, आफ्ना–आफ्ना पार्टीका कुरा गर्‍यौँ, देशका अवस्थाका कुराकानी गर्‍यौँ, परिस्थितिका कुरा गर्‍यौँ । हामीले गरेका भूमिकाका बारेमा कुनै डिमार्केसन नराखीकन हामीले छलफल गर्‍यौँ । यति कुरा भएको थियो । 

भोलिपल्ट मन्त्रिपरिषद्को बैठक थियो, साथीहरू दौरा–सुरुवाल लगाएरै आउनुभयो । बैठकमा आउनुभयो होला भन्ने ठानियो । साथीहरूले भन्नुभयो– हामी त राजीनामा बोकेर आएका छौँ । तर बैठकमा बस्ने गरी पनि आएको हो भन्नुभयो । मैले भनेँ– बैठक सकेर बुझाउनुस् न त । होइन, हामी बस्ने त हो, पहिला बुझाउँछौँ न त भन्नुभयो । मैले त्यसलाई अन्यथा ठानिनँ । बुझियो, फोटो खिचाइयो । साथीहरूले त्यो भनिसकेपछि राजीनामा दिइहालियो अब बैठकमा कसरी बस्ने ? मैले भनेँ– अनुरोध गर्ने कुरा हो, विचार तपाईँको कुरा हो । त्योभन्दा अगाडि त्यो तहमा पुगेको कुनै जानकारी ममा थिएन । हुनुपर्छ भन्ने पनि छैन । आफ्नो–आफ्नो पार्टीको कुरा त हो । 

तर यति लामो समयसम्म सहकार्य गर्दै आएको एउटा अवस्थामा त्यही ठाउँमा गर्नु थियो भने पनि हामी त यो बिन्दुमा पुग्यौँ, केही कुरा चित्त बुझेको थिएन भने पनि तपाईँको यो कुरा चाहिँ चित्त बुझेन है, हामी त यो ठाउँमा पुग्यौँ भन्ने कुरा गरेको भए बिग्रँदैनथ्यो होला । अब मन्त्री साथीहरू जो राजीनामा बोकेर आउनुभएको थियो, उहाँहरूले भन्नुभएको कुरा यहाँ अहिले नभनौँ । मैले सोधेँ किन त ? हिजो त भेटघाट भएकै थियो, हाम्रो कुराकानी भएकै थियो भन्ने भयो । उहाँहरूले कुराकानी गर्नुभयो । 

भोलिपल्ट प्रमुख प्रतिपक्षी दलको नेतासँग मेरो भेटघाट भयो । उहाँले अलि सविस्तार, हुबहु सबै कुरा बताइदिनुभयो । ए, ठीकै छन् त भनेँ मैले उहाँलाई । वा अलि लामो समयको पूर्वअभ्यास देखियो । मैले थप उहाँहरूलाई गरिनँ । के हो त भन्ने एउटा परिस्थिति रह्यो । 

आज म फेरि तपाईँहरूसँग खाली मेरो विचार राख्न चाहन्छु कि आज यद्यपि यहाँ प्रदेशको अधिकार क्षेत्र, व्यवस्थाका कुरा उठिरहेका छन् । संविधान माथि नै संघीय सरकारले बज्र ठोकिरहेका बेला पार्टीहरू भदौ २३ र २४ गतेपछि आफ्नो–आफ्नो हालत–अवस्था रहिरहेको एउटा अवस्थामा म आज पनि के देख्छु त भन्दा संविधान पक्षधरहरू, लोकतन्त्रवादी र वामपन्थीहरूको एकजुटता । यद्यपि सरकारमा भएपछि एकैचोटि विरोधी भइहाल्ने भन्ने मेरो विचार त छैन । त्यस्तो एउटा अवस्था रहेको बेला साथीहरूले जे प्रतिक्रिया व्यक्त गर्नुभयो, त्यसको खण्डन गर्दै हिँड्नुपर्ने मैले उपयुक्तता देखिनँ । 

यही कुरा आज फेरि पनि दोहोर्‍याउन चाहन्छु, यही कुरा प्रमुख भएको भए २० सिट हुँदा दुई घण्टा बिताएको भए त्यो ठाउँमा पुगिन्थ्यो । त्यतिबेला पनि आन्दोलनै ठानियो । आज पनि जे आउँछ त्यसैको सिन्दुर लाउँदै हिँड्ने स्वभाव पनि छैन, भित्र पनि छैन । जो आयो त्यसैलाई नमस्कार गरेर । आज सबै लोकतन्त्रवादीहरूले आफ्नो निष्ठा बचाउने कुरा, आदर्श बचाउने कुरा, सिद्धान्त बचाउने कुरा प्रमुख बनिरहेको छ । कतिलाई जो आउँछ त्यसैलाई नमस्ते गर्ने पनि होला, त्यो तपसिलको विषय हो । म त्यस्तो देख्छु । 

देशमा दुईवटा शक्ति छन् नै । एउटा लोकतन्त्रवादी शक्ति छँदैछ, एउटा वामपन्थी शक्ति । देश र जनताका निम्ति यी दुवै शक्ति मिल्दै पनि आएका छन् । मिल्दै जानुपर्ने अझ टड्कारो रूपमा रहिआएको एउटा अवस्था छ । त्यस्तो अवस्थामा आफ्नो तहबाट त्यो आन्दोलनलाई सुदृढ र बलियो बनाउने कुरा प्रमुख कुरा हो भन्ने म ठान्दछु ।

त्यसकारणले सभामुख महोदय,

हामीले यो यात्रा यहाँसम्म आएको मैले भनेको कुरा यही हो । अब आज देशभरिको परिस्थिति हेर्दा यहाँ दुई पार्टी मिलेर एउटा भइरहेको सरकारप्रति समर्थन छ, त्यो कांग्रेसको नीति हो भने यहाँ गरेको हतार–त्यो लुम्बिनीमा आजका मितिमा देखिँदैन, त्यो कोशीमा आजका मितिमा पनि देखिँदैन । गण्डकीले पुनर्गठित गर्दाखेरि पनि त्यहाँ त्यो देखिएन । कांग्रेसको नीति हो, एमाले रहेको ठाउँमा सबै छोड्ने हो भने त्यहाँ त आजका मितिसम्म पनि कायम हुनुहुन्छ । 

नेपाली कम्युनिस्ट पार्टीको त्यो नीति हो भने सुदूरपश्चिममा रहेको सरकारका विरुद्ध उसले आवाज उठाइरहेको छ, त्यसको नीति जस्तो पनि देखिएन । सायद प्रदेशवाइजको नीति होला भन्ने अर्थमा मैले बुझेँ । देखिएन त । हो अहिले पछिल्लो चोटी आफ्नै फेरि परिस्थितिले मान्छेहरूलाई त्यो ठाउँमा पुर्‍याएको एउटा अवस्था म चाहिँ त्यस्तो देख्छु । 

दुई वर्षको बीचमा मान्नुस् वा नमान्नुस्, धेरैले स्वीकार गरेको कुरा के हो भने कर्णालीप्रतिको र हामी जनप्रतिनिधिहरूको योजना र विकास र निर्माणका सम्बन्धलाई आधार बनाएर लेख्ने नकारात्मक टिप्पणी त थोरै भए पनि घटेको त छ नि । तर त्यसले धेरै साथीभाइहरूलाई असहज बनाइरहेको छ । एकातिर सकारात्मक कुरा छ, त्यसकारणले आगामी दिनमा साथीहरूको जो सहयात्राको यात्रा प्रारम्भ गर्दै हुनुहुन्छ प्रदेशको आधारबाट, त्यसमा म शुभकामना दिन चाहन्छु ।

अन्तिममा सबैको भरविश्वास लिएर आजका मितिसम्म आफ्नो तर्फबाट तपाईं कोही जनप्रतिनिधिहरूलाई आँच नआउने गरी वा कोही कर्णालीवासीहरूलाई आँच नआउने गरी–यति चाहिँ मैले भन्न सक्छु–काम गर्ने जुन अवसर प्राप्त भयो, त्यसका निम्ति म सबै साथीहरूलाई धन्यवाद दिन चाहन्छु । यद्यपि सभामा कहिलेकाहीँ नोकझोक हुँदा यो भयो त्यो भयो भन्ने सुनियो । भोलि त्यसलाई निर्मूल गर्नुपर्ने अवस्था रहन्छ ।

तर हाम्रो देशमा लोकतन्त्रवादी साथीहरूले के गर्नुहुन्छ आफ्नो ठाउँमा छ, तर नेपालको कम्युनिस्ट आन्दोलनमा, वामपन्थी आन्दोलनमा समस्या छन् हाम्रामा पनि । तर आफ्ना तर्फबाट त्यसलाई बल पुग्ने गरी, त्यसलाई अनुकूल वातावरण बनाउने गरी छलफल चलेका छन्, छलफल चल्छन् र ढिलो चाँडो संविधान पक्षधरहरू एकै ठाउँमा जानेर होइन, परिस्थितिले पुर्‍याउने परिस्थिति छ ।

त्यसकारणले मेरो सबै साथीहरूलाई फेरि पनि अनुरोध र आग्रह के गर्न चाहन्छु त भन्दा हाम्रो देशको अहिलेको अवस्थाको आधारबाट खुला–खुलासा एकआपसमा छलफल कुराकानी गरेर जाने कुरा समयले माग गरिरहेको छ । थोरै मात्रै गुनासो मात्रै के हो त भन्दा सँगसँगै हिँड्दा हिँड्दै अब छापामारसँग संगत गरेर यो छापामार शैली गर्न केही जरुरी थिएन ।

प्रस्ताव मसँग पनि नआएको होइन । तर मैले उहाँहरूलाई भनेँ, यस सभाबाट भन्न चाहन्छु–जब यत्तिको साथीहरूले मप्रति यो प्रस्ताव राखिसकेपछि राजीनामा दिएको कुरा घोषणा गर्न चाहन्छु । त्यसको प्रक्रिया पूरा गर्न यहाँबाट प्रदेश सभाकै प्रदेश प्रमुख समक्ष अगाडि बढ्ने कुरा म यहाँहरूलाई जानकारी गराउँदै सबैलाई धन्यवाद दिँदै बिदा हुन चाहन्छु । धन्यवाद ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप