असारमा सुस्त बनेको रोपाइँ सक्रिय मनसुनसँगै साउनमा ह्वात्तै बढ्यो
सारांश
- मनसुनी वर्षा सक्रिय भएसँगै नेपालमा धान रोपाइँको रफ्तार ह्वात्तै बढेको छ ।
- असारको अन्तिम सातासम्म अघिल्लो वर्षको तुलनामा पछाडि रहेको रोपाइँ साउनको पहिलो सातासम्म आइपुग्दा अघिल्लो वर्षको प्रतिशतभन्दा अगाडि बढेको छ ।
- निरन्तरको मनसुनी वर्षाले रोपाइँको गति तीव्र बनाए पनि अविरल वर्षाले प्राकृतिक विपद्को जोखिम बढाएको छ ।
काठमाडौँ । लगातारको मनसुनी वर्षापछि नेपालमा धान रोपाइँको रफ्तार ह्वात्तै बढेको छ ।
यस वर्ष नेपालमा मनसुनको सुरुआती चरण सुस्त हुँदा रोपाइँ गत वर्षको तुलनामा निकै कम भएको थियो । मनसुन ढिलो सक्रिय भए पनि असारको मध्यपछि मनसुनी प्रणाली देशभर पूर्ण रूपमा सक्रिय भएसँगै धान रोपाइँको गति बढेको हो ।
असारको दोस्रो सातासम्म पर्याप्त वर्षा नहुनुका साथै सिँचाइ सुविधाको अभावका कारण कुल रोपाइँयोग्य भूभागको आधा हिस्सामा पनि रोपाइँ हुन सकेको थिएन । तर, असार १५ गतेपछि देशभर व्यापक रूपमा मनसुनी वर्षा सुरु भई साउनको पहिलो साता बित्दा नबित्दै रोपाइँको रफ्तार सोचेभन्दा निकै तीव्र बनेको कृषि विभागले जनाएको छ ।
कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको कृषि विभागको तथ्याङ्कअनुसार असारको अन्तिम साता अघिल्लो वर्षको तुलनामा निकै पछाडि परेको रोपाइँ साउनको पहिलो सातासम्म आइपुग्दा अघिल्लो वर्षको रोपाइँ प्रतिशतभन्दा अगाडि बढेको छ ।
- सुरुमा सुस्त, पछि अघिल्लो वर्षभन्दा तीव्र
असारको अन्तिम सातासम्मको तथ्याङ्कलाई नियाल्दा यस वर्ष धान रोपाइँको सुरुआत निकै सुस्त देखिएको थियो । कृषि विभागका अनुसार असार २६ गतेसम्म देशभरका कुल १३ लाख ७० हजार ६२ दशमलव १३ हेक्टर रोपाइँयोग्य क्षेत्रफलमध्ये जम्मा ४९ दशमलव ८१ प्रतिशत अर्थात् ६ लाख ८२ हजार ३७४ दशमलव ७८ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सम्पन्न भएको थियो ।
जबकि अघिल्लो वर्ष अर्थात् २०८२ असार २९ गतेसम्मको विवरणअनुसार कुल १३ लाख ८३ हजार ७३२ दशमलव ९८ हेक्टर रोपाइँयोग्य भूभागमध्ये ५९ दशमलव २८ प्रतिशत अर्थात् ८ लाख २० हजार २१४ दशमलव ७१ हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको थियो । अघिल्लो वर्षको यही अवधिको तुलनामा असार २६ सम्म ९ दशमलव ४७ प्रतिशत कम रोपाइँ भएको थियो ।
असारको अन्तिम सातासम्म प्रदेशगत रूपमा भएको रोपाइँको तुलना गर्दा सुदूरपश्चिमबाहेक अन्य प्रायः सबै प्रदेशहरूमा २०८२ को तुलनामा २०८३ मा रोपाइँको प्रगति पछाडि रहेको थियो । कोशी प्रदेशको रोपाइँयोग्य क्षेत्रमध्ये ३१ प्रतिशतमा मात्रै रोपाइँ भएको थियो, जबकि २०८२ असार २९ सम्म त्यहाँ ४१ दशमलव ३२ प्रतिशत रोपाइँ भइसकेको थियो ।
देशको मुख्य अन्नभण्डार मानिने मधेस प्रदेशमा यस वर्ष असार २६ सम्म केवल ३२ दशमलव ७६ प्रतिशतमा रोपाइँ भएको थियो भने गत वर्ष यही अवधिमा ३४ प्रतिशत रोपाइँ भइसकेको थियो ।
बागमती प्रदेशमा भने पहाडी क्षेत्रमा वर्षा भएकाले गत वर्षको तुलनामा यसपालि रोपाइँ केही छिटो भएको थियो । लुम्बिनी प्रदेशमा असार २६ सम्म ५९ दशमलव ६० प्रतिशत रोपाइँ भएको थियो भने गत वर्ष यही अवधिमा ७३ दशमलव ६८ प्रतिशत पुगेको थियो ।
कर्णाली प्रदेशमा असार २६ सम्म ६० दशमलव २१ प्रतिशत रोपाइँ भएकोमा अघिल्लो वर्ष ८३ दशमलव २३ प्रतिशत भइसकेको थियो । सुदूरपश्चिम प्रदेशमा भने असार २६ सम्म ८७ दशमलव ७९ प्रतिशत रोपाइँ भएको थियो, जहाँ गत वर्ष असार २९ सम्म ९३ दशमलव १० प्रतिशत रोपाइँ सकिएको थियो ।
- साउन लागेपछि तीव्र बन्यो रोपाइँ
असारको अन्त्यसम्म सुस्त रहेको रोपाइँको स्थिति साउन लागेसँगै पूर्ण रूपमा बदलिएको छ । असार १५ पछि मनसुन लगातार सक्रिय भई देशका अधिकांश भूभागमा पर्याप्त वर्षा भएपछि साउनको पहिलो साताभित्रै रोपाइँको दरमा असाधारण वृद्धि आएको हो ।
कृषि विभागको साउन ८ गतेसम्मको तथ्याङ्कअनुसार देशभरका कुल १३ लाख ६६ हजार ५६२ दशमलव १३ हेक्टर रोपाइँयोग्य क्षेत्रफलमध्ये ८३ दशमलव ३० प्रतिशत अर्थात् ११ लाख ३८ हजार ३६३ दशमलव १८ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भइसकेको छ ।
यसको तुलना अघिल्लो वर्ष २०८२ साउन ११ गतेसम्मको आँकडासँग गर्दा यस वर्ष रोपाइँको कुल प्रगतिले अघिल्लो वर्षलाई समेत उछिनेको देखिन्छ । २०८२ साउन ११ गतेसम्म देशभर जम्मा ७८ दशमलव ८४ प्रतिशत भूभागमा मात्रै रोपाइँ हुन सकेको थियो, जबकि यस वर्ष साउन ८ गते नै ८३ दशमलव ३० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । अर्थात्, अघिल्लो वर्षको साउन दोस्रो साताको तुलनामा यस वर्ष साउन पहिलो सातामै ४ दशमलव ४६ प्रतिशत बढी क्षेत्रफलमा रोपाइँ भइसकेको छ ।
विशेष गरी मधेस प्रदेशमा मनसुनी वर्षाले रोपाइँको दर उल्लेख्य बढाएको देखिन्छ । असार २६ सम्म जम्मा ३२ दशमलव ७६ प्रतिशत मात्र रोपाइँ भई सुक्खाको मार झेलिरहेको मधेस प्रदेशमा साउन ८ गतेसम्म आइपुग्दा कुल ३ लाख ८२ हजार ४३३ हेक्टर रोपाइँयोग्य भूभागमध्ये ७८ दशमलव ६० प्रतिशत अर्थात् ३ लाख ५८० दशमलव ३५ हेक्टरमा रोपाइँ सम्पन्न भइसकेको छ । अघिल्लो वर्ष २०८२ साउन ११ गतेसम्म मधेस प्रदेशमा केवल ५१ दशमलव ८२ प्रतिशत मात्र रोपाइँ हुन सकेको थियो । यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा यस वर्ष मधेस प्रदेशमा साउन पहिलो साताभित्रै २६ दशमलव ७८ प्रतिशतभन्दा बढी भूभागमा रोपाइँ सकिएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार साउनको दोस्रो सातासम्म पनि मनसुनी वायुको प्रत्यक्ष प्रभाव कायमै रहेको र देशका अधिकांश भागमा निरन्तर वर्षा भइरहेकाले सिँचाइ सुविधा नपुगेका आकाशे पानीमा निर्भर खेतहरूमा समेत किसानहरूले समयमै रोपाइँ गर्न पाएका हुन् ।
विभागका अनुसार असारको मध्यसम्म पश्चिम तराई र मधेसका केही भागमा उच्च तापक्रम र तातो हावा (लु) को असर रहेका कारण खेतहरू सुक्खा थिए भने बिउ ब्याड समेत सुकेका थिए । तर, असारको अन्तिम सातादेखि साउनको पहिलो र दोस्रो सातासम्म निरन्तर परेको मनसुनी वर्षाले भूमिगत जलस्तर बढाउनुका साथै साना–ठुला खोलानाला र नहरहरूमा जलप्रवाह बढाएको छ ।
यही मौसमी अनुकूलताका कारण असार २६ देखि साउन ८ गतेसम्मको दुई साताको छोटो अवधिमै देशभर थप ३३ दशमलव ४९ प्रतिशत अर्थात् ४ लाख ५५ हजार ९८८ हेक्टर खेतमा धान रोपाइँ सम्पन्न हुन सम्भव भएको हो ।
मनसुनले रोपाइँको गति तीव्र बनाए पनि अविरल वर्षाका कारण प्राकृतिक विपद्को जोखिम भने उत्तिकै बढाएको छ । जल तथा मौसम विज्ञान विभागले मनसुन अवधिभर देशका धेरैजसो स्थानमा सरदर वा सरदरभन्दा केही कम वर्षा हुने प्रक्षेपण गरे पनि छोटो अवधिमा हुने अतिवृष्टि र भारी वर्षाका कारण पहाडी भूभागमा पहिरो जाने, भूक्षय हुने, ग्रामीण तथा मुख्य राजमार्गहरू अवरुद्ध हुने र तराईका नदीतटीय क्षेत्रहरूमा डुबान तथा कटानको खतरा उत्पन्न भएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भानुभक्त र घाँसीको सालिक तोडफोड गर्ने एक जना पक्राउ
-
नागढुङ्गा सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै, स्थानीयले विभिन्न माग राखेर गरे विरोध
-
एपीनको सुदूरपश्चिम र कैलाली समिति सर्वसम्मत गठन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
नारायणी अस्पताल घटना: तोडफोड र डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने मन्त्री मेहताको प्रतिबद्धता
-
करोडौँ लैजान्छ संघ सरकार, लाख कमाउन सङ्घर्ष गर्छन् पालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण