मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सन्दर्भ: विश्व हेपाटाइटिस दिवस

समयमै परीक्षण गरौँ, हेपाटाइटिसबाट बचौँ : प्रा.डा. दिलीप शर्मा

मङ्गलबार, १२ साउन २०८३, ११ : ३१
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • विश्व हेपाटाइटिस दिवसले हेपाटाइटिस बी भाइरसका आविष्कारकको जन्मदिन पारेर समाजमा यस रोगबारे चेतना जगाउने उद्देश्य राखेको छ ।
  • हेपाटाइटिस बी र सी दीर्घकालीन असर गर्ने भाइरस हुन् भने ए र ई फोहोर पानी वा दूषित खानाले सर्छन्, जसले विकासोन्मुख देशहरूमा समस्या निम्त्याइरहेको छ ।
  • उच्च जोखिम भएका व्यक्ति, गर्भवती महिला र वैदेशिक रोजगारीमा जानेहरूमा परीक्षण गरी हेपाटाइटिसको सङ्क्रमण पत्ता लगाउन सकिन्छ ।

हरेक वर्ष जुलाई २८ मा मनाइने विश्व हेपाटाइटिस दिवस भाइरल हेपाटाइटिसको जोखिम न्यूनीकरण र जनचेतना अभिवृद्धिका लागि विश्वभर ऐक्यबद्धता जनाउने अवसर हो । हाल यो रोग विश्वकै गम्भीर स्वास्थ्य चुनौती बनेको छ । एचआईभी एड्स, मलेरिया, क्षयरोगजस्तै हेपाटाइटिस रोग पनि विश्वभरिका मानिसहरूलाई मृत्युको सिकार बनाउने डरलाग्दो रोग हो । यसै सन्दर्भमा कलेजो रोग विशेषज्ञ प्रा.डा. दिलीप शर्मासँग कुराकानी गरेका छौँ ।

विश्व हेपाटाइटिस दिवसको अवसरमा छौँ । यो दिवसको सान्दर्भिकताबारे बताइदिनुहोस् न ।

हरेक वर्ष विश्व स्वास्थ्य संगठनले जुलाई २८ लाई विश्व हेपाटाइटिस दिवस भनेर मनाउने गर्छ । यो हेपाटाइटिस ‘बी’ भाइरसको सर्फेस एन्टिजन भन्छौँ, त्यसको आविष्कारक ब्लुमबर्ग भन्ने वैज्ञानिकको जन्मदिन पारेर मनाउने गरिन्छ । यसको विशेष उद्देश्य हेपाटाइटिसको बारेमा समाजमा चेतना जगाउने हो । अहिले पनि हेपाटाइटिसलाई एउटा स्टिग्मा (कलंक), ट्याबु जस्तो मानेर मान्छेहरू लुकाउने, रोगको बेलैमा उपचार नगराउने र परीक्षण नगरेपछि उपचार पनि नहुने समस्या छ । अनि एकदमै धेरै समस्या भइसकेपछि मात्र अस्पताल आउने समुदाय ठूलो भएको हुनाले हेपाटाइटिसको उपचारमा देखिएका जुन अवरोधहरू छन्, तिनलाई चिर्ने उद्देश्यले यो दिवस सचेतनाका लागि मनाउने गरिन्छ ।

आजको दिनमा पनि करिब ३० करोड जति मानिसहरू क्रोनिक हेपाटाइटिसको समस्या लिएर बाँचिरहेका छन् । हेपाटाइटिस ‘बी’ र हेपाटाइटिस ‘सी’ शरीरमा दीर्घकालीन असर गर्ने हेपाटाइटिस भाइरस हुन् । त्यस्तै हेपाटाइटिस ‘ए’ र ‘ई’ भन्ने हुन्छ, जुन फोहोर पानी अथवा सरसफाइको कमीले गर्दा हुन्छ । विकासोन्मुख देशहरूमा यसलाई धेरैजसोले जन्डिसको रूपमा बुझ्ने गर्छन् ।

विशेष गरी सरसफाइमा सुधार हुँदै गएपछि हेपाटाइटिस ‘ए’ र ‘ई’ जस्ता भाइरसहरू कम हुँदै गएको देखिएको छ, तर अझै पनि यो समस्या विकराल नै छ । त्योभन्दा पनि हेपाटाइटिस ‘बी’ र ‘सी’ का बिरामीहरूले अझै पनि परीक्षण गर्न नचाहने, यसको औषधि छैन भनेर वा यसले केही गर्दैन भनेर बेवास्ता गरेर बस्ने गर्दा पछि लिभर सिरोसिस अथवा क्यान्सरसम्म हुने गरेको देखिएको छ । त्यसकारण समाजमा चेतना जगाउन हामीले यो दिवस मनाउने गर्छौँ ।

जसरी अन्य सरुवा रोगहरूलाई प्राथमिकता दिइएको छ, जस्तै एचआईभी एड्सलाई सरकारले महत्त्व दिएर जनस्वास्थ्यको विषय बनाएको छ, हेपाटाइटिसलाई त्यस रूपमा लिएको पाइँदैन । त्यसैले पछिल्ला वर्षहरूमा विश्व स्वास्थ्य संगठनले हेपाटाइटिसलाई पनि बढी प्राथमिकता दिएर विभिन्न कार्यक्रमहरू गर्ने गरेको छ । हामीले पनि वीर अस्पताल लगायत विभिन्न ठाउँहरूमा यो दिवसका अवसरमा कार्यक्रम गर्ने गर्छौँ ।

कुनै व्यक्तिलाई हेपाटाइटिस हो कि होइन भनेर कसरी पहिचान गर्न सकिन्छ ?

यस विषयमा तीनवटा कुरा छन् । एउटा, जो मान्छे ‘हाई–रिस्क बिहेभियर’ (उच्च जोखिमपूर्ण व्यवहार) मा छन्, जस्तै: मेडिकल क्षेत्रमा काम गर्नेहरू, कन्स्ट्रक्सनमा काम गर्नेहरू, यौनकर्मीहरू वा परिवारमा कसैलाई हेपाटाइटिस ‘बी’ को समस्या छ वा कलेजोको समस्याले परिवारका सदस्यको निधन भएको छ भने ती व्यक्तिहरूलाई हामीले स्क्रिनिङ (परीक्षण) गर्नुपर्ने हुन्छ ।

Dr dilip

दोस्रो, अहिलेको सन्दर्भमा गर्भवती महिलाहरूको जाँच (एन्टिनेटल चेकअप) गर्दा धेरैमा हेपाटाइटिस ‘बी’ छ कि छैन भनेर पत्ता लागिरहेको छ । त्यस्तै वैदेशिक रोजगारीमा जाने बेला गरिने स्वास्थ्य परीक्षणबाट पनि यो पत्ता लाग्छ । धेरैजसोमा सुरुवाती अवस्थामा यसको लक्षण देखिँदैन । त्यसैले उच्च जोखिम भएका समुदाय वा नेपालका केही जिल्लाहरू (पहाडी, हिमाली वा तराईका क्षेत्र) जहाँ यसको प्रभाव बढी छ, त्यहाँ स्क्रिनिङ प्रणाली बसाउन सकियो भने धेरैको जनधनको क्षति जोगाउन सकिन्छ ।

हेपाटाइटिसका विभिन्न प्रकार (ए, बी, सी, डी, ई) मध्ये कुन चाहिँ बढी जोखिमपूर्ण मानिन्छ ? अनि यिनीहरूको सङ्क्रमण हुने माध्यम कसरी फरक हुन्छन् ?

मुख्यतः पाँच प्रकारका हेपाटाइटिस भाइरस हुन्छन्— ‘ए’ देखि ‘ई’ सम्म । यीमध्ये ‘ए’ र ‘ई’ फोहोर पानी र दूषित खानाबाट सर्ने गर्छन् । हेपाटाइटिस ‘ई’ मा राम्रो खाना खाइयो र आराम गरियो भने अधिकांशमा यो स्वतः निको हुन्छ ।

हेपाटाइटिस ‘बी’, ‘सी’ र ‘डी’ ले चाहिँ दीर्घकालीन संक्रमणको रूप लिन्छन् । हेपाटाइटिस ‘सी’ को हकमा अहिले १२ हप्ता औषधि खाएपछि पूर्ण रूपमा निको हुन्छ । हेपाटाइटिस ‘बी’ को हकमा भने लामो समय औषधि खानुपर्ने हुन्छ । त्यसैले हेपाटाइटिस ‘बी’ र ‘सी’ ले दीर्घकालीन असर गर्ने हुनाले यिनलाई बढी केन्द्रित गर्नुपर्ने देखिन्छ ।

सङ्क्रमणको माध्यमका बारेमा भन्नुपर्दा ‘बी’ र ‘सी’ शरीरको तरल पदार्थ, असुरक्षित सियो (नीडल), रगत वा रगतजन्य पदार्थबाट अर्को व्यक्तिमा (जसले खोप लगाएको छैन) सर्ने गर्छ ।

हामीले रगत दान गर्दा वा लिँदा स्क्रिनिङ त गर्छौँ, तर प्रयोग गरिने किटहरू कत्तिको गुणस्तरीय छन् र तिनले सही रिपोर्ट दिएका छन् कि छैनन् भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । मुख्य कुरा चाहिँ नागरिकमा सचेतना नै फैलाउनुपर्ने देखिन्छ ।

यसबाट बच्नका लागि के गर्नुपर्ला ?

व्यक्तिले आफ्नो कलेजोलाई स्वस्थ राख्न खानपानमा विशेष ध्यान दिनुपर्छ । सङ्क्रमण भएका व्यक्तिहरूलाई हामी रक्सी नखाने सल्लाह दिन्छौँ । कलेजो बिगार्ने खालका अप्रमाणित औषधिहरू खानु भएन । हाम्रो समाजमा झारपात वा जडीबुटीले मात्र निको हुन्छ भन्ने भ्रम छ, त्यस्ता चिजहरू खानु हुँदैन ।

अर्को कुरा, जन्डिस देखिएपछि बेसार खानु हुँदैन वा धेरै मुख बार्नुपर्छ भन्ने गलत धारणा छ । वर्जित गरिएका (जस्तै रक्सी) बाहेक सफा र स्वस्थ खाना सबै खान पाइन्छ । हेपाटाइटिस भएका बिरामीहरूले समयमै परीक्षण गराउने र चिकित्सकीय सल्लाह लिएर आफ्नो संक्रमणको प्रकार पत्ता लगाउनुपर्छ ।

यदि यो दीर्घकालीन असर गर्ने खालको हो भने सोही अनुसार फलोअप गर्नुपर्छ र तत्काल देखिएको (एक्युट) हेपाटाइटिस हो भने त्यही अनुसार उपचार गर्नुपर्छ । कलेजो स्वस्थ बनाउन रक्सीजन्य पदार्थको प्रयोग गर्नुहुँदैन । सबैभन्दा मुख्य कुरा, परीक्षण (टेस्टिङ) को दायरा बढाउनुपर्छ र समयमै चिकित्सकको परामर्श लिनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप