एक सय सात वर्षका हजाम जो ९७ वर्षदेखि कपाल काटिरहेछन्
अमेरिकाको न्यूयोर्कस्थित न्यू विन्डसरमा रहेको एक सैलुनमा एक सय सात वर्षका एन्थोनी मेनसिनेली आकर्षणको केन्द्रमा छन् । कारण हो – एन्थोनी अहिले पनि ग्राहकको कपाल काटिदिन्छन् । विगत ९६ वर्षदेखि हजामको काम गरिरहेका एन्थोनी संसारका सबैभन्दा वृद्ध हजाम हुन् । ११ वर्षअघि (९६ वर्षको उमेरमा) एन्थोनीको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समावेश गरिएको छ ।
अवकाश किन लिने ?
एन्थोनीले ११ वर्षको हुँदा कपाल काट्ने काम सुरु गरेका थिए । घरमा आराम गर्ने बेला भएन भन्ने इन्साइड एडिसनको प्रश्नमा उनी भन्छन्, ‘मैले अवकाश किन लिने ? म अझै पनि धेरै काम गर्न सक्छु । घरमा बस्न मलाई बोर लाग्छ ।’ एन्थोनी हप्तामा पाँच दिन आठ घण्टा काम गर्छन् ।
उनी आउँदो मार्चमा एक सय आठ वर्ष पुग्नेछन् ।
उनका ग्राहक उनीसँग पूर्ण सन्तुष्ट भएको बताउँछन् । एन्थोनीको ग्राहकमा उनका ८१ वर्षको छोरा पनि छन् । थुप्रै ग्राहकमध्येका एक ५६ वर्षे जोन ओ’राउर्केले एन्थोनीबाहेक अरु कसैलाई पनि आफ्नो कपाल छुन नदिएको बताउँछन् । ‘मैले अहिलेसम्म कसैलाई पनि मेरो कपाल छुन दिएको छैन । यी व्यक्तिले शताब्दीदेखि कपाल काट्दै आएका छन् ।’
अर्का एक ग्राहक क्रिस ड्युन भन्छन्, ‘यो उमेरमा पनि उनको काम शानदार छ । म उनको काममा पूर्ण सन्तुष्ट छु ।’
लामो जीवनको राज के हो भन्ने प्रश्नमा उनी भन्छन्, ‘यदि यसबारे थाहा भएको भए आफूलाई प्रेम गर्नेलाई सबैभन्दा पहिला सुनाउथेँ होला । यतिमात्र भन्न सक्छु कि म आफ्नो कामलाई माया गर्छु । सायद यसैले मलाई जवान राखिरहेको छ । मैले कहिले पनि चुरोट र रक्सीको अत्यधिक सेवन गरिनँ ।’
उनको परिवारमा लामो वर्षसम्म बाँच्ने उनी नै पहिलो व्यक्ति हुन् । उनी कहिले पनि व्यायाम गर्नुपर्ने गरी मोटाएनन् । उनले भने, ‘म पातलो स्पागेट्टी खान्छु त्यसैले कहिले पनि मोटाइनँ ।’
सय वर्ष नाघिसक्दा पनि उनका सबै दाँत छन्, कुनै दीर्घ रोग छैन । उनलाई चश्मा चाहिएको छैन र उनको हेयर स्टाइल बनाइदिने हात अहिले पनि निकै दह्रा छन् ।
‘मानिसहरुले आग्रह गरेकाले मात्र म अस्पताल जान्छु तर के का लागि जान्छु मलाई नै थाहा छैन,’ उनले भने । ‘म डाक्टरहरुलाई भन्छु, मलाई कतै पनि दुख्दैन, केही पनि हुँदैन । केहीले पनि मलाई पीडा दिँदैन ।’
निरन्तर काम गर्ने कारण सोध्दा उनी भन्छन्, ‘यसले मलाई व्यस्त बनाउँछ र १४ वर्षअघि श्रीमतीको मृत्यु भएपछिको एक्लोपनाबाट टाढा राख्छ । काममा जानुअघि म सधैं उनको चिहानमा जान्छु ।’
एन्थोनी भन्छन्, ‘६९ वर्षअघि मेरो विवाह भएको थियो । १४ वर्षअघि श्रीमतीको मृत्यु भयो । उसको मलाई निकै याद आउँछ ।’
मिशेल ओबामाले पनि तारिफ गरिसकेकी छिन्ः
सन् २००७ मा गिनिज बुकमा नाम दर्ता भएपछि थुप्रै हस्तीले उनको नाममा पत्र लेखेका थिए । यीमध्ये अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाकी श्रीमती मिशेल ओबामा र न्यूयोर्कका गभर्नर एन्ड्रू कुओमो समावेश छन् । साथै, वरिपरिका सैलून कम्पनीले पनि एन्थोनीको यो उपलब्धिमा बधाई दिइसकेका छन् ।
एन्थोनीको स्टेट बार्बर लाइसेन्स सन् २०१० अक्टोबर ३१ तारिखमा समाप्त हुनेछ । यद्यपी, उनको स्वास्थ्य ठिक भएको खण्डमा उनको लाइसेन्स नविकरण गर्न सकिने बताइएको छ ।
एन्थोनीको जन्म सन् १९११ मा इटालीको नेपल नजिकै भएको हो । त्यसको आठ वर्षपछि सन् १९१९ मा सेप्टेम्बर ११ मा उनी परिवारसँगै अमेरिका छिरे । उनकी काकी न्यूयोर्कमा बस्ने भएकाले उनी न्यूयोर्कको न्यूबर्गमा बस्न थाले ।
उनले सन् १९२१ देखि कपाल काट्न सुरु गरेका थिए जतिबेला कपाल काट्न २५ सेन्ट पर्दथ्यो । अहिले उनीबाट कपाल कटाइएको १९ डलर लाग्छ ।
अहिले उनी काम गर्ने सैलुनका निकै भरपर्दो कर्मचारी हुन् ।
‘उनले कहिले पनि बिरामी भएँ भनेर फोन गरेका छैनन्,’ फ्यान्टास्टिक कटकी मालिक जेन डिनेजाले भनिन् । ‘मसँग घुँडा र ढाड दुख्ने समस्या भएका जवान कर्मचारी पनि छन् । तर उनी भने निरन्तर लागिरहन्छन् । उनले २० वर्षको जवानले भन्दा बढीको कपाल काट्न सक्छन् । उनीहरु आफ्नो फोनमा हेरिरहन्छन्, मेसेज पठाइरहन्छन् वा केही गरिरहेका हुन्छन् तर उनी भने काम मात्रै गर्छन् । ’
एन्थोनी न्यू विन्डसोरस्थित आफू काम गर्ने सैलुन नजिकै बस्छन् । उनी आफैं कार चलाएर काममा जान्छन्, आफ्नो खाना आफैं बनाउँछन्, टिभी हेर्छन् । उनी रेसलिङका ठूला फ्यान हुन् । उनी आफ्ना लागि भरपर्दो व्यक्ति हुन् । आफ्नो घर वरिपरि उम्रिएका झार पनि कसैको सहयोग बिना काट्छन् ।
उनका ८१ वर्षे छोरा बब मेनसिनेलीले भने, ‘बुवाले आफ्नो कपाल आफैं काट्नुहुन्छ ।’
उनकी छिमेकी डिनेजा भन्छिन्, ‘उनी आफ्नो सपिङ आफैं गर्छन्, लुगा पनि आफैं धुन्छन् । बिलको भुक्तानी पनि सबै गर्छन् । यो निकै अचम्म हो । ’
‘मानिसहरुले बढी बाँच्नका लागि कुन औषधी खाने, कस्तो खानेकुरा खाने, कुन एन्टि एजिङ क्रिम प्रयोग गर्ने भनेर सोध्छन् नि,’ उनी भन्छिन्, ‘उनले यहाँ उल्लेखित कुनै पनि कुरा बिना नै यस्तो उत्कृष्ट काम गरिरहेका छन् ।’
उनका केही ग्राहक ५० वर्ष पुराना छन्, जसले सयौंपटक कपाल काटेका छन् ।
‘मेरा केही ग्राहक छन् जसको चार पुस्ताको कपाल काटेको छु – छोरा, बुवा, हजुरबुवा, जिजुबुवा ।’
उनीसँगै काम गर्ने २० वर्षे स्टाइलिस जेन सुलिभान एन्थोनीको काम गराइमा चकित छिन् । उनी भन्छिन्, ‘यो अचम्म हो कि उनी अहिले पनि फूल टाइम काम गरिरहेका छन् । विकेन्डमा हामी निकै व्यस्त हुन्छौं । उभिँदा निकै थकाई लाग्छ । तर उनले कहिले पनि थकाई मानेको देख्दिनँ । ’
मिस डिनेजाले एन्थोनीलाई धेरै वर्षअघि स्थानीय पसलले उनको कामको घण्टा कटौती गरेपछि नियुक्त गरेकी थिइन् । उनकी रिसेप्सनिष्टले उमेरका कारण उनको आवेदन पत्र अस्विकार गरेकी थिइन् तर एन्थोनीले पुनः निवेदन दिएपछि आफू प्रभावित भएको बताउँछिन् ।
‘अहिले मलाई लाग्छ कि म उनको लागि काम गरिरहेको छु,’ उनले भनिन् । ‘उनीबारे थाहा भएपछि संसारभरीका मानिसहरुले मलाई फोन गर्छन् र मेरो पसलमा आउन चाहन्छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
-
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण