सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारत–पाक तनावमा भिडे पाकिस्तानी अभिनेत्री

बिहीबार, १६ फागुन २०७५, ०८ : ५१
बिहीबार, १६ फागुन २०७५

पाकिस्तान र भारतमा जारी तनावबीच पाकिस्तानका चर्चित अभिनेत्रीले सोसल मिडियामा आफ्नो प्रतिक्रिया जनाएका छन् ।

बुधबार एक भारतीय पाइलट पाकिस्ताको नियन्त्रणमा आएपछि तनाव थप चुलिएको छ । विभिन्न पाकिस्तानी टिभी र फिल्मी कलाकारले तनावमाथि आफ्नो प्रतिक्रिया जनाइरहेका छन् ।

‘जिन्दगी गुलजार हे’ की पात्र कसफ मुर्तजाबाट चर्चित भएकी अभिनेत्री सनम सईदले आफ्नो ट्वीटमा भनिन्, ‘निर्दोषको ज्यान लिएको लज्जा लुकाउनका लागि कुनै पनि झण्डा अपुग हुन्छ ।’

अभिनेत्री अर्मिना खानले आफ्नो ट्वीटमा 'saynotowar' ह्याश ट्याग राखेर शान्तिको अपिल गर्दै ट्वीट गरेकी छिन् । अर्मिनाले आफ्नो ट्वीटमा भनेकी छिन्, ‘उज्यालोमा शान्तिको वकालत गर्नु सजिलो छ र तर जब आँधी आउँछ तब तपाईंको चरित्र, सिद्धान्त र मूल्यमान्यताको वास्तविक परीक्षा हुन्छ ।’

अर्मिनाले अर्को एउटा ट्वीट गरेकी छिन् । यसमा उनले भारतकी अभिनेत्री प्रियंका चोपडाको ट्वीटलाई रिट्वीट गर्दै निशाना साँधेकी छिन् । प्रियंका चोपडाले २६ फेब्रुअरीमा एक ट्वीट गरेकी थिइन् जसमा उनले लेखेकी थिइन्, ‘जय हिन्द । इन्डियन आम्र्ड फोर्सेज ।’

प्रियंकाको यो ट्वीटमा रिसाउँदै अर्मिनाले लेखेकी छिन्, ‘हँ..., के तपाईं युनिसेफकी गुडविल एम्बेसेडर होइन र ? यदि तपाईं अर्को पटक शान्तिको कुरा गर्नुहुन्छ भने यो ट्वीटको स्क्रिनसट सबैसँग हुनेछ ।’

गायिका हदिका कियानीले पनि दुई देशबीच शान्तिको अपिल गरेकी छिन् । हदिकाले लेखेकी छिन्, ‘हामीलाई शान्ति चाहिएको छ । हामी अब परिपक्व हुनुपर्ने बेला आएको छ । हामी किन पछाडि धकेलिन चाहन्छौं । युद्धमा केही रोमान्चक छैन ।’

सजल अली पनि युद्धको विपक्षमा छिन् । उनले इन्स्टाग्राममा लेखेकी छिन्, ‘युद्ध दुई धर्म र दुई देशबीच हुनु हुँदैन । युद्ध गरिबी, अशिक्षा, बेरोजगारी, रोग र आतंकवाद विरुद्ध हुनुपर्छ ।’

फातिमा भुट्टोले ट्वीट गरेर युद्धको तारिफ गर्नेहरुलाई जवाफ दिएकी छिन् । फातिमाले ट्वीट गरेर भनेकी छिन्, ‘जो युद्धको वाहवाही गरिरहेका छन्, तीभन्दा खतरनाक अरु कोही हुन सक्दैनँ ।’

फातिमाको ट्वीटलाई रिट्वीट गर्दै माहिरा खानले ट्वीट गरेकी छिन्, ‘यीभन्दा खतरनाक अरु कोही हुन सक्दैन । यस्ता व्यक्तिहरुमा सदबुद्धि आओस् । पाकिस्तान जिन्दावाद ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप