शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘राजनीतिमा म शेरबहादुरभन्दा सिनियर हुँ, केहीमा कम छैन’

अर्जुननरसिंह केसीसँगको अन्तरवार्ता
शनिबार, ११ जेठ २०७६, ०९ : ४८
शनिबार, ११ जेठ २०७६

काठमाडौँ– नेपाली काँग्रेसले प्रमुख प्रतिपक्षीको भूमिकामा रहँदा पनि जनस्तरबाट चर्को आलोचना खेपिरहेको छ । वर्तमान सरकारको काम कारबाहीले जनतामा आशाको दियो अस्थाउँदै गएको देखिन्छ । यता प्रतिपक्षी काँग्रेसप्रति कुनै आशा जागेको पाइँदैन । नागरिकले काँग्रेसमाथि निरिह प्रतिपक्षी आरोप लगाइरहेका छन् । तर जनता जगाउने भन्दै काँग्रेस यति बेला राष्ट्रिय जागरण अभियानका साथ जनता माझमा छ । पार्टीभित्रको आन्तरिक कलहल अस्तव्यस्त अवस्थामा रहेको काँग्रेसले जागरण अभियानबाट जनतामा आशाको दियो जगाउँला ? पार्टीभित्रको आन्तरिक कलह के हो ? काँग्रेसले प्रभावकारी प्रतिपक्षी भूमिका प्रदर्शन गर्न कस्तो तयारी गरिरहेको छ ? यी यस्तै प्रश्नाबारे काँग्रेस नेता अर्जुननरसिंह केसीसँग रातोपाटी टिभीमा रोहित दाहालले जवाफ मागेका छन् ।

नेपाली काँग्रेसले जागरण अभियान थालेको छ । तपाईं कुन ठाउँमा खट्नुभएको छ ?

म मकवानपुरमा खटेको छु ।

जागरण अभियान कस्तो चलिरहेको छ ?

ठीकै छ । राम्रै ढङ्गले चलिरहेको छ । साथीहरूमा नयाँ उत्साह र विश्वासको वातावरण सिर्जना भएको छ । सबै साथीहरूको एउटै किसिमको धारण छ । तपाईंहरूले जागरण अभियान चलाउँदै गर्दा आफू पनि जागृत हुनुहोस् भनिराख्नुभएको छ । पार्टीको केन्द्रीय तहमा एकताको निर्माण गर्नुहोस् । त्यो जागरणभन्दा पनि पार्टीका लागि महत्त्वपूर्ण हुनेछ भन्ने प्रश्न आइराखेका छन् । हामी पनि काँग्रेसको २००७ सालदेखि अहिलेसम्मका गतिविधि बताइरहेका छौँ । वर्तमान सरकारको कार्यशैलीका बारेमा पनि बताइरहेका छौँ ।

जागरण अभियानमा कार्यकर्ताले तपाईंहरूलाई दर्जनौँ प्रश्नहरू तेस्र्याए तर उनीहरूले दिएको सुझाव पार्टीमा लागू हुने त देखिँदै नि ?

होइन, त्यो सुझाव भनेको अहिलेको अहिले नै लागू हुने कुरा होइन । हामी तल्लो तहका कार्यकर्ताको भावना बुझ्न नै गएका हौँ । सबै साथीले कार्यकर्ताका भावना सुनेर त्यसबारे के विकल्प छन् ? कसरी अगाडि जान सकिन्छ भनेर छलफल गर्छाँै ।

कतै कतै जागरण अभियानमा कुटाकुट हुने अवस्था पनि आयो नि होइन ?

साधारणतय कहिलेकहीँ त्यस्तो हुन्छ, जस्तो सिन्धुपाल्चोकमा त्यो किसिमको घटना भयो भन्ने कुरा मलाई सुन्नमा आयो । त्यो दुःखद् कुरा हो । तर विचारका विविधता हुन्छन् । लोकतन्त्र भनेकै वादप्रतिवाद र संवादको प्रक्रिया हो ।

कुटा कुट गर्नु त लोकतन्त्र नहोला नि ?

म त्यही भन्दै छु, त्यो लोकतान्त्रिक होइन । लोकतान्त्रिक पार्टीभित्र विचारको विनिमय, विषयमा विमति र कहिलेकहीँ व्यक्तिको टकराव पनि हुन्छ तर हात हालाहालको स्थिति हुन राम्रो होइन । त्यो कुन परिवेशमा कसरी भयो, त्यसबारे पार्टीले सोच्छ ।


पार्टीभित्र जुन कार्यशैली छ, जुन ढङ्गले विधि विधानभन्दा  पनि कुनै निश्चित समूहको स्वार्थका लागि काम गर्ने प्रवृत्ति थियो, छ । त्यसलाई हामीले विरोध गरेकै हो । त्यसलाई फेरि पनि विरोध गर्छांै ।


 

तपाईंले जागरण अभियान जानुभन्दा अगाडि केन्द्रीय अनुशासन समितिले नेताविरुद्ध नबोल्न निर्देशन जारी गरेको थियो । तपाईं लोकतान्त्रिक पार्टी भनिरहनुभएको छ ?

त्यो निर्देशन कहाँ छ ? मैले अनलाइन, पत्रिकामा सुनेको हो । हामीलाई कुनै त्यस्तो निर्देशन आएको छैन । लोकतान्त्रिक पार्टीभित्र पार्टीको विधानमा बसेर हरेकले आफ्ना दृष्टिकोण राख्ने हकलाई कसैले रोक्न सक्दैन । यो मनोलिथिक पार्टी होइन । हाम्रो त लोकतान्त्रिक पार्टी हो । पार्टीको विधानभित्र बसेर आफ्ना कुराहरू बढो प्रष्टसँग जुनसुकै पदाधिकारी वा सभापतिलाई पनि भन्छौँ । तर हाम्रो विधान र महाधिवेशनले निर्धारण गरेको लक्ष्मण रेखा ख्याल गर्नुपर्ने हुन्छ ।

तपाईंले सार्वजनिक रूपमा अलि बढी नै पार्टी सभापतिको विरोध गरेकाले त्यस्तो गरिएको हो कि ?

पार्टीभित्र जुन कार्यशैली छ, जुन ढङ्गले विधि विधानभन्दा  पनि कुनै निश्चित समूहको स्वार्थका लागि काम गर्ने प्रवृत्ति थियो, छ । त्यसलाई हामीले विरोध गरेकै हो । त्यसलाई फेरि पनि विरोध गर्छांै ।

पार्टीभित्र यस्ता गुट उपगुट छन् । त्यसको जिम्मेवारी पार्टी सभापति देउवाको मात्र हो र ?

होइन, त्यो जिम्मेवारी कसको भनेर वादविवाद वा दोषारोपणभन्दा पनि हामीभित्रैबाट कहाँ–कहाँ कमजोरी भयो सुधार गरौँ । पार्टीभित्र गुटउपगुटको कुरा गर्नुभयो, त्यो कसमा छैन ?

मैले काँग्रेसको मात्र सोधेको ?

काँग्रेसभित्र गुटउपगुटभन्दा पनि खरो दुईवटा विचार छ । त्यो भनेको एउटा यथास्थितिवादबाट नै पार्टी चल्छ र यसबाट नै पार्टी चलाउँछौँ भन्ने विचार । अर्को पार्टीमा आमूल सुधारको खाँचो छ भन्ने सुधारवादी विचार ।

यथास्थितिवादी को भए नि ?

यसलाई भनेर म व्यक्तिबाट टुङ्ग्याउन सक्दिनँ । तपाईं आफै बुझ्नुहोस् । अहिलेका भन्दा सुधार नचाहने अहिलेकै ठीक भन्ने यथास्थितिवादी हुन् ।

तपाईंहरूले चाहेको परिवर्तन के हो ?

पार्टी नेतामुखी होइन, नीतिमुखी हुनुपर्यो । यो पार्टी व्यक्तिमुखी होइन, संस्थामुखी हुनुपर्यो । यो पार्टी जो सत्तामा बसेको छ उसले सत्ताले होइन, सत्यले चलाउनु पर्यो । पारदर्शी, नीतिसङ्गत र विधिसङ्गत ढङ्गले चल्नुपर्यो । त्यही व्यवस्थामा अहिलेको कार्यशैलीमा परिणत हुनुपर्छ भन्ने हाम्रो विचार हो ।

यसको मतलब पार्टी अपारदर्शी ढङ्गले चलेको छ ? पार्टी विधिसङ्गतभन्दा नेतामुखी ढङ्गले चलेको छ भन्ने हो ?

पार्टी अहिले नेतामुखी नै छ र केही सीमिति समूहले नेतृत्वलाई प्रयोग गरेको भन्ने कि सीमिति समूहलाई नेतृत्वले प्रयोग गरेको भन्ने जे भने पनि हुन्छ । जस्तै; जागरण अभियानकै कुरा गरौँ । जागरण जस्तो राष्ट्रिय अभियान सुरु हुँदा केन्द्रीय कार्यसमितिमा छलफल भएन । केवल पदाधिकारीले जागरण अभियान सञ्चालन गर्ने भनेर परिपत्र गर्नुभयो । पार्टीको हितकको निम्ति जागरण अभियान ठीकै हो भनेर हामी खटाएको ठाउँमा गयौँ । सामूहिक रूपमा छलफल गर्ने तवर तरिका र चित्त नबुझेको कुरामा खुला रूपमा बहस कम हुँदै गएको हो । अहिलेको शैली परिवर्तन गर्नु जरुरी छ । पार्टीभित्र त्यही परिर्वतनका लागि कोशिस गरिरहेका छौँ ।

त्यसो भए सभापतिले यस्तो किन गर्न चाहिरहेका छैनन् ?

यसबारेमा उहाँलाई नै साध्नुहोस् । मैले उहाँलाई निर्वाचनमा पार्टी  पराजित भइसकेपछि समीक्षा गर्दाको बखत भनेको थिएँ । निस्पक्ष रूपमा समीक्षा गरौँ । जस लिन सबै तँछाड मछाड गर्छन्, अपजस लिन कोही तयारी हुँदैनन् । पार्टी पराजयको सबैभन्दा बढी सभापतिको हैसियतले तपाईंले लिनुपर्छ । अनि महामन्त्री र पदाधिकारीले पनि लिनुपर्छ । साथै म र मजस्ता सबैले पनि लिन्छौँ भनेको थिएँ । त्यो उहाँ मान्न तयार हुनुभएन । कसैप्रति पूर्वाग्रह नराखी भन्दा यो तरिकाले पार्र्टीलाई पुनः स्थापित गर्नुपर्ने ऐतिहासिक जिम्मेवारी दिलाउन सफल हुँदैन भन्ने हो ।

पछिल्लो सयम काँग्रेस नेताहरूबीचको आरोप प्रत्यारोप सडकमै पोखिन थालेको छ । अब १४औँ महाधिवेशन लाग्यो भन्दा हुन्छ ?

 त्यस्तो त होइन । सभापतिलाई मेरो आग्रह छ । १४औँ महाधिवेशन समयमै गरौँ । महाधिवेशन जति चाँडो गर्न सक्यो पार्टीमा त्यति नै नयाँ ऊर्जा, नयाँ विश्वास र एकता कायम हुन्छ । अनि पार्टीको नेतृत्व सामूहिक खालको हुन्छ । दुई उपसभापति, दुई महामन्त्री, ८ सहमहामन्त्री निर्वाचित भएर आउँछन् । अहिलेको जस्तो एकल नेतृत्व हुँदैन । पार्टीले नयाँ गति समात्छ भन्ने मेरो बुझाइ हो ।


पराजित भएको दुई वर्षपछि असहमति जनाएको हुँ । त्यो बीचमा उहाँले अधिकांश मसँगको सल्लाहबेगर निर्णय गर्नुभयो । त्यो सबै यहाँ भन्न सक्ने अवस्था छैन । म पनि पार्टीको सिनियर नेता हुँ । उहाँभन्दा केहीमा कम छैन । विद्यार्थी राजनीति गर्दा उहाँभन्दा सिनियर नै थिएँ तर उहाँ प्रधानमन्त्री हुनुभयो, पार्टी सभापति हुनुभयो ।


१४औँ महाधिवेशनमा सभापति देउवाको टिमबाट महामन्त्रीको उम्मेदवार उठ्नुभएको थियो । यतिबेला तपाईं कुन गुटमा हुनुहुन्छ ?

म कुनै गुटमा छैन । म सुधारवादी पक्षधर हो । मैले अघि पनि भनिसकेँ ।

त्यसो भए तपाईं पनि गुट निर्माणमा हुनुहुन्छ ?

होइन्, हामी सुधारवादी जति छौँ एक ठाउँमा छौँ । अहिलेको यथास्थितिवादी तरिकाबाट पार्टी सञ्चालन हुन सक्दैन भन्नेहरू सबै एक ठाउँमा छौँ । हाम्रो सुधारवादी आन्दोलन जारी रहन्छ । हामी सँगै जान्छौँ ।

हिजो शेरबहादुर देउवाको टिमबाट महामन्त्री लड्नुभयो । अनि पराजित भएपछि विरोध गर्दै हिँड्न सुहाउँछ र ?

पराजित भएको दुई वर्षपछि असहमति जनाएको हुँ । त्यो बीचमा उहाँले अधिकांश मसँगको सल्लाहबेगर निर्णय गर्नुभयो । त्यो सबै यहाँ भन्न सक्ने अवस्था छैन । म पनि पार्टीको सिनियर नेता हुँ । उहाँभन्दा केहीमा कम छैन । विद्यार्थी राजनीति गर्दा उहाँभन्दा सिनियर नै थिएँ तर उहाँ प्रधानमन्त्री हुनुभयो, पार्टी सभापति हुनुभयो । उहाँ नेता हो । यसमा मेरो विवाद छैन तर महाधिवेशनमा म औपचारिक उम्मेदवार भएँ, लडेँ । त्यहाँ भित्री रूपमा उहाँको कोसँग सम्झौता भएको थियो । त्यो मैले राम्रोसँग बुझिसकेँ । म त्यतातिर जान्नँ । तर शेरबहादुरजीमा विद्यार्थी हुँदा खालको सहजता थियो । कुनै पनि कुरामा खुला रूपमा छलफल गर्ने र आफूलाई चित्त नबुझेको कुरा भनी पनि हाल्ने । फेरि यो हुँदैन भनेर तर्क दिएपछि चित्त बझाउने बानी थियो । मैले त्यही अनुभवका आधारमा उहाँसँग बसेर पार्टीलाई नयाँ गति दिन सकिन्छ, सोचेको थिएँ । अब उहाँ त्यस्तो रहनुभएन ।

नेताहरू आफ्ना वरपरकाले पहिलेदेखि नै घेरिन्थे । बीपी कोइरालादेखि सुशील कोइरालासम्म सबै नघेरिएका होइनन् । पहिले नेताहरूलाई घेर्दा घाँटीसम्म घेर्थे । उहाँ कान र आँखा सबै छोपिनेगरी घेरिनुभयो । त्यसबाट उहाँलाई बाहिर ल्याएर पार्टीलाई नयाँ गति दिन सकिन्छ भन्ने मलाई लागेन ।

त्यसो भए आज रातोपाटीबाट घोषणा गरिदिनु हुन्छ त ? अब शेरबहादुर देउवाबाट पार्टी चल्दैन भनेर ?

उहाँको कार्यशैलीप्रति मेरो चरम असन्तुष्टि छ । नीतिगत, नेतृत्वगत र संस्थागत रूपमा पार्टीभित्र व्यापक परिवर्तन ल्याउन क्रियाशील छौँ ।

तपाईंले आफू सुधारवादी पक्षधर भन्नुभएको छ । अब शेरबहादुर देउवासँगै रामचन्द्र पौडेलबाट पनि पार्टी सञ्चालन हुन सक्दैन भन्ने हो ?

हाम्रो निष्कष सामूहिक नेतृत्वबाट चल्छ भन्ने हो । व्यक्ति कसैबाट पनि चल्दैन ।

तपाईंले जति सामूहिक नेतृत्वको कुरा गरे पनि पार्टी चलाउने सभापतिले नै गर्ने होइन र ?

पार्टी त सभापतिले नै चलाउने हो । पार्टीको सक्ति सम्पन्न सभापति नै हो तर पार्टी चल्न प्रवक्तादेखि साधारण सदस्यसम्म उत्तिकै महत्त्वपूर्ण हुन्छन् । सभापतिभन्दा तल ५ जना पदाधिकारी निर्वाचनबाटै आएको खण्डमा पार्टी संस्थागत ढङ्गले चल्छ । सभापतिले विधि र विधान बाहिर जाने कोशिस गरेको खण्डमा ट्र्याकमा ल्याउन सजिलो हुनेछ ।

१४औँ महाधिवेशनबाट काँग्रेसमा कुन उमेर समूहको नेतृत्व आउँछ ? देउवा र पौडेलको विकल्पमा दोस्रो तहका नेता खडा हुन्छन् कि उनीहरू नै रहन्छन् ?

को रहन्छ, को रहँदैन भन्ने कुरा अहिले नै भन्न सकिने अवस्था छैन । हाम्रो पक्षबाट सहमतिमा जो लडे पनि एक जना लड्छ ।

तपाईं लड्नुहुन्छ ?

म पनि लड्न सक्छु । सुधारवादी पक्षबाट सामूहिक रूपमा मात्र ।

तपाईंको देशदौडाह सभापतिकै लागि हो ?

त्यो अहिले नै नभनौँ । देशभरी आफ्ना साथीहरूले बोलाएको ठाउँमा जाइन्छ नै ।

काँग्रेस निर्वाचन भएको डेढ वर्षपछि बल्ल कार्यकर्ता माझ पुग्दैछ तर संसद्मा पनि प्रमुख प्रतिपक्षी दलको भूमिका खेल्न सकिरहेका देखिँदैन नि ?

सदन र सडकमा प्रतिपक्षका रूपमा हाम्रो भूमिका जुन तरिकाले हुनुपर्ने थियो त्यो हुन नसकिरहेको भन्ने गुनासो हामीभित्रै पनि छ । त्यसलाई हामी प्रभावकारी बनाउँछौँ । तर नेपाली काँग्रेसलाई प्रतिपक्षी भनेर हेर्दा कम्युनिस्ट प्रतिपक्षी जस्तोझैँ हेरिदिनुभएन । हाम्रो प्रतिपक्षी रूप सडकका रेलिङ तोडिहाल्ने र संसदका सबै टेबल कुर्सी भाँचिहाल्ने होइन । हामी लोकतान्त्रिक विधि र संस्कारका सहजकर्ता पनि हो । हामी लोकतान्त्रिक संस्कृतिभित्रैबाट प्रतिपक्षीको भूमिका निर्वाह गर्न चाहन्छौँ ।


हामीले अझै मुलुकमा सहमति र सहकार्यको आवश्यकता छ भनेर संवैधानिक परिषद्को व्यवस्था गरेको हो । त्यसको बैठक बस्दा कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, दुईवटै संसद् र प्रतिपक्षी दलको नेता रहनुपर्ने भनिएको छ तर त्यहाँ प्रतिपक्षी दलको नेतालाई बोलाउँदै नबोलाई पनि चलेको छ ।  सरकारले नबोलाएको हो कि, हाम्रो नेताले आलटाल गर्नु भएको भनेर पार्टीको केन्द्रीय कार्यसमितिमा पनि कुरा उठाइएको थियो ।


तपाईंहरूले मूलभूत सिद्धान्त र विचारमा कहीँ बहस गरेको पाइँदैन नि ? बजेटकै कुरा गरौँ । राष्ट्रिपतिले मेरो सरकार भनेको र प्रधानमन्त्रीले निम्छरो भनेको पछाडि लाग्नुभयो ?

राष्ट्रिपतिले मेरो सरकार भन्नु, साथै प्रधानमन्त्रीले अरू देशको पनि प्रचलन छ भनेर भन्नु हास्यास्पद कुरा हो । संविधानको धारा ७३ को ३ ले मन्त्रिपरिषद्बाट गरिने सम्पूर्ण निर्णय र काम कारबाही नेपाल सरकारको नाममा गरिने छ भनेर प्रष्ट रूपमा उल्लेख गरिएको छ । त्यसमा अन्तर्राष्ट्रिय परम्परा र प्रचलन लागू हुँदैन । यस्तै सरकारका प्रवक्ताले जय नेपाल पुलिसबाट ल्याएको हो भनिदिनुभयो । जय नेपालको इतिहास उहाँलाई थाहा छैन जस्तो छ । उहाँले अमेरिकारमा पत्रकारलाई मृत्युडण्दसम्बन्धी सजाय छ पनि भनिदिनुभयो । त्यो कहाँ छ ? मैले यस्ता कुरा बोल्दा म जिम्मेवार हुन्छु भने प्रधानमन्त्री र प्रवक्ताले यस्तो भन्न मिल्छ ?

काँग्रेसले प्रतिपक्षीको भूमिका प्रभावकारी देखाउन नसक्नु विभिन्न संवैधानिक नियुक्तिमा खोजिएको भागबण्डा हो भन्ने गरिन्छ नि ?

यहाँ भागबण्डाका कुराभन्दा पनि संवैधानिक परिषद्को कुरा छ । हामीले अझै मुलुकमा सहमति र सहकार्यको आवश्यकता छ भनेर संवैधानिक परिषद्को व्यवस्था गरेको हो । त्यसको बैठक बस्दा कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, दुईवटै संसद् र प्रतिपक्षी दलको नेता रहनुपर्ने भनिएको छ तर त्यहाँ प्रतिपक्षी दलको नेतालाई बोलाउँदै नबोलाई पनि चलेको छ ।  सरकारले नबोलाएको हो कि, हाम्रो नेताले आलटाल गर्नु भएको भनेर पार्टीको केन्द्रीय कार्यसमितिमा पनि कुरा उठाइएको थियो । अब भागबण्डाको कुरा छ । हामीलाई थाहा छैन । मिडियालाई थाहा छ भने खुलाइदिनुहोला ।

अब अन्त्यमा यो सरकारका बारेमा केही कुरा भन्नु छ ?

सरकार एकपछि अर्को ढङ्गले अधिनायकवादी बाटोतिर गइरहेको छ । संसारमा संसदीय व्यवस्था भएका देशहरूमा संसद् जन्मन्छ अनि सरकार जन्माउँछ तर वर्तमान सरकार संसद् जन्मनुभन्दा अगाडि नै जन्मियो ।

संविधानले नै सभामुख र उपसभामुख अलग अलग पार्टीको हुनुपर्छ भनेको छ, त्यसलाई पनि मिचियो । मिडिया काउन्सिलसम्बन्धी विधेयक, मानव अधिकारसम्बन्धी विधेयक र सुरक्षा परिषद् विधेयकमा सरकारले गलत नियत राखेको पाइन्छ । यी विधेयक पारित हुन नदिन हामी संसद्मा अन्तिमसम्म सङ्घर्ष गर्छौं । भएन भने सडकमा पनि उत्रिन्छौँ ।

सरकारसँग दुई तिहाइ छ । यी विधेयकलाई राक्ने तपाईंसँग ल्याकत छैन नि ?

हामीसँग ल्याकत छ । तपाईं हेर्दै जानुस्, हाम्रो ल्याकत र तागत २००७ सालमा पनि देखाएकै हो, २०४७ सालमा पनि देखाएकै हो, ६२–६३ मा पनि ल्याकत र नेतृत्व देखाएको हो । तपाईं एक चोटि छातीमा हात राखेर सोच्नुहोस् । काँग्रेस सङ्घीयता र गणतन्त्रको सहमतिको यात्रामा नगएको भए यहाँ गणतन्त्रण आउँथ्यो ? त्यसकारण हामीसँगको ल्याकतको कुरा नगर्नुहोस् ।

त्यसो भए काँग्रेसबाट प्रतिपक्षी भूमिकाको महसुस गर्ने केही समय पर्खिनुपर्ने भयो ?

तपार्इंलाई प्रष्ट भन्छु, पार्टीको आन्तरिक सुधारमा लागेका छौँ । केही समय प्रतिपक्षको भूमिका सकारात्मक र सहजकर्ताके हुनुपर्छ ? उग्र हुनुहुन्न भन्ने हाम्रो मनसाय थियो, छ । यस्तै हो भने काँग्रेस एउटा समयमा उग्रताको बाटोमा पनि जान सक्छ ।

त्यसका लागि कति समय पर्खनुपर्ने हो भनेको ?

६ महिना पर्खिनुहोस्, किन १५, २० वर्षको कुरा गर्नुहुन्छ ? केही समय लाग्छ । ६ महिनापछि हामी सडक, सदनमा उभिन्छ ।

साथै अहिलेका यी तीनवटा विधेयकलाई काँग्रेसले त्यति सजिलोसँग पारित हुन दिँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप