शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

चन्द्रागिरीमा राष्ट्रिय लाखे नाच प्रदर्शनी हुने

सोमबार, ०९ भदौ २०७६, १३ : ०६
सोमबार, ०९ भदौ २०७६

काठमाडौं– नेवार समुदायमा विभिन्न प्रकारका नाचहरु नाचिन्छ । ती मध्यको एक हो लाखें नाच । उपत्यकाका विभिन्न स्थानमा जात्रा आयोजना हुँदा र बिषेश गरेर इन्द्र जात्रामा नाचिने यो नाच भक्तपुर ,बनेपा, नाला, धुलिखेल, पनौती, साँगा, देवपत्तन आदि ठाउँमा पनि प्रचलित छ ।

लाखे नाच विशेष गरेर धाः र भुस्याः बाजा बजाएर नचाईन्छ । खिं, पछिमा, नायिखं, धिमे बजाएर पनि लाखें नाच नचाईन्छ भने मादल र बाँसुरीको धुनमा पनि लाखे नाच नचाईन्छ । नेवार समुदायमा बढी प्रचलित रहेको लाखें नाच जिल्लाहरुबाट लोप हुने अवस्थामा पुगेको छ । यही नाचको सम्रक्षण गर्ने उद्धेश्यले काठमाडौं चन्द्रागिरी ९, मच्छेगाउँमा वर्षेनी ‘राष्ट्रिय लाखें नाच प्रदर्शनी, साँस्कृतिक तथा सम्मान कार्यक्रम’ आयाजना हँुदै आएको छ । 

सोही कार्यक्रमले यस बर्ष पनि निरन्तरता पाउने भएको छ । नेपाल साँस्कृतिक कला मन्दिरको आयोजना रहने ‘राष्ट्रिय लाखें नाच प्रदर्शनी, साँस्कृतिक तथा सम्मान कार्यक्रम’ यो बर्ष यही भदौ २० र २१ गते आयोजना हुने भएको छ । कार्यक्रमको तयारी सुरु भइसकेको आयोजक संस्थाका रमेश शाहीले जानकारी दिए ।

शाहीका अनुसार लाखे नाच प्रदर्शनी कार्यक्रममा देशका बिभिन्न जिल्लाहरुबाट भाग लिन आउने छन् । नाच हेर्न मच्छेनारायण मन्दिरको वरिपरि लाखौं दर्शकको भीड लाग्ने गर्दछ । सोही अवसरमा स्थानीय लोकभाका, वेषभूषा र चालचलन एवम् रोपाइँ जात्रा, घोडेजात्रा, गाईजात्रा, राउटे जात्रा, वैरागी जात्रा र अन्य जात्रा देखाउँदै समाजका विभिन्न विकृति माथि समेत ब्यङ्ग्य प्रहार गर्ने कार्यक्रम आयोजकको रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप