शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

निक्षेपमा खेलवाड नगर्न राष्ट्रिय बाणिज्य बैंकलाई अर्थमन्त्रीको चेतावनी

बुधबार, ११ भदौ २०७६, १९ : ४८
बुधबार, ११ भदौ २०७६

काठमाडौं– अर्थमन्त्री युवराज खतिवडाले बचतकर्ताको निक्षेपमा खेलवाड नगर्न राष्ट्रिय बाणिज्य बैंक सचेत गराएका छन् । बुधबार राष्ट्रिय बाणिज्य बैंकको १४ वटा शाखाहरुको एकै पटक उद्घाटन गर्ने कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले बैंकले बचतकर्तालाई न्याय दिन निक्षेपमा खेलवाड नगर्न सचेत गराएका हुन् ।

अर्थमन्त्री खतिवडाले राष्ट्रिय बाणिज्य बैंकको आधार दर सबै बाणिज्य बैंकको तुलनामा कम रहेकोप्रति अचम्म मान्दै यसलाई निक्षेप कर्ता माथिको खेलवाड भएको बताएका हुन् । बैंकहरुमा आउने तरलताको संकट पनि बचतकर्ताको निक्षेप माथिको अन्यायले गर्दा आउने भएकोले आधार दर बढाएर न्याय गर्न निर्देशन दिए ।

कार्यक्रममा अर्थमन्त्री खतिवडाले बैंकिङ कार्यक्रमहरु सञ्चालन गर्दा समय समयमा मध्यकालीन योजना ल्याएर परिमार्जन गर्न सुझाव दिए । बैंक स्वायत्त संस्था भए पनि जिम्मेवारी र जवाफदेही बन्न पनि अर्थ मन्त्रीले आग्रह गरे । बैंकले गर्ने काम कारबाही बारे संसदमा प्रश्न उठ्दा अर्थमन्त्रीले जवाफ दिनुपर्ने भन्दै राष्ट्रिय बाणिज्य बैंकले आफ्नो स्वयत्ततालाई जिम्मेवारीपूर्वक निर्वाह गर्न आग्रह गरे । 

कार्यक्रममा अर्थमन्त्री खतिवडाले प्रदेश १ मा २ वटा प्रदेश २ मा ५ वटा प्रदेश ३ मा २ वटा गण्डकी प्रदेशमा ४ वटा प्रदेश ५ मा १ वटा राष्ट्रिय बाणिज्य बैंकका शाखाहरुको उद्घाटन गरेका छन् । शाखा विस्तारसँगै राष्ट्रिय बाणिज्य बैंक मुलुकका सबै ७७ जिल्लामा पुग्ने पहिलो बैंक बनेको छ । थपिएका शाखासहित बैंकको कुल शाखा संख्या २३६ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप