मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कार्यविभाजनपछि प्रचण्डको योजना : भटाभट बैठक, फटाफट निर्णय !

प्रचण्डले यसरी ल्याउँदैछन् ६ महिने कार्यक्रम
सोमबार, २३ मङ्सिर २०७६, १० : ४६
सोमबार, २३ मङ्सिर २०७६

काठमाडौँ– कार्यकारी अध्यक्षको जिम्मेवारी पाएसँगै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सक्रियता बढेको छ । प्रचण्डको सक्रियता बढेसँगै पार्टी कमिटिका बैठकहरु भटाभट बस्न थालेका छन् भने निर्णयहरु पनि फटाफट हुने अपेक्षा नेकपाका नेता कार्यकर्ताको छ ।

दुई अध्यक्ष रहेको नेकपामा पार्टी एकता भएको लामो समयसम्म पनि स्पस्ट कार्यविभाजन नहुँदा ‘सेरेमोनियल’ को भुमिकामा रहेका प्रचण्डले कार्यकारी भूमिका पाएपछि सक्रियता बढाउनुका साथै पार्टी गतिविधिलाई समेत तीव्रता दिने प्रयास थालेका हुन् ।

यसअघि प्रचण्डले आफु नेकपाको अध्यक्ष भएपनि ‘सेरेमोनियल’ अध्यक्ष जस्तो मात्र भएको भन्दै पार्टी र संगठनात्मक गतिविधि निर्धक्क अघि बढाउन असहज भएको बताउने गरेका थिए । सो कुरा प्रचण्डले आफ्ना अन्तर्वाताहरुमा पनि बताउने गरेका थिए । 

गत मंसिर ४ गते बसेको नेकपाको सचिवालय बैठकले अध्यक्षद्वय केपी ओली र प्रचण्डको कार्यविजन गरेको थियो । कार्यविभाजनअनुसार ओलीले पुरै कार्यकाल सरकारको नेतृत्व गर्ने र प्रचण्डले पार्टीको नेतृत्व गर्ने सहमति भएको थियो । यसअघि आधा–आधा समय ओली र प्रचण्डले सरकारको नेतृत्व गर्ने गरी भएको भनिएको सहमतिलाई पुनरावलोकन गर्दै अबको बाँकी पुरै समय ओलीले सरकार चलाउने र एकताको महाधिवेशनसम्म पार्टी प्रचण्डले चलाउने गरी कार्यविभाजन भएको हो ।

कार्यविभाजन यता प्रचण्डले एकसरो देश दौडाहासमेत गरिसकेका छन् । लगत्तै उनले प्रमुख प्रतिपक्ष दलका नेता र पार्टीकै नेताहरुसँग समेत छुट्टाछुट्टै भेटघाट गरेर रायसुझाव बटुलेका छन् ।

पूर्व निर्धारित तालिकाअनुसार यही मङ्सिर महिनामा गर्ने भनेको आफ्नो चीन भ्रमणसमेत स्थगित गरेका प्रचण्डले एक साताको अवधिमा २ पटक सचिवालय बैठक बोलाइसकेका छन् । यसअघि लामो समयसम्म सचिवालय बैठक नै बस्न नसकेको भन्दै नेकपाका नेताहरुले असन्तुष्टि जनाउँदै आएका थिए ।

‘पछिल्लो समय पार्टी बैठक बोलाउने र अवरुद्ध पार्टीका काम सुचारु गर्न थालिएको छ । यसलाई सकारात्मक रुपमा लिनुपर्छ,’ नेकपाका स्थायी समिति सदस्य समेत रहेका अग्नी सापकोटाले जिम्मेवारी बढेसँगै प्रचण्डको सक्रियता पनि बढ्नुलाई स्वभाविक रुपमा लिनुपर्ने बताए ।

‘स्वभाविक रुपमा जिम्मेवारी बढेपछि सक्रियता पनि बढ्न पुग्छ । जिम्मेवारी पुरा गर्न पनि सक्रिय हुन जरुरी नै छ,’ नेता सापकोटाको भनाइ छ ।

गत बुधबार सचिवालय बैठक बोलाएर तीन वटा निर्णय गरेका अध्यक्ष प्रचण्डले सोही बैठकबाट मङ्सिर २३ गते अर्थात आज सोमबार दोस्रो बैठक डाकेका हुन् ।

सोमबारको बैठकमा प्रचण्डले पार्टी एकताका बाँकी काम पुरा गर्ने प्रस्ताव सचिवालय बैठकमा लैजादैछन् । जसमा नेकपाका विभिन्न विभागहरुलाई पुर्णता दिइनेछ ।

यसअघि एकताका क्रममा विभिन्न विभाग र जनवर्गीय सङ्गठनको नेतृत्व चयन भएपनि सदस्यहरु छनोट नहुँदा पूर्णता पाउन सकेका थिएनन् । तर विभागहरु र वर्गीय संगठनलाई पुर्णता दिएर पार्टी एकताको बीट मार्ने योजनामा प्रचण्ड लागिपरेका छन् ।

तर नेकपाका नेता बेदुराम भुषाल व्यक्ति सक्रिय भएर मात्रै नपुग्ने बताउँछन् । भुषालका अनुसार पार्टी चलायमान हुन विधि र विधानअनुसार बैठकहरु नियमित बस्नुपर्छ । फटाफट निर्णयहरु हुनुपर्छ ।

‘बैठक बस्नुपर्छ, छलफल गर्नुपर्छ र निश्कर्ष आउनुपर्छ । त्यो निश्कर्ष र निर्णय बोकेर पार्टी नेता कार्यकर्ता जनतामा जानुपर्छ अनिमात्रै पार्टी सक्रिय र चलायमान हुन्छ,’ रातोपाटीसँग नेता भुषालले भने, ‘संस्थागत रुपमा पार्टी चलायमान परिचालन भएपछि मात्रै त्यसको प्रभाव देखिन्छ ।’

आगामी कार्यक्रम सार्वजनिक गर्ने तयारी

सवै विभाग र कमिटीहरुलाई पूर्णता दिएर प्रचण्डले देशैभर बैचारिक राजनीतिक अभियान चलाउने योजना बनाएका छन् ।

‘पार्टीलाई चलायमान बनाउन कम्तिामा ६ महिने योजना बनाएर अघि बढ्ने योजना प्रचण्डको छ । त्यो योजना सचिवालय बैठकमा पेश गर्ने तयारी छ,’ प्रचण्ड निकट मानिएका नेता सापकोटाको भनाइ छ ।

सापकोटाका अनुसार पार्टीका आगामी कार्यक्रममा वैचारिक राजनीतिक तयारीसँगै सांगठानिक गतिविधिलाई पनि तीव्र बनाउने आफ्नो योजना रहेको प्रचण्डले निकटस्थहरुसँग बताउने गरेका छन् । उक्त योजनामा केन्द्रीय कमिटी, स्थायी कमिटि हुदै वडा कमिटिलाई समेत समेटेर संगठनात्मक र जनपरिचालन गर्ने प्रचण्डको तयारी छ । यो अभियानले सरकारका कामकारवाही जनतामा पुर्याउन समेत सहयोग पुग्ने नेकपाको विश्वास छ ।

कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि प्रचण्डमा पार्टी बैठकको अध्यक्षता गर्ने, पार्टीलाई वैचारिक नेतृत्व दिने, संगठनात्मक रूपमा नेतृत्व गर्नेलगायतका अधिकार छन् । सोही अधिकार प्रयोग गर्दै प्रचण्डले पाटीलाई चलायमान बनाउने तयारी थालेका हुन् ।  यसअघि पार्टीकै नेताहरुले सरकारले गरेका राम्रा कामको प्रचारप्रसार गर्न नसक्दा विपक्षीहरुले लगाएको आरोप चीर्न नसकेको गुनासो प्रधानमन्त्री केपी ओलीले गर्दै आएका थिए । प्रचण्डको योजना कार्यान्वयनमा आए सरकारप्रति फैलाइएका भ्रमसमेत चीर्न सकिने नेकपाका नेताहरुको विश्वास छ ।

प्रचण्डले पार्टीका आगामी कार्यक्रम तय गर्ने विषयमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीसँग पनि चरण चरणमा छलफल गरिसकेका छन् । ओली बाहेक अर्का नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, झलनाथ खनालसँग समेत पार्टी गतिविधि बढाउन आवाश्यक सल्लाह लिएका प्रचण्डले सोमबारको सचिवालय बैठकमा केन्द्रीय समिति र स्थायी समिति बैठक बस्ने मिति समेत तोक्न प्रस्ताव गर्नेछन् । त्यस्तै प्रचण्डको अर्को महत्वपुर्ण प्रस्ताव पोलिटव्युरो गठनको हुनेछ ।

प्रतिपक्षको विश्वास जित्ने प्रयास

अध्यक्ष प्रचण्डले पार्टीभित्र मात्रै होइन प्रमुख प्रतिपक्षसँगको सम्बादलाई पनि जोड दिएका छन् । उनले गत बिहीबार प्रमुख प्रतिपक्षी काँग्रेसका सभापति शेरबहादुर देउवालाई उनको नीजि निवास बूढानीलकण्ठमै पुगेर भेटवार्ता गरेका छन् । केही समययता सत्तापक्ष र प्रतिपक्षबीच सुमधुर सम्बन्ध नभएको अवस्थामा प्रचण्डले देखाएको यो सक्रियतापछि प्रतिपक्षसँगको सम्बन्धमा सुधार आउने विश्लेषण हुन थालेको छ । यसअघि कतिपय संबैधानिक नियुक्तिमा सरकारले एकलौटी गरेको भन्दै प्रतिपक्ष दल काँग्रेसका सभापति शेरबहादुर देउवा बैठकमै आउन छाडेका थिए ।

विभिन्न संबैधानिक आयोगहरुमा रिक्त पदमा नियुक्तिका लागि परिषद बैठक बस्नुपर्ने हुन्छ । परिषद बैठकमा कुनै निर्णय गर्नुपर्दा विपक्षी दलका नेताको उपस्थिति अनिवार्य जस्तै हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप