बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

संसदीय दलको बैठकमा उपेन्द्रको ब्रिफिङ : प्रधानमन्त्रीले अपमान गरे

मङ्गलबार, ०८ पुस २०७६, १७ : २८
मङ्गलबार, ०८ पुस २०७६

काठमाडौँ । समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा आफूलाई अपमान गरेको बताएका छन् ।

समाजवादी पार्टीको मंगलबारको संसदीय दल बैठकमा यादवले सोमबार मन्त्रिपरिषद् बैठकमा संविधान संशोधनका लागि आवश्यक गृहकार्य गर्न सुझाव समिति गठन गर्ने प्रस्ताव लैजाँदा प्रधानमन्त्रीले अपमान गरेको ब्रिफिङ गरेका हुन् । 

संशोधनको प्रस्ताव लैजाँदा प्रधानमन्त्रीले आक्रोशित हुँदै ‘गेट लस्ट’ भनेर आफूलाई अपमान गरेको यादवले बैठकमा बताएका थिए । सो क्रममा प्रधानमन्त्री र यादवबीच चर्काचर्की नै भएको बताइएको छ । 

समाजवादी पार्टीकी सांसद रेणु यादवले प्रधानमन्त्रीबाट अपमानित भएको र संविधान संशोधन पनि हुने नदेखिएपछि पार्टीका दुई मन्त्रीले राजीनामा दिएको बताइन् । उनका अनुसार उपेन्द्र यादवले संविधान संशोधन नहुने भएपनि सरकारमा बसिरहन नैतिकताले नदिने भएरै राजीनामा दिइएको बताएका थिए । 

यादवको राजीनामा पत्रमा पनि सरकार दुई बुँदे सहमतिबाट पछि हटेको तथा सहमतिलाई एकतर्फी रुपमा तोडेको प्रष्ट भएको हुँदा पदबाट राजीनामा दिएको उल्लेख छ । 

यादवले पत्रमा २०७५ जेठ १४ गते संविधान संशोधन लगायत आन्दोलनमा उठाइएको माग र मुद्दाहरु सम्बेधन गर्ने सर्तसहित २ बुँदे सहमति भएर आफूहरु सरकारमा सहभागी भएको उल्लेख छन् । सोही अनुसार आफूहरुले पटक–पटक यी विषयहरु प्रवेश गराउनुका साथै संविधान संशोधनलगायत विषयहरु राखी प्रधानमन्त्री केपी शर्मा ओली समक्ष ध्यानाकर्षण गराएको पनि स्मरण गराएका छन् ।

तर माग पूरा गर्नुको साटो सोमबारको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधनका लागि आवश्यक गृहकार्य गर्न सुझाव समिति गठन गर्ने प्रस्ताव लैजाँदा प्रधानमन्त्रीले अस्वीकार गरेर सहमतिबाट पछि हटेकाले नैतिकताको आधारमा राजीनामा दिएको यादवको राजीनामा पत्रमा उल्लेख छ । 

यस्तै सहरी विकासमन्त्री राईले दिएको राजीनामापत्रमा संविधानको धारा ७७ को उपधारा २ (क) बमोजिम राजीनामा दिएको उल्लेख छ । उनले अहिलेसम्म सहकार्य गर्ने अवसरमा दिएकोमा पनि प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन् । 

समाजवादी पार्टी (तत्कालीन संघीय समाजवादी फोरम) २०७५ जेठ १४ गते केपी ओली नेतृत्वको सरकारमा सहभागी भएको थियो । 

समाजवादी सरकारबाट बाहिरिएपनि सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा पनि छलफल भएको छ । आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने कि कायमै राख्ने भन्नेमा छलफल भएपनि टुंगोमा नपुगिएकी सांसद रेणु यादवले बताइन् । 

उनका अनुसार यस विषयमा बुधबार पार्टीको पदाधिकारी बैठक बसेर निर्णय लिइने छ । यद्यपि मंगलबारको बैठकमा अधिकांश सांसदले सरकारबाट बाहिरिएपछि समर्थन पनि फिर्ता लिइनुपर्ने राय दिएका छन् । 

पदाधिकारी बैठकले यसबारे निर्णय लिएपछि पार्टीले बुधबार दिउँसो पत्रकार सम्मेलनको पनि आयोजना गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप