शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जनस्वास्थ्यविद्हरुको चेतावनी : दोस्रो लहर सुरु भइसक्यो, सचेत नभए भयावह स्थिति आउँछ

शनिबार, ०४ वैशाख २०७८, १९ : ३२
शनिबार, ०४ वैशाख २०७८

जनस्वास्थ्यविद् डा. शरद वन्तले संक्रमण रोक्नको लागि आयातित र यहाँभित्रै भएको संक्रमणलाई रोक्नुपर्नेमा जोड दिएका छन् । उनले भने,‘अहिले हामीले आयातित संक्रमणको व्यवस्थापन गर्नको लागि, आयातित संक्रमणलाई निस्तेज गर्नको लागि गर्नुपर्ने महत्वपूर्ण काम भनेको सिमानाको व्यवस्थापन नै हो । सीमानाको व्यवस्थापन भन्दाखेरि हामीले विगतमा सिमानालाई बन्दाबन्दी गरेर जुन पीडाहरु नागरिकहरुलाई दियौँ, त्यसबाट सिक्नुपर्नेछ । सिमा बन्द गरेर समस्याको हल हुँदैन् । पहिलो काम भनेको हामीले सिमानामा क्वारेन्टिनको व्यवस्थापन गर्नुपर्छ । सिमानामा निगरानी गर्नुपर्छ । परीक्षणको व्यवस्थापन गर्नुपर्छ । र, त्यहाँ पहिचान भएका संक्रमितहरुलाई आईसोलेशनको व्यवस्थापन गरेर आयातित केशहरुलाई व्यवस्थापन गर्न सक्छौं ।’

उनले जुन प्रभावकारिताका साथ सिमानामा क्वारेन्टिनको व्यवस्थापन भएको छ भन्नेमा आफूलाई विश्वास नलागेको पनि स्पष्ट पारे । उनले भने,‘अहिले जुन संख्यामा परीक्षणहरु भैरहेका छन्, त्यो परीक्षण कसरी भैरहेको छ, त्यो थाहा छैन् । कुन मापदण्डमा एन्टिजेन र कुन मापदण्ड र कसलाई पीसीआर परीक्षण भैरहेको छ ? त्यो थाहा छैन् । जोखिममा भएकाहरुको मात्रै परीक्षण गरेका हौं कि ? के हो यो विषयमा प्रष्ट हुनुपर्छ ।’ अहिलेको कोरोना संक्रमणको दोस्रो चरण स्वभाविक भएको पनि उनको भनाई छ । उनले भने,‘जबसम्म संक्रमणको स्रोत रहिरहन्छ, तबसम्म यो संक्रमण विस्तार र उतारचढाव भैरहन्छ ।’

त्यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका प्रमुख कन्सलटेन्ट सरुवारोग विशेषज्ञ डा. अनुप बास्तोलाले कोरोना संक्रमणको दोस्रो लहर सुरु भइसकेकाले अब भयावह स्थिति आउनसक्ने चेतावनी दिएका छन् । संक्रमणले भुसको आगोको रुप लिइसकेको भन्दै उनले चैत महिनामा मात्रै ४६ जना आईसीयूमा भर्ना भएको जानकारी दिए ।

धेरैजसो अस्पतालमा संक्रमितलाई उपचार गराउने भौतिक पूर्वाधार अभाव भएको भन्दै उनले भेन्टिलेटर नै पाउन नसक्ने अवस्था रहेको जानकारी दिए । त्यसैगरी पछिल्लो समय संक्रमित भएकाहरु निको हुनै नसकेको पनि बास्तोलाले बताए ।

यस्तो डरलाग्दो अवस्था सृजना हुँदा पनि सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड पालना नगरेर ठूलो गल्ति गरिरहेको बास्तोलाले बताए । युके भेरियन्ट नेपालमा आइसकेको अवस्थामा लापरबाही गर्नुले अब ठूलो क्षति हुन सक्ने चेतावनी उनले दिए । संक्रमण नियन्त्रणका लागि सरकार र जनता दुवै पक्ष सचेत हुनुपर्ने उनको भनाई छ ।

डा. बास्तोलाले अहिले युवा पुस्ताहरूमा बढि संक्रमण लागेको तथ्यांक सुनाए । उनले भने,‘हामी सरकारलाई मात्रै दोष दिईरहेका छौं । तर, हामीले जनस्वास्थ्यका सबै मापदण्ड तोडिसकेका छौं । हामीले स्वास्थ्य प्रोटोकल पालना गरेनौं भने भोलिका दिनमा गम्भीर चूनौति भोग्नुपर्ने हुन्छ ।’ उनले अनावश्यक कामबिना भीडभाड नगर्नसमेत आम नागरिकमा अपिल गरेका छन् । उनले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका तत्काल परीक्षण गराउन र आइसोलेशनमा बस्नसमेत आग्रह गरे ।

अहिले नै रोकथामका लागि व्यवस्थित उपाय अपनाउन नसके अबको ५ महिनाभित्रमा उपचारसमेत गराउन नसक्ने अवस्था सृजना हुने बास्तोलाले बताए । काम नभएकाहरु सेल्फ लकडाउनको शैलीमा घरमै बस्न बास्तोलाले सुझाब दिएका छन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप