मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जनकपुर उपमहानगरले ल्यायो २ अर्ब ६५ करोडको बजेट

सोमबार, २९ असार २०८३, १७ : ४०
सोमबार, २९ असार २०८३

सारांश

  • जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २ अर्ब ६५ करोड २० लाख ३२ हजार रुपैयाँको बजेट नगरसभामा प्रस्तुत गरेको छ ।
  • कानुनी समयसीमा नाघेर १९ दिन ढिला गरी असार २९ गते बजेट प्रस्तुत गरिए पनि यसले नगरवासीलाई गुणस्तरीय सेवा प्रवाह, व्यवस्थित सहरी विकास तथा दिगो पूर्वाधार निर्माणलाई थप प्रभावकारी बनाउने दाबी गरिएको छ ।
  • आन्तरिक आय वृद्धि, पूर्वाधार विकास तथा सहरी उत्थानशीलता परियोजनालाई प्राथमिकतामा राखिएको यस बजेटमा सरसफाइ, पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, रोजगारी सिर्जना, पूर्वाधार निर्माण तथा नगर सौन्दर्यीकरणलाई मुख्य प्राथमिकतामा राखिएको छ ।

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले कानुनी समयसीमा नाघेर आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक बजेट सार्वजनिक गरेको छ ।

स्थानीय सरकारहरूले असार १० गतेभित्रै बजेट ल्याइसक्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्था भए पनि उपमहानगरपालिकाले १९ दिन ढिला गरी असार २९ गते मात्र नगरसभामा बजेट प्रस्तुत गरेको हो । 

चालु आर्थिक वर्ष समाप्त हुन केही दिन मात्र बाँकी छँदा नगरप्रमुख मनोजकुमार साहले आगामी आर्थिक वर्षका लागि २ अर्ब ६५ करोड २० लाख ३२ हजार रुपैयाँको बजेट नगरसभामा प्रस्तुत गरे । 

नयाँ आर्थिक वर्ष सुरु हुनु अगावै बजेट पारित भई साउन १ गतेदेखि नै खर्च गर्ने बाटो खुलोस् र विकास निर्माणका कार्यहरू सुचारु रूपमा अगाडि बढ्न सकून् भन्ने उद्देश्यले असार १० गतेभित्र बजेट ल्याउनुपर्ने समयसीमा तोकिएको हुन्छ ।

तोकिएको समयभित्र वार्षिक नीति, कार्यक्रम तथा बजेट सभामा पेस नगर्ने जनकपुरधाम सहितका स्थानीय तहहरूलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि नै स्पष्टीकरण सोधिसकेको छ । स्पष्टीकरणको दबाब र कानुनी जटिलताबिच उपमहानगरपालिकाले ढिलो गरी बजेट ल्याएको हो । 

ढिला गरी प्रस्तुत गरिएको यस बजेटमा आन्तरिक आय वृद्धि, पूर्वाधार विकास तथा सहरी उत्थानशीलता परियोजनालाई प्राथमिकतामा राखिएको छ । उपमहानगरपालिकाले यस वर्ष नगरको सरसफाइ, पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, रोजगारी सिर्जना, पूर्वाधार निर्माण तथा नगर सौन्दर्यीकरणलाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ । 

बजेट ढिला प्रस्तुत भए पनि यसले नगरवासीलाई गुणस्तरीय सेवा प्रवाह, व्यवस्थित सहरी विकास तथा दिगो पूर्वाधार निर्माणलाई थप प्रभावकारी बनाउने दाबी नगरप्रमुख साहले गरेका छन् । 

उपमहानगरपालिकाका अनुसार कूल बजेटमध्ये नेपाल सरकारबाट प्राप्त हुने ३० करोड ५९ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान र प्रदेश सरकारबाट प्राप्त हुने करिब २ करोड रुपैयाँ समानीकरण अनुदानलाई स्रोतका रूपमा राखिएको छ ।

यसैगरी नेपाल तथा प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाट, ससर्त अनुदान तथा चालु आर्थिक वर्षमा बचत हुने रकमबाट बाँकी स्रोत व्यवस्थापन गरिने उल्लेख छ ।

उपमहानगरपालिकाले आगामी वर्ष २० करोड रुपैयाँ आन्तरिक स्रोतबाट संकलन गर्ने लक्ष्य लिएको छ । ढिलो गरी बजेट आएका कारण साउन १ गतेदेखि नै योजनाहरूको कार्यान्वयन प्रक्रिया सुरु गर्न भने प्राविधिक चुनौती थपिन सक्ने देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप