बैंकक बार आगलागीमा सुरक्षामा लापरबाही भएको आशंका, अनुसन्धान तीव्र
सारांश
- थाइल्यान्डको बैंककमा बारमा भएको आगलागीमा २८ जनाको मृत्यु भएपछि सुरक्षामा लापरबाही भएको आशंकामा अनुसन्धान सुरु गरिएको छ।
- प्रारम्भिक अनुसन्धानले अत्यधिक ज्वलनशील सामग्रीको प्रयोग र एयर कन्डिसनरको सर्ट सर्किटका कारण आगो फैलिएको देखाएको छ।
- विज्ञहरूले ढोका बन्द हुनु र बाहिर निस्कने बाटो नहुँदा धेरैको ज्यान गएको बताएका छन्।
थाइल्यान्ड । थाइल्यान्डको राजधानी बैंककस्थित एक बारमा आइतबार राति भएको भीषण आगलागीमा कम्तीमा २८ जनाको मृत्यु भएपछि अधिकारीहरूले सुरक्षासम्बन्धी गम्भीर लापरबाही भएको आशंकामा अनुसन्धान सुरु गरेका छन्। आगलागीमा दर्जनौँ व्यक्ति घाइते भएका छन्।
थाई प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा बारको मञ्चनजिकैबाट आगलागी सुरु भएको र सजावटका लागि प्रयोग गरिएका अत्यधिक ज्वलनशील सामग्रीका कारण आगो तीव्र रूपमा फैलिएको जनाएको छ। थाइल्यान्डका प्रहरी प्रमुख कित्तिरात फानफेतले सुरक्षाप्रति पर्याप्त सावधानी नअपनाइएको र सेवाग्राहीको सुरक्षालाई बेवास्ता गरिएको देखिएको बताएका छन्।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानले एयर कन्डिसनरमा भएको सर्ट सर्किटका कारण आगलागी सुरु भएको देखाएको छ। त्यसपछि बारभरि विद्युत् आपूर्ति अवरुद्ध भएको थियो। उद्धारकर्मीहरूले अधिकांश मृतकलाई बारको पछाडिपट्टिको शौचालय क्षेत्रमा फेला पारेका थिए। विज्ञहरूका अनुसार आगोबाट बच्न उनीहरू त्यहाँ पुगे पनि बाहिर निस्कन नसकेर ज्यान गुमाए ।
थाइल्यान्ड इन्जिनियरिङ संस्थाकी अग्नि सुरक्षा विज्ञ बुसाकोर्न साएन्सुकले घटनास्थल निरीक्षणपछि शौचालय नजिकको ढोका बन्द अवस्थामा रहेको र मुख्य प्रवेशद्वारका दुईवटा ढोका फर्निचर तथा अन्य सामग्रीले आंशिक रूपमा छेकिएको पाइएको जानकारी दिएकी छन्। उनका अनुसार आगलागी हुँदा मानिसहरू स्वाभाविक रूपमा आगोबाट टाढा भाग्दै पछाडितर्फ पुगेका थिए। तर त्यहाँ पुगेपछि बाहिर निस्कने बाटो नपाएकाले उनीहरू फसे ।
मञ्चमा प्लास्टिकका फूलजस्ता अत्यधिक ज्वलनशील सामग्री प्रयोग गरिएको र छतमा पनि सजिलै आगो समाउने फोम राखिएको साएन्सुकले बताइन् । बाँच्न सफल व्यक्तिहरूले केही सेकेन्डमै मञ्च आगोले ढाकिएको बताएका छन्। आगलागी हुँदा प्रस्तुति दिइरहेको थाई स्वतन्त्र सांगीतिक समूह थोत्साकानका दुई सदस्यको पनि घटनामा मृत्यु भएको छ।
संरचनात्मक इन्जिनियरिङका प्राध्यापक वोर्साक कानोक नुकुलचाइका अनुसार धेरैको मृत्यु आगोले भन्दा पनि विषालु धुवाँका कारण भएको हुन सक्छ। आगोले ज्वलनशील सामग्री छोएपछि कार्बन मोनोअक्साइड र हाइड्रोजन सायनाइडजस्ता घातक ग्यास उत्पन्न भएको उनले बताएका छन्।
बैंकक महानगर प्रशासनका अनुसार उक्त बार मनोरञ्जनस्थलका रूपमा नभई प्रत्यक्ष सांगीतिक प्रस्तुति हुने रेस्टुरेन्टका रूपमा दर्ता गरिएको थियो। त्यसैले त्यहाँ आगो प्रतिरोधी निर्माण सामग्री प्रयोग गर्नु कानुनी रूपमा अनिवार्य थिएन। घटनापछि महानगर प्रशासनले मनोरञ्जनस्थल र रेस्टुराँमा प्रयोग हुने निर्माण तथा सजावटी सामग्रीसम्बन्धी नियमहरूको पुनरावलोकन सुरु गरेको जनाएको छ।
पीबीएस थाईका अनुसार उक्त बारका सञ्चालकले यसअघि यासोथोन प्रान्तमा अर्को पब सञ्चालन गरेका थिए, जुन सन् २०१९ को डिसेम्बरमा आगलागीबाट नष्ट भएको थियो। त्यसबेला आगलागी दिनको समयमा भएकाले कुनै मानवीय क्षति भएको थिएन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देश निराशा र सङ्कटमा छ, लोकतन्त्र समाप्त भए कोही रहँदैनौँ : डा. अमरेश सिंह
-
आज सुनको मूल्य प्रतितोला १२ सयले घट्यो
-
नाइजेरियाको बेनु राज्यमा बन्दुकधारीको आक्रमण, कम्तीमा १८ जनाको मृत्यु
-
सुरक्षा घेराभित्र लुकेर हिँड्ने अनधिकृत पात्रहरूको आतङ्क बढ्यो : निश्कल राई
-
विशेष अदालतमा मुद्दा दायर भइसकेको राहदानी प्रकरणलाई धेरै नगिजोल्न रास्वपाको माग
-
ब्राजिलको सर्वोच्च अदालतले बोल्सोनारोका छोरालाई ९० दिन बुवासँग भेट्न रोक लगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण