शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुपर लिगको प्ले अफमा काठमाडौं रेजर्स

आइतबार, २६ वैशाख २०७८, २१ : २४
आइतबार, २६ वैशाख २०७८

चितवन एफसीमाथि जित निकाल्दै काठमाडौं रेजर्स तालिकाको शिर्ष स्थानमा रहँदै नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको लिग चरणको अन्तिम खेलमा एफसी चितवनलाई २–१ गोल अन्तरले पराजित गर्दै काठमाडौं प्ले अफमा प्रवेश गरेको हो । काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउ र संजोक राईले एक एक गोल गरे भने चितवनका राजिव लोप्चनले सान्तोना गोल फर्काएका थिए ।
पराजय सँगै चितवन जारी प्रतियोगितामा जित विहिन हुँदै बाहिरिएको छ । ६ खेलबाट २ खेलमा मात्र बराबरी खेलेको चितवनले बाँकी सबै खेल गुमाउँदै प्रतियोगिताबाट बाहिरिएको हो । 

काठमाडौंलाई अग्रता निकाल्ने क्रममा १७ औं मिनेटमा मेसौके ओलोमोउले गोल गरेका थिए । ३४ औं मिनेटमा संजोक राईले गोल गर्दै काठमाडौंलाई २–० को अग्रता दिलाए । विश्वास श्रेष्ठको पासमा चितवनका डिफेन्डरले क्लियर गर्न नसकेको बलमा संजोकले गोल गरेका थिए ।
खेलको ४० औं मिनेटमा राजीब लोप्चनले गोल गर्दै चितवनलाई २–१ को स्थितिमा ल्याए । सुनिल श्रेष्ठको प्रहार काठमाडौंका गोलकिपर विनायक श्रेष्ठले रोकेपछि आएको रिबाउन्डमा राजिबले गोल गर्दै अग्रता घटाएका थिए । 

८१ औं मिनेटमा काठमाडौंका प्रिजेन तामाङले गोलकिपरसँगको वान भर्सेस वानमा गोलको अवसर गुमाए । प्रिजेनको कडा प्रहार चितवनका गोलकिपर रोमन रसाइलीको टाउको लाग्दै बाहिरिएको थियो । ८४ औं मिनेटमा पनि प्रिजेन गोल गर्न चुके । खेलमा काठमाडौंका तेज तामाङ प्लेयर अफ दि म्याच चुनिए ।

 उनले २५ हजार प्राप्त गरे । इमर्जिङ प्लेयर अफ दि म्याच काठमाडौंका विश्वास उदास चुनिँदै नगद १० हजार प्राप्त गरे ।

जितसँगै काठमाडौंले ६ खेलमा १३ अंक जोड्यो । अब काठमाडौंले प्ले अफमा दोस्रो स्थानको धनगढी एफसीसँग खेल्नेछ । अर्को प्ले अफमा ललितपुर सिटीले बुधबार बुटवल एफसीसँग खेल्नेछ । काठमाडौं र धनगढीबीचको खेल मंगलबार हुनेछ । 

यस खेलको विजेता फाइनल पुग्नेछ । यस खेलमा पराजित हुने टोलीले बिहीबार ललितपुर र बुटवल लुम्विनीबीचको विजेतासँग फाइनल प्रवेशका लागि इलिमिनेटर खेल्ने जनाइएको छ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप