आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय
ओलीको भारत भ्रमण

प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने

शनिबार, ३१ जेठ २०८२, १५ : ४५
शनिबार, ३१ जेठ २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने निश्चित भएको छ । 

प्रधानमन्त्री ओलीकाे भारत भ्रमण पछिल्लो भेटघाटले निश्चित भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । भारत भ्रमणमा जाने मिति तय भइनसके पनि तयारी भने थालिएको मन्त्रालयका एक अधिकारीले बताए । 

परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावास यसकाे तयारीमा जुटेको छ । भ्रमणमा के–के विषयमा छलफल हुने, समझदारी र सम्झौता हुने त्यसको खाका तयार भइरहेको मन्त्रालय स्रोतको भनाइ छ । 

मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले तयारी धेरै अघिदेखि भएको र पछिल्लो अपडेट के छ त्यो बुझेर मात्र भन्न सकिने बताए । भ्रमणको मिति तय भइसकेपछि सबैलाई यसबारे जानकारी दिइने उनले बताए । 

प्रधानमन्त्री ओली असार १५ गते स्पेन भ्रमणमा जाँदैछन् । उताबाट फर्केपछि भारत भ्रमण तालिकाबारे छलफल हुने उनको भनाइ थियो । 

भारतीयसँग ओलीको सम्बन्ध चिसिँदै गएको देखिएको छ । ओलीले भारत भ्रमणमा जाने इच्छा देखाए पनि भारतबाट निम्तो भने आएको थिए । तर पछिल्लो समय, खासगरी पहलगाम घटनापछि सम्बन्धमा सुधार राजनीतिक वृत्तमा चर्चा हुने गरेको छ । 

 त्यसो त ओली र भारतीय प्रधानमन्त्री मोदीबिच दुई पटक भेटघाटसमेत भइसकेको छ । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका गएका वेला असोज ७ गते र थाइल्याण्डमा भएको बिम्स्टेक बैठकमा दुई देशका प्रधानमन्त्रीबिच भेटघाट भएको थियो । 

अमेरिकामा भएको भेट त्यति महत्वपूर्ण नभए पनि थाइल्याण्डमा भने महत्त्वपूर्ण भेट भएको मानिएको छ, जहाँ दुवै देशका प्रधानमन्त्रीले एक्लाएक्लै भेट गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप