आलोचना बढेपछि रिसाएका प्रचण्ड

समाचार सारांश
- माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विराटनगर विमानस्थलमा पत्रकारको प्रश्नमा असन्तुष्टि जनाए।
- प्रचण्डलाई दुई बुँदे सहमति र भिजिट भिसा प्रकरणबारे प्रश्न सोधिएको थियो, जसमा उनले विभिन्न प्रतिक्रिया दिए।
- सहमतिप्रति माओवादी नेता कार्यकर्ता र सर्वसाधारणले असन्तुष्टि जनाएका छन्, तर प्रचण्डले यसलाई देशको हितमा भएको बताए।
विराटनगर । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार बिहान विराटनगर विमानस्थलमा पत्रकारहरूको प्रश्नमा झर्को माने । सधैँ नम्र र सरल तरिकाले पत्रकारको प्रश्नको सामना गर्ने र जवाफ दिने गरेका प्रचण्ड सुरुकै प्रश्नबाट चिढिएका थिए ।
पत्रकारको पहिलो प्रश्न थियो, ‘प्रचण्डको एउटा पहिचान छ रे, ढाँट्दिने भनेर । अब रास्वपालाई छोड्दिएर स्वाट्टै संसद् खोल्दिनुभयो । हिजोसम्म राजीनामा नभइकन हुँदै हुँदैन त भन्नुहुन्थ्यो । के कुरामा चाहिँ सेटिङ भयो ? ।’ यो प्रश्नमा प्रचण्डले अगाडि बढ्ने र पछि हट्ने खालका कदमहरु राजनीतिमा चालिने बताए ।
त्यहि बिचमा अर्को प्रश्न प्रचण्डलाई आइलाग्यो, ‘यो मुद्दा अग्नि सापकोटासँग साट्नुभएको हो ? ।’ त्यसपछि प्रचण्डले भने– ‘यो बिल्कुल गलत कुरा । वाहियात कुरा हो । मानिसहरूले प्रचार गर्ने गर्या छन् । त्यस्तो केही नि होइन । यो कुरा र अग्निको कुनै साइनो सम्बन्ध छैन ।’
फेरि प्रचण्डलाई अर्को प्रश्न आयो, ‘तपाईंलाई कांग्रेस एमालेले थाङ्नामा सुताएको कि आफैँ सुत्नुभएको हो ?’ जवाफ दिँदै प्रचण्डले भने, ‘तपाईंहरुको बुझाइ सुतेको हो ।’ प्रचण्डलाई अर्को प्रश्न पनि प्रहार भयो, ‘जनार्दन शर्मालाई तपाईंले किन पार्टी छोड भन्नुभएको ? ।’ जवाफमा प्रचण्डले भने, ‘भनेकै छैन, त्यो बेकारको कुरा हो ।’
प्रचण्डलाई प्रश्नको वर्षा हुँदाहुँदै अन्य नेता तथा कार्यकर्ताले अब सकियो भनेपछि प्रश्नोत्तर सकियो । तर, प्रचण्डलाई दुई बुँदे सहमतिको विषयलाई लिएर पत्रकारले मात्रै प्रश्न गरिरहेका छैनन् । स्वयम् माओवादीका नेता तथा कार्यकर्ताले पनि प्रश्न गरेका छन् ।
‘सहमति सन्तोषजनक छैन । सहमतिका लागि किन बाध्य हुनुपर्यो ?,’ माओवादी कोशी प्रदेशका उपाध्यक्ष शिवकुमार डाँगीले सामाजिक सञ्जालमा लेखेका छन् । उनको स्टाटसमा धेरैले कमेन्ट गर्दै प्रचण्डको उछितो काडेका छन् ।
विराटनगर विमानस्थलमा प्रचण्ड आउनु अगाडि भेला भएका नेता तथा कार्यकर्तामा पनि भिजिट भिसा प्रकरणको विषयमा कानेखुसी पर्याप्त भइरहेको थियो । अधिकांशले असन्तुष्टि जनाए पनि सार्वजनिक अभिव्यक्ति दिन भने सकेनन् । ‘यो चित्त नबुझेकै कुरा हो । तर, बाहिर बोल्न सकिँदैन, हामी रमिता हेर्ने हो,’ एक नेताले भने ।
माओवादीका केन्द्रीय सदस्य रञ्जित तामाङले भने दुई बुँदे सहमतिको विषयमा धेरै आलोचना गर्नुपर्ने अवस्था नरहेको बताए । ‘यहाँ डाडुमा भात पकाउनेहरूले भाँडामा भात पकाउनेलाई गाली गरिरहेका छन्,’ उनले भने, ‘डाडुमा भात पाक्दैन । भाँडै चाहिन्छ । प्रचण्डलाई देशको चिन्ता नलाग्ने । अरूलाई लाग्ने पनि हुन्छ र ?’ उनले अहिलेको आलोचनाले केही फरक नपार्ने बताए ।
भिजिट भिसाका नाममा भएको भनिएको मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने भन्दै माओवादीलगायतका प्रतिपक्षी दलहरूले गत जेठ १३ गतेदेखि सङ्घीय संसद्को बैठक अवरुद्ध हुँदै आएको थियो । उक्त अवरोध खुलाउन भन्दै माओवादीले शुक्रबार एमालेसँग दुई बुँदे सहमति गरेको छ ।
उक्त सहमतिमा अख्तियारले छानबिनका लागि माग गरे बमोजिम नेपाल सरकारले आवश्यक सहयोग गर्ने र अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवं छानबिन गरी नीतिगत, कानुनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गर्ने उल्लेख छ ।
सो सहमति देश र जनताको बृहत्तर हितको निम्ति भएको प्रचण्डको तर्क छ । तर, आम सर्वसाधारण र स्वयम् माओवादी समर्थकहरूले उधारो सहमति, लज्जास्पद सहमति वा गर्नै नहुने सहमति भन्दै सामाजिक सञ्जालमा व्यापक असन्तुष्टि जनाइरहेका छन् । सहमतिपछि शुक्रबारदेखि संसद् चलेको छ भने प्रतिपक्षी दलहरु रास्वपा र राप्रपाले भने गृहमन्त्रीको राजीनामा आउनुपर्ने र छानबिन समिति निर्माण हुनुपर्ने मागलाई यथावत् राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बयानका लागि सहसचिव भट्टराई अख्तियारमा
-
लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार
-
औद्योगिक घरानाहरूलाई फिल्म हलमा आकर्षित गराएर रोजगारी बढाउनुपर्छ
-
रास्वपा र राप्रपाले संसदमा विरोध जारी राख्ने
-
बिचौलियाको सिन्डिकेट जनप्रतिनिधि संस्थाभन्दा बलियो छ : विराजभक्त श्रेष्ठ
-
क्लब विश्वकपमा बराबरीमा रोकियो मेस्सीको मियामी