शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

जसपालाई प्रधानमन्त्री दिन एमाले तयार छ ?

बुधबार, ०५ जेठ २०७८, १९ : ५५
बुधबार, ०५ जेठ २०७८

संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जेठ ३० भित्र विश्वासको मत लिनुपर्ने बाध्यता छ । त्यसका लागि उनले जनता समाजवादी पार्टी (जसपा) नेपाललाई सरकारमा सहभागी गराउने प्रयत्न गरिरहेका छन् ।

तर, दलहरुको समीकरणलाई हेर्ने हो भने प्रधानमन्त्री ओलीले फेरि पनि विश्वासको मत पाउने अवस्था देखिएको छैन । अर्कोतिर ओलीले सहयोगको अपेक्षा गरेको जसपाले फेरि पनि उनलाई साथ सहयोग गर्ने अवस्था अहिलेसम्म देखिएको छैन ।

ओलीले विश्वासको मत पाउन नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपामध्ये कुनै एक दलको सहयोग अनिवार्य लिनुपर्छ ।

माओवादी केन्द्र र काँग्रेसले यसअघि नै ओलीको विकल्पमा सरकार गठनको प्रयास गरेका हुन् । यो प्रयासमा उनीहरु असफल भएपछि ओली नै संविधानको धारा ७६ को ३ अनुसार पुनः प्रधानमन्त्री बनेका हुन् ।

पुनः प्रधानमन्त्री भएपछि पनि ओलीले विश्वासको मतका लागि काँग्रेस र माओवादीतर्फ भन्दा जसपातिर नै बढी भर गरेका छन् । पार्टीभित्रको विवाद मिलाउने र जसपा नेपालको समर्थन लिएर विश्वासको मत हासिल गर्ने उनको दाउ छ ।

ओलीले जसपालाई साथमा लिने प्रयासका बावजुद सत्ता राजनीतिकै कारण आन्तरिक विवादले फुटको डिलमा पुगेको जसपाका दुई पक्ष (महन्थ ठाकुर र उपेन्द्र यादव) बीच पार्टी एकता नटुटाउने र अरुको नेतृत्वको सरकारमा पनि नजाने सहमति मंगलबार सार्वजनिक भएको छ ।

​महन्थ र यादवबीचको यो सहमति नाटकीय रुपमा परिवर्तन नभए अव ओलीले जसपाको साथ नपाउने प्रस्ट चित्र देखिएको छ । साथै,जसपाको पछिल्लो समझदारीले बहुमत जुटाएर यही सरकारको निरन्तरता दिन खोजेका प्रधानमन्त्री ओलीलाई अर्को झट्का लाग्ने विश्लेषकहरुको भनाइ छ ।

यसले जेठ १५ भित्रै बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यताअनुसार अघि बढ्नसमेत प्रधानमन्त्री उनलाई चुनौती थपिदिएको छ ।

यस्तो अवस्थामा कि त संविधानको अर्को धारा र प्रक्रियाबाट नयाँ सरकार गठन गर्नुपर्ने हुन्छ । त्यसका लागि काँग्रेस माओवादी असफल भैसकेको अवस्थामा संसदबाट नयाँ सरकार दिनलाई एमालेले जसपालाई साथ दिन जरुरी हुन्छ ।

एमालेका अध्यक्षसमेत रहेका केपी शर्मा ओली जसपालाई प्रधानमन्त्री बनाउनुभन्दा चुनाव घोषणा नै उपयुक्त ठानिरहेका छन् । तर अरु दलमा बढ्दो अविश्वास देखेका बुझेका जसपाका नेताहरु भने आफ्नो नेतृत्वमा सरकार गठन गर्न सकिने आशाबाट मुक्त हुन सकेको छैनन् ।

त्यही बुझेर जसपाका नेताहरुले पछिल्लो समय संसदीय दलको नेता परिवर्तनको विषयलाई समेत निकै चर्चाको विषय बनाउन पुगेको चर्चा जसपाभित्र सुनिएको छ ।

जसपाले भनेजस्तै उसको नेतृत्वमा सरकार गठन गर्न एमालेले साथ दिन्छ त ? अहिले यो कोणबाट समेत विश्लेषण हुन थालेका छन् । तर एमालेका धेरै नेताहरु त्यतातिर नसोचेको बताउँछन् ।

एमाले स्थायी समिति सदस्यसमेत रहेका सत्यनारायण मण्डल जसपालाई समर्थन गरेर जानुभन्दा प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने अवस्था आए राजनीतिक निकासका लागि अर्ली इलेक्सनमा जानुको विकल्प नभएको बताउँछन् ।

‘जसपाले सरकार बनाउन किन रहर गर्नु ? उनीहरु अहिलेसम्म सरकारको नेतृत्व गरेर कुनै पनि सन्धीसम्झौता गरेका छैनन्, यस हिसावले उनीहरुको छविमा दाग लागेको छैन’, मण्डल भन्छन्, ‘यदि जसपाले सरकार बनाए पनि मुलुकको समस्या समाधान गर्न सक्दैन । त्यसैले उसले आफै जानेर पनि सरकारको नेतृत्व गर्नुहुँदैन ।’

नेता मण्डल जसपाले सरकारको नेतृत्व गर्ने र एमालेले उसलाई साथ दिने सम्भावना नरहेको भन्दै बरु निकास दिन अर्ली इलेक्सनमा जानु बुद्धिमता र सवैको भलो हुने बताउँछन् ।

संविधान संशोधन गर्नुपर्ने समस्या बाँकी नै रहेको भन्दै मण्डलले त्यो कामसमेत जसपाले गर्न नसक्ने भएकाले जसपाले जान्ने हो भने चुनावमा जान तयार रहनुपर्ने बताए ।

​‘चुनावमा जाँदा समस्याको समाधान हुन्छ । जनता रातदिन मरिरहेका छन् । उनीहरुको समस्या बुझ्नुपर्ने, राहत दिनुपर्ने बेलामा के को सरकार परिवर्तनको खेल खेल्ने ? मेरो विचारमा त बरु थपक्क चुनावमा जानु नै ठीक हो’, मण्डलको भनाई छ । अर्कोतिर अहिलेको संविधानमाथि नै मधेसी दलहरुले असन्तुष्टि जनाएको र पुर्ण छैन भनेको अवस्थामा उनीहरुले सरकारको नेतृत्व गरेर केही नहुने बताउछन् । ‘अहिलेको अवस्थामा सत्तामा आएर जसपाले संविधान संशोधन गर्न सक्छ त ? सक्दैन’, मण्डलको भनाइ छ ।

जसपा नेपालका नेता भने एमालेबाट समर्थन पाउनेमा विश्वस्त रहेको बताउँछन् । जसपा नेपालका कार्यकारिणी समिति सदस्य तथा प्रदेशसभा सदस्य मनीषकुमार सुमनले जसपा नेपालको नेतृत्वमा सरकार गठनका लागि एमालेले सहयोग गर्नेमा आफू विश्वस्त रहेको बताए ।

त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रक्रिया पूरा गर्नुपर्ने उनको भनाइ छ । ‘पहिला त प्रधानमन्त्रीले विश्वासको मत लिने कोर्स पूरा गर्नुपर्छ,’ उनले भने, ‘त्यसपछि संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनका लागि जसपा नेपाल अग्रसर हुन्छ, मलाई लाग्छ कि यसमा एमालेमात्र होइन, अरु दलले पनि हामीलाई साथ दिन्छन् ।’

प्रधानमन्त्री ओलीले फेरि पनि विश्वासको मत हासिल गर्न नसक्ने संकेत देखिएको जिकिर गर्दै जसपा नेता सुमनले त्यसपछिको परिस्थितिमा जसपा नेपालले सरकारको दावी स्वाभाविक रुपमा गर्ने बताए ।

‘हामीले अविश्वास प्रस्ताव वा विश्वासको मत सम्बन्धमा तटस्थ रहने नीति अपनाएका छौं,’ उनले भने, ‘हामी आफ्नै नेतृत्वमा सरकार बनाउन मात्र अग्रसर हुन्छौं र हामीलाई एमालेमात्र होइन, अन्य दलले पनि असहयोग गर्नुपर्ने कारण म देख्दिनँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप