‘अघोरी’ माथि अन्तरक्रिया : पुस्तकले नयाँ उर्जा दिन्छ

काठमाडौं – नेपाली कथा लेखनमा सुस्तता छाइरहेको बेला आख्यानकार राजेन्द्र पराजुलीको भर्खरै प्रकाशित पुस्तक ‘अघोरी’ले नयाँ उर्जा दिने काम गरेको साहित्यकारहरुले बताएका छन् । काठमाडौंमा सोमबार आयोजित एक अन्तरसंवादका सहभागीहरुले यस्तो धारणा व्यक्त गरेका हुन् ।
‘यो संग्रहमा विविध खालका पात्र छन्, विविध खालका कथा छन् । यसमा राजनीतिक बिषय वस्तुमात्र छैन, समाजका थुप्रै क्षेत्रका विसंगति र यथार्थ पनि प्रतिबिम्बित भएका छन्,’ लेखक नयनराज पाण्डेले भने, ‘वर्तमानमा जे भइरहेको छ, हामीले त्यही लेख्ने हो । राजेन्द्रजी र म साथी पनि हौं । हामी दुवैका कतिपय कथामा उस्तै भावना, उस्तै हेराई पाउँछु म ।’
साहित्यकार अर्चना थापाले ‘अघोरी’का धेरैवटा कथा पत्रकारिताको हेराईबाट, पत्रकारको बुझाईबाट आएजस्तो लाग्ने टिप्पणी गरिन् । ‘सायद जुन कुरा पत्रकारितामा लेख्न सम्भव छैन, त्यो कथाका रुपमा आएको होला,’ लेखक थापाले भनिन्, ‘कतिपय कथाले मलाई निकै तान्यो, तर कतिपयमा चाहिं इन्डिङ ट्रिकी भएन जस्तो लाग्यो । यसमा यस्तो लेखिदिए हुन्थ्यो नि, यस्तो आए पनि हुन्थ्यो भन्ने लागिरह्यो ।’
लेखक पाण्डेले चाहिं अघोरीका कतिपय कथालाई ‘ओपन इन्ड’ छाडिदिने शैली आफूलाई मन परेको उल्लेख गरे । ‘त्यसलाई पाठकहरुले आफैं बुझुन् भन्ने लेखकको मनसाय होला,’ उनले भने । छलफलको सञ्चालन लेखक एवम् पत्रकार यज्ञशले गरेका थिए ।
उनले र अन्य सहभागीले सोधेका प्रश्नहरुको जवाफ दिने क्रममा कथाकार पराजुलीले आफूलाई जे कुराले छोयो, त्यही लेखेको बताए । ‘म काँठको कथा लेख्छु, किनभने म काँठे हुँ । पत्रकारिताको कुरा लेख्छु, किनभने म पत्रकार पनि हुँ । मैले जे देखें, त्यो लेखें,’ उनले भने, ‘कसरी लेखें, किन लेखें, त्यसबारे बताइरहन मलाई त्यति रुची लाग्दैन । कथा आफैंले उत्तर दिन सकोस् भन्ने लाग्छ ।’
किताब पब्लिसर्सद्वारा प्रकाशित ‘अघोरी’ कथाकार पराजुलीको सातौं कृति हो । कार्यक्रममा लेखकले सहभागीका विभिन्न जिज्ञासाको जवाफ दिएका थिए । छलफलका क्रममा नेपाली साहित्य लेखनका विविध पाटोबारे पनि चर्चा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न