बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

बमकाण्डका आरोपी सांसद आलम पक्राउ परेपछि बल्ल बोल्न थाले पीडित

आलमले गरे प्रहरीमाथि नै गालीगलौज, हिरासतमै भोक हड्तालको धम्की
मङ्गलबार, २८ असोज २०७६, १५ : ५८
मङ्गलबार, २८ असोज २०७६

रौतहट । रौतहट बमकाण्डका मुख्य आरोपी भनिएका नेपाली काँग्रेसका सांसद मोहम्मद आफताब आलम पक्राउ परेपछि जिल्ला प्रहरी कार्यालय गौरको हिरासतमा रहेका विभिन्न मुद्दाका थुनुवाहरूसँग उनले दुई रात बिताएका छन् ।

आइतबार बिहान करिब ११ बजे इद्रिसगेट नजिकैबाट पक्राउ परेका आलम राति ९ बजे जिल्ला प्रहरी कार्यालय गौरको थनुवा कक्षमा थुनुवासँगै राखिए । त्यसपछिको दुई रात उनले अन्य कैदीबन्दीसँगै हिरासतमा बिताए ।

पक्राउ गर्दा प्रहरीलाई गाली

२०६४ साल चैत २७ गते राजपुरमा भएको बमकाण्डका आरोपी सांसद आलमलाई इद्रिसगेटमा प्रहरीले समात्नुअघि पक्राउ पुर्जी दिँदा उनले लिन मानेनन् । त्यसपछि प्रहरीले स्थानीय पाँच जनालाई साक्षी राखी सांसद आलमलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ पुर्जी लिन नमान्दा पनि प्रहरीले आफूलाई पक्राउ गरेको भन्दै आलमले पक्राउ गरेर ल्याउने प्रहरीलाई बाटोभरी नै गालीगलौज गरेका थिए ।

भोक हड्तालको धम्की

जिल्ला प्रहरी कार्यालयमा अनुसन्धानका लागि ल्याइएका आलमले आफूलाई षडयन्त्रपूर्वक फसाइएको भन्दै यसमा प्रहरी प्रशासन र राज्य संयन्त्रको मिलेमतो रहेको बताइरहेका थिए । प्रहरीले पक्राउ गरेपछि आक्रोशित बनेका आलमले प्रहरीले दिएको पानी पनि नखाई भोक हडतालमा बस्ने भनी पटक–पटक धम्की दिएका थिए ।

प्रहरी नियन्त्रणमा रहेका सांसद आलमको ब्लडप्रेसर हाई हुँदा आइतबार साँझ उनका आफन्त डाक्टर कौसर आलमलाई बोलाएर स्वास्थ्य जाँच गराई चिनीरोग र प्रेसरको औषधिसमेत खाएका थिए ।

फौजदारी कसुरको आरोपमा पक्राउ परेपछि ५५ वर्षीय निलम्बित सांसद आलमलाई भेट्न उनका आफन्त र काँग्रेसका नेता कार्यकर्ताहरू प्रहरी कार्यालयमै पुगेका थिए । उनीहरूसँग आलमले भेटसमेत गरेका छन् ।


...

प्रहरी प्रधान कार्यालयबाट सादा पोसाकमा आएका प्रहरी र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले आलमलाई आइतबार नियन्त्रणमा लिएको थियो । पूर्व प्रधानन्यायाधीशको निधनका कारण सोमबार देशैभरका न्यायालय बन्द भएको कारण मङ्गलबार बल्ल आलमलाई ७ दिन म्याद लिएर अनुसन्धान सुरु गरिएको छ । प्रहरीले १५ दिनको समय मागे पनि जिल्ला अदालतले भने ७ दिनको मात्रै समय दिएको हो ।

पीडित परिवारको आरोप, जिउँदै इँटाभट्टाको भुङ्ग्रोमा हालियो

काँग्रेसका सांसद आलम पक्राउ परेसँगै मृतक पिन्टु सिंहका बुवा र दाजुले घटनाबारे खुलेरै बोल्न थालेका छन् । मृतक सिंहका दाजु सत्येन्द्र सिंहले सांसद आलम लगायत उनका आफन्त र नजिकका मानिसहरूले भाइलाई बम बनाउन लगाएको र विस्फोट हुँदा सामान्य घाइते भएका भाइ पिन्टु सिंह, सेख ओसी अख्तर लगायत १३ जनालाई राजपुर गाउँ नजिकै रहेको इँटाभट्टामा जिउँदै जलाएर हत्या गरेको बताए ।

सांसद आलमको भाञ्जाको इँटाभट्टामा जलाइए मानिसलाई

मृतक पिन्टु सिंहका दाजुका अनुसार सांसद आलमले घटनाको सुराक र प्रमाण नष्ट गर्न आफ्नै भाञ्जाको इँटाभट्टामा घाइते र मृतकलाई लगी आगोको भुङ्ग्रोमा हालेर हत्या गरेका हुन् । स्थानीय बासिन्दा र प्रतक्षदर्शीको भनाइलाई उद्धृत गर्दै मृतकका दाजु सत्येन्द्र सिंहले आफ्नो भाइ घटनामा परी घाइते मात्रै भएको र उपचारका लागि भिख मागिरहँदा भाइसँगै अन्य घाइते र मृतकलाई ट्याक्टरमा राखी भाञ्जाको इँटाभट्टा राजा इँटामा लगि हत्या गरेर लाससमेत नष्ट गरेको आरोप लगाए ।

न्यायको आश पलायो

घटनाको १२ वर्षपछि आरोपी पक्राउ परेपछि अब भने न्याय पाउने भन्दै पीडित परिवार खुसी भएका छन् । नेपाल प्रहरीको सक्रियताले आरोपी पक्राउ परेपछि आफ्नो परिवारले न्याय पाउनेमा आसा पलाउन थालेको मृतकका दाजु सत्येन्द्र सिंहले रातोपाटीसँगको कुराकानीमा बताए ।

२०६४ चैत २७ गते पहिलो संविधान सभाको पूर्व सन्ध्यामा राजपुर नगरपालिका घर भएका मोहम्मद आफताब आलम नेपाली काँग्रेसका उम्मेदवारको रूपमा चुनावी मैदानमा थिए । तर जनताको मतबाट सांसद बन्न नसकिने अवस्था आएपछि उनी बुथ क्याप्चर गर्ने वा बम विस्फोट गराई ठूलो घटना गराउने र त्यसैको आडमा चुनाव जित्ने गरी तयारी थालेका थिए । त्यस कामका लागि आलमले भारतका विभिन्न स्थानबाट मानिसहरूलाई आफ्नो घरमा ल्याएर राखेका थिए भने आफ्नै गोठमा बम बनाउन लगाएका थिए ।

तर बम बनाउँदै गर्दा सोही बम बिस्फोट भई बम बनाउन लागेका अन्य भारतीयसँगै हाल यमुनामाई गाउँपालिका ४ सरुअठाका २४ वर्षीय सेख ओसी अख्तर र सोही स्थानका २२ वर्षीय त्रिलोकप्रताप सिंह भन्ने पिन्टु सिंह गम्भीर घाइते बनेका थिए । तर विस्फोटबाट गम्भीर घाइते बनेकाहरूलाई उपचारका लागि अस्पताल लग्नुको साटो आलमको निर्देशनमा उनका आफन्तहरूले ट्याक्टरमा राखी राजा इँटाभट्टाको आगोमा जिउँदै हालेर मारेको आरोप पीडित परिवारले लगाइरहेका छन् ।

ओसी अख्तरको आमा रोक्साना खातुन र सिंहको बुबा श्रीनारायण सिंहले आफताब आलम, महताब आलम, सेख मोविन, सेख भदई र शेख सेराजविरुद्ध किटानी जाहेरी दिँदा २०६५ साल जेठ ९ गते तत्कालीन सरकारी वकिल ध्रुवमणि ज्ञवालीले उक्त घटनामा प्रतिवादीहरूको दोष देखिने कुनै आधार प्रमाण नरहेको भन्दै मुद्दा नचल्ने भन्दै प्रहरीको मिसिल फिर्ता गरिदिएका थिए । त्यसपछि आरोपितहरू निर्दोष सावित हुँदै गाउँ फर्किएका थिए ।

जब उजुर गर्ने आमालाई समेत गोली हानेर हत्या गरियो

आफ्नो छोरालाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरिएको भन्दै उजुरी दिने सेख ओसी अख्तरकी आमा रोक्साना अख्तरलाई २०६७ पुस १० गते अज्ञात समूहले गोली हानेर हत्या गरे । रोक्साना अख्तरमाथि गोली हान्नुपर्ने अरू कुनै कारण थिएन । एक मात्र कारण भनेको रोक्सानाले आरोपितमाथि निगरानी राखिरहेकी थिइन् र सर्वोच्च अदालत पुग्ने जानकारी गराएकी थिइन् । त्यसपछि उनीमाथि ‘अज्ञात समूह’बाट गोली हानियो र उनको तत्कालै मृत्यु भयो । प्रहरीले अहिलेसम्म पनि त्यो ‘अज्ञात समूह’ भेट्न सकेको छैन ।

आफ्नो छोरा गुमाएकी आमाको पनि आपराधिक समूह प्रयोग गरेर हत्या गरिएपछि अर्का मृतक त्रिलोकप्रताप सिंहका बुबा श्रीनारायण सिंह न्यायका लागि सर्वोच्च अदालतसम्म पुगे । आरोपितमाथि मुद्दा नै नचलेपछि उनले सर्वोच्च अदालतमा निवेदन दिए । र, २०६९ जेठ १६ गते सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशद्वय सुशीला कार्की र भरतबहादुर कार्कीको संयुक्त इजलासले मुद्दाको गम्भीरतालाई हेरी प्रतिवादीहरूलाई पक्राउ गरी कारबाही अगाडि बढाउन आदेश दिएका थिए ।

त्यसपछि प्रहरी फेरि सक्रिय बनेको थियो । यद्यपि आलमलाई पक्राउ गर्न सकिएको थिएन । आलम पक्राउ नपरेपछि सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले आलमलाई पक्राउ गरी अनुसन्धान गर्न र मुद्दा चलाउन आदेश दियो । निर्देशनालयबाट २०७५ चैत ८ गते यस्तो आदेश आएपछि प्रहरीले सक्रियता बढायो र फेरि अनुसन्धान सुरु गर्यो ।

सर्वोच्च अदालतबाटै आदेश आएपछि प्रहरीले पुनः पुरानो मिसिलको अध्ययन गर्न थाल्यो । ६ महिना लामो अध्ययनपछि मुद्दा चलाउने प्रशस्त प्रमाण भएको भन्दै प्रहरीले असोज २५ गते आइतबार सांसद आलमलाई उनकै निवासबाट पक्राउ गर्यो ।

प्रत्यक्षदर्शी गाउँले भन्छन्, १३ जनालाई जिउँदै जलाइयो

प्रत्यक्षदर्शी गाउँलेका अनुसार घटनाको समयमा त्यहाँ ३० देखि ३५ जना मानिसहरू थिए । तर आलमको गोठमा उपस्थित उनीहरूमध्ये सामान्य चोटपटक लागेकाहरू भाग्न सफल भएका थिए । तर भाग्न नसक्ने गरी घाइते भएका दुई नेपाली र ११ जना भारतीय नागरिक गरी १३ जनालाई इँटाभट्टामा हालेर जिउँदै जलाइएको थियो ।

घटनामा मारिएका पिन्टु भन्ने त्रिलोकका बुबा श्रीनारायण सिंहले लामो समयको पर्खाइपपछि छोराले न्याय पाउलान् भने विश्वास पलाएको बताए । पटक–पटक काठमाडौँ धाएर न्याय पाउने आशमा सङ्घर्ष कहिल्यै नछोडेको बताउँदै अब भने न्याय मिल्ने आश बढेको उनले बताए ।

विभिन्न स्थानमा नेपाली काँग्रेसको प्रदर्शन, सुरक्षा व्यवस्था कडा

सांसद आफताब आलमलाई पक्राउ गरेको विरोधमा राजपुर, चन्द्रनिगाहपुर, दुर्गा भगवतीको गङ्गा पिपरा, गरुडा, सपगढासहित दर्जनौँ स्थानहरूमा नेपाली काँग्रेसका कार्यकर्ताले आइतबार र सोमबार प्रदर्शन गरे । सांसद आलमलाई प्रहरी प्रशासन र सरकारले नै फसाउन लागेको भन्दै उनी निर्दोष रहेको भन्दै तत्कालै रिहाइ गर्न प्रदर्शनकारीले नारा लगाएका थिए । आन्दोलनका क्रममा कुनै घटना हुन नदिन संवेदनशील भई व्यापक प्रहरी परिचालन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप