मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा युद्धविरामका लागि इयुको आह्वान

सोमबार, ०४ कात्तिक २०७६, १५ : ५७
सोमबार, ०४ कात्तिक २०७६

काबुल– युरोपेली संघ (इयु) का अधिकारीहरूले अफगानिस्तानमा युद्धविरामको लागि आह्वान गरेका छन् । अमेरिकी रक्षामन्त्री मार्क एस्परले अप्रत्याशित रुपमा काबुलको भ्रमण गरेलगत्तै इयुले युद्धविरामको आह्वान गरेको हो ।

इयुका अधिकारीहरुले अफगानिस्तानलाई युद्धविराम गर्न आइतबार आह्वान गरेको समाचारमा जनाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना तालिबान विद्रोहीहरूसँगको शान्ति वार्ताको प्रसङ्ग मृतप्रायः भएको आरोप लगाएका थिए ।


 तालिबान र अमेरिकाबीच शान्ति वार्ता सम्झौताको अन्तिम अवस्थामा तालिबानको हमलामा परी एक अमेरिकी सैनिक मारिएपछि ट्रम्पले तालिबानसँगको वार्ता स्थगित गरेका थिए ।

त्यसलगत्तै तालिबानप्रति निकै आक्रोशित भएका उनले तालिबान लडाकूहरुसँगको वार्ता मृतप्रायः भएको बताएका थिए ।  अफगानिस्तानमा १८ वर्षसम्म रहेका अमेरिकी सेना फर्काउने सम्झौताको अन्तिम चरणको तयारी भइरहेको अवस्थामा ट्रम्पले तालिबानसँग वार्ता नहुने घोषणा गरेका  थिए ।

यस युद्धविरामबाट तालिबान र अफगान सरकारबीच जारी रहेको हिंसा घटाउन र यदि यसो हुन सक्यो भने त्यसको केही समयपछि शान्ति वार्ता गर्नका लागि पनि मार्गप्रशस्त गर्ने अफगान र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले बताएका छन् । 

अफगानिस्तानका लागि इयूका विशेष दूत रोलान्ड कोबियाले वार्ताले युद्धविरामको लागि अवसर प्रदान गर्ने र अफगानिस्तानमा ठूलो परिवर्तन ल्याउने बताए । उनले यसले वार्तालाई पुनः सुरु गर्ने बारे छलफल गर्ने पनि बताउनुभएको समाचारमा जनाइएको छ ।  

‘युद्धविरामका लागि यो उचित र सही क्षण हो । हालका दिनमा अफगानिस्तानमा जारी रहेको हिंसामा सामान्य कटौती मात्र नभएर त्यसको तुलनामा एक कदम अगाडि नै जान सकिने अवस्था र अवसर हो’ उनले भनेका छन् । 

कोबियाले काबुलका पत्रकारहरूसमक्ष भनेका छन्– यो युद्धविरामका लागि एउटा अवसर हो र अहिले युद्धविराम हुने अवस्थाको खोजी गरिनुपर्छ र यसलाई अफगानिस्तान सरकार र तालिबानहरुले पनि उचित अवसरका रुपमा लिन सक्नुपर्छ ।  

यसैबीच अफगानिस्तानमा हिंसा भने निरन्तर रुपमा नै जारी रहेका समाचारहरु आइरहेका छन् । गत शुक्रवार मात्र पनि यहाँको एक प्रान्त नन्गाहारमा अवस्थित एक मस्जिदमा बम विष्फोट हुँदा कम्तीमा पनि ७० जनाको ज्यान गएको थियो ।

त्यस यता पनि छिटपुट रुपमा हमलाका घटनाहरु हुने गरेका छन् । अफगानिस्तानमा हिंसा जारी राखेका तालिबानहरुले विशेषगरी यहाँका सुरक्षाकर्मी र सर्वसाधारणलाई पनि तारो बनाउने गरेका छन् । –एएफपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप