बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बाथरोगको समस्या महिलामा बढी

आइतबार, १० कात्तिक २०७६, ०८ : १०
आइतबार, १० कात्तिक २०७६

बाथरोग विशेषज्ञ डा. स्वेता नकर्मीले दैनिक रूपमा ३० जनाभन्दा बढी बाथरोगीको उपचार आफूले गर्ने गरेको जानकारी दिएकी छिन् । बाथरोगका नयाँ बिरामी र फलोअपमा आउने बिरामीसमेत गरी दैनिक ३० देखि ५० जनालाई उपचार गर्ने गरेको जानकारी दिँदै उनले नेपालमा बाथरोगीको सङ्ख्या बढ्दै गएको बताइन् । उनले नेपालमा सयभन्दा बढी प्रकारका बाथ रोग पत्ता लागिसकेको जानकारी दिँदै नेपालमा भने गठिया, मांसपेशीको बाथ, हड्डी खिइने बाथले धेरैजसो सताउने गरेको बताइन्। बाथले शरीरका अङ्गहरूलाई नष्ट गर्ने भन्दै एक पटक बाथरोग लागिसकेपछि नियमित रूपमा फलोअप र औषधि सेवन गरिरहनुपर्ने बताइन् ।

जीवाणु, वातावरणीय कारण, चुरोट, घामको परावैजनिक किरण (यूभी रे) जस्ता कारणले पनि बाथ हुने सम्भावना बढी हुने भन्दै उनले पुरुषभन्दा महिलाहरूमा बाथको समस्या बढी रहेको बताइन् । बाथले जोर्नी, शरीरका भित्री भागलाई समेत आक्रमण गर्ने भएकाले सतर्कता अपनाउनुपर्ने बताइन् ।

वरिष्ठ बाथरोग विशेषज्ञ डा. बुद्धि पौड्यालले बाथले बालबालिकादेखि वृद्धसम्मलाई असर गर्ने बताए । नेपालमा कुनै न कुनै किसिमको बाथरोगबाट २० प्रतिशत जनसङ्ख्या पीडित रहेको जानकारी दिँदै उनले बाथको प्रकार अनुसार भिन्न उमेर समूहको मानिसलाई सताउने गरेको बताए । बाथमुटुरोग १५ वर्षसम्मका बालबालिकालाई मात्र देखापर्ने भन्दै उनले लुपस बाथले ९० प्रतिशत महिला पीडित हुने गरेको जानकारी दिए । डा. पौड्यालले बाथको खास कारण नभए पनि वंशाणुगत र वातावरणीय कारण प्रमुख रहेको बताए ।

ढाडको बाथ १५ वर्षदेखि ५० वर्षसम्म, आमबाथ ३५ वर्षमाथि, हड्डी खिइने बाथ जुनसुकै उमेर समूहका व्यक्तिलाई हुने गर्दछ, डा। पौड्यालले बाथरोग दीर्घरोग भएकाले पूर्ण रूपमा निको नहुने जानकारी दिँदै उपचारपछि नियन्त्रण मात्र गर्न सकिने बताए । उनका अनुसार बाथरोग लागिसकेपछि जीवनभर नियमित औषधि सेवन गर्नुपर्ने हुन्छ ।

उनले उमेर धेरै भइसकेका महिला र पुरुषहरूमा कुर्कुरे हड्डी खिइने बाथ बढी देखा पर्ने बताए । डा. पौड्यालले बाथरोगका लक्षणमा साना तथा ठूला जोर्नीहरू सुन्निने, दुख्ने, बिहान जाम भएको जस्तो वा अरट्ठो हुने, बिहान मुट्ठी कस्न गाह्रो हुने र दिउँसो हुँदै जाँदा सजिलो हुँदै जाने, बिहान वा राति सुतिसकेपछि ढाड दुख्ने लक्षण देखापर्ने जानकारी दिए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप