मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

नरहरि आचार्यको निवासमा कांग्रेसको जागरण अभियान र नेपाली साहित्यबारे चर्चा

बुधबार, १३ कात्तिक २०७६, १४ : ४४
बुधबार, १३ कात्तिक २०७६

काठमाडौं । नेपाली कांग्रेसका नेता नरहरि आचार्यको निवासमा जनजागरण र नेपाली साहित्यका बारेमा बहस भएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसर पारेर आयोजित कार्यक्रममा कांग्रेस नेता आचार्यले नेपालमा भएका हरेक परिवर्तनका निम्ति जागृत गराउन साहित्यको ठूलो भूमिका रहेको भन्दै परिवर्तनका लागि मानिस निरन्तर जागृत हुनुपर्ने बताए ।

लक्ष्मीप्रसाद देवकोटा साहित्य र राजनीतिमा उत्तिकै सक्रिय रहेको जिकिर गर्दै आचार्यले भने, ‘अरु मान्छे भए राजनीतिमा त्यति सक्रिय भइसकेपछि आफूलाई राजनीतिज्ञकै रुपमा बढी चिनाउथे होला, तर देवकोटाले आफूलाई साहित्यकारका रुपमा बढी चिनाउनु भयो ।’

देवकोटाले २००४ सालदेखि नै ‘युगवाणी’को सम्पादन गरेर क्रान्तिको विगुल फुकेको उनको भनाइ थियो । 

कार्यक्रममा वरिष्ठ साहित्यकार डा.ध्रुवचन्द्र गौतमले सही साहित्य सधैँ चेतना र जागरणकै पक्षमा हुने बताए । ‘चेतनाको विस्तार गर्छ साहित्यले,’ उनले भने, ’ उनले भने, ‘अहिले चलेको जागरण अभियानमा लेखक साहित्यकारहरुलाई समावेश गराउनु पर्दछ ।’ उनले नरहरि आचार्य आफैंमा साहित्यकार र राजनीतिक दुवै क्षेत्रमा सक्रिय रहेको चर्चा गर्दै साहित्य सधैँ जागृतिसँग सम्बद्ध हने बताए ।

डा.जयराज आचार्यले समालोचकीय स्तर गिरेका कारण मूल्यवान साहित्य पन्छिने र क्षणिक नारा अगाडि आउने वातावरण बनेको टिप्पणी गरे । मदन पुरस्कार ‘कथा–कुथुङ्ग्री’ भन्दा बाहिर निस्कन नसकेको उनले बताए । ‘समग्र वाङ्मय भनेको कथा, उपन्यास, कविता मात्र होइन, यो भन्दा बाहिर पनि छन्,’ उनले भने ।

डा. हेमचन्द्र नेपालले कांग्रेसको तेस्रो जन जागरणमा गीत, टुक्काहरुलाई जोडन जरुरी रहेको बताए । कांग्रेसको जागरण अभियान जनतासम्म पुग्न नसकेको उनले बताए ।

साहित्यकार बियोगी बुढाथोकीले साहित्यकारहरुले आफैँ जागरण कार्यक्रमहरु चलाउँदै आएको चर्चा गर्दै गिरिजाप्रसाद कोइरालापछि कांग्रेसको नेतृत्वले साहित्यकारको भूमिका खोज्ने काम नगरेको बताए । 
डा.रत्नमणी नेपालले पहिला विचार र त्यसपछि मात्र संगठनलाई प्राथमिकता दिनुपर्ने बताए । 

प्रा.गणेशदत्त भट्टले हरेक शनिबार नरहरि आचार्यले यस प्रकारका कार्यक्रम आयोजना गर्नु चानचुने कुरा नभएको बताए । नेपालमा राजनीतिक चेतनाबृद्धि गर्ने सन्दर्भमा साहित्यको धेरै ठूलो योगदान रहेको उनको भनाइ थियो ।

वरिष्ठ पत्रकार हरिहर विरहीले राजनीतिमा लागेका व्यक्तिले नै जनतालाई जागृत गराउनु पर्नेमा दलहरु नै सत्यतर्फ नगएको टिप्पणी गरे ।

नेपाली कांग्रेस काठमाडौंंका सदस्य रामचन्द्र घिमिरेले विशालताको दृष्टिमा नेपाली कांंग्रेस र लक्ष्मीप्रसाद देवकोटा उस्तै देखिने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप