शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

धरान उपमहानगरपालिका उपनिर्वाचन : नेकपा, काँग्रेस र समाजवादीका उम्मेदवार तय

सिफारिस उम्मेदवार केन्द्रले अनुमोदन गर्न बाँकी, यस्तो छ चुनावी अंकगणित
शुक्रबार, १५ कात्तिक २०७६, ११ : ५५
शुक्रबार, १५ कात्तिक २०७६

काठमाडौँ । स्थानीय तहमा हुने उपनिर्वाचनमध्ये सबैभन्दा धेरै चर्चा र चासो छ धरान उपमहानगरपालिकाको । यो उपमहानगरपालिकामा हुने उपनिर्वाचनका लागि प्रमुख राजनीतिक दलहरुले उम्मेदवार तय गरेका छन् । केही राजनीतिक दल आन्तरिक छलफलमै रहेकाले अझै उम्मेदवार तय गरिसकेका छैनन् । 

नेपाली काँग्रेस र समाजवादी पार्टीले उमेदवारको टुङ्गो लगाएपछि सत्तारुढ दल नेकपाले भने बल्ल शुक्रबार बिहान मात्रै स्थानीय स्तरमा उम्मेदवारको टुङ्गो लगाएको हो ।

यद्यपी नगर कमिटिबाट सिफारिस भएका नाम जिल्ला, प्रदेश हुदै केन्द्रले अनुमोदन गर्न बाँकी नै रहेको छ ।

सिफारिस नाम अनुमोदन गर्न नेकपा सुनसरी जिल्ला कमिटीको बैठक शुक्रबार दिउँसो ३ बजेलाई बोलाइएको छ । आजै जिल्लाले ति नाम प्रदेश कमिटिमा पठाउने तयारी गरेको छ । जिल्लाबाट नाम आएपछि प्रदेश कमिटिको बैठक शनिबार राखेर आइतबार केन्द्रमा पठाउने तयारी भएको नेकपा सुनसरी जिल्ला कमिटि सचिव रमेश बस्नेतले जानकारी दिए । त्यस्तै शुक्रबार बिहान बसेको नेकपा धरान नगर कमिटिको बैठकले २१५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

यसअघि काँग्रेस र समाजवादीले उम्मेदवारको नाम सिफारिस गरेपनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट उम्मेदवारका आकांक्षी धेरै देखिएपछि ढिलाइ भएको थियो ।

धरानको मेयरका लागि काँग्रेसले २०७४ मा पराजित उम्मेदवार तिलक राईलाई नै उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

त्यस्तै उपेन्द्र यादव र डा. बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीले पनि गजेन्द्र इस्वोलाई उम्मेदवार बनाउने जनाइसकेको छ ।

यसअघि नेकपामा १० जनाभन्दा बढी आकांक्षी देखिएका थिए । जसका कारण बुधबार नगर कमिटीको बैठक बोलाएर उम्मेदवार सिफारिस गर्ने तयारी भएपनि आकाँक्षी धेरै भएपछि बैठक नै बस्न सकेको थिएन । दुई दिन आन्तरिक छलफल भएपछि नेकपाले शुक्रबार भने ३ जनाको नाम सर्वसम्मत सिफारिस गरेको जनाएको छ ।

गत २०७४ सालामा भएको स्थानीय तह निर्वाचनका बेला छुट्टाछुट्टै चुनावी प्रतिस्पर्धामा उत्रिएका एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर (नेकपा) बनेको हो । दुई पार्टी एकता भएसँगै आकाँक्षी समेत बढेकाले उमेदवार छान्न सकस भएको स्थानीय नेता कार्यकताहरुले बताएका छन् ।

धरान उपमहानगर कम्युनिस्टहरुको प्रभाव र वर्चश्व रहेको क्षेत्र भनेर चिनिन्छ ।

धरान उपमहानगरमा मेयर र वडा नं. ७ को अध्यक्षका लागि पनि निर्वाचन हुँदैछ । वडाअध्यक्ष भुवन मुक्तान र मेयर तारा सुब्वाको गत वर्ष निधन भएपछि दुवै पद खाली भएका हुन् ।

काँग्रेस मेयरका उम्मेदवार तिलक

नेपाली काँग्रेसले धरानको मेयरमा तिलक राईलाई उठाउने भएको छ । यसअघि सुजेन्द्र तामाङले उम्मेदवारी घोषणा गरेपनि उनले राईलाई छाड्न तयार भएका थिए ।

सुनसरी जिल्ला कमिटीले तिलकलाई मेयरको उम्मेदवार घोषणा गरेपनि काँग्रेस पार्टी केन्द्रले सिफारिस नामलाई औपचारिकता दिइसकेको छैन ।

काँग्रेसले उपमहानगर, प्रदेशसभा र प्रतिनिधिसभाका उम्मेदवारहरुको टुङ्गो काँग्रेसको केन्द्रीय कार्यसमितिले लगाउने छ । यसका लागि आइतबार काठमाडौँमा काँग्रेस केन्द्रीय समितिको बैठक बोलाएको छ ।

के छ धरानको चुनावी अङ्कगणित ?

धरान विशेषत ततकालीन एमालेको बर्चश्व रहेको क्षेत्र मानिन्छ । ०७४ सालको चुनावमा पनि तत्कालीन एमालेका तारा सुब्बा २० हजार ९७५ मतसहित विजयी बनेका थिए । तर उनको फोक्सोमा भएको निमोनियाका कारण गत वर्ष निधन भएको थियो । सुब्बाको निधनसँगै धरानमा मेयर पद एक वर्षयता खाली छ ।

तत्कालीन मेयर सुब्बासँग ०७४ को चुनावमा काँग्रेसका तर्फबाट तिलक राईले नै प्रतिस्पर्धा गरेका थिए । त्यसवेला तिलकले १६ हजार १०२ मत प्राप्त गरेका थिए । यो अङ्क गणितमा तत्कालीन एमाले र काँग्रेसबीचको मतान्तर ४ हजार ८७३ को थियो ।

एमालेसँग फराकिलो मतले हारेका उनै राई अहिले फेरि मेयरका लागि प्रतिस्पर्धा गर्ने निश्चित भएपछि धरानको उपनिर्वाचनलाई धेरैले महत्त्वका साथ हेरेका छन् । काँग्रेसका राई ०७४ मा एमालेसँग एक्लै प्रतिस्पर्धा गरेपनि अहिले माओवादी र एमाले मिलेको अवस्थामा उनलाई विजयी प्राप्त गर्न थप मेहनत गर्नुपर्ने काँग्रेस वृतमा चर्चा चलेको छ ।

धरानमा पूर्वमाओवादी केन्द्रको मत कति छ भन्ने प्रष्ट छैन । ०७४ को चुनावमा माओवादी केन्द्र र संघीय समाजवादीबीच तालमेल भएको थियो । दुई पार्टीका संयुक्त उम्मेदवार अइन्द्रविक्रम बेघाले ११ हजार १८० मत पाएका थिए ।

धरान नगरपालिकामा २० वटा वडा रहेका छन् । यो उपमहानगरामा ०७४ सालमा ७९ हजार २९० मतदाता संख्या रहेका थिए ।

आगामी मंसिर १४ गते एक प्रतिनिधिसभा सदस्य, ३ प्रदेश सभासदस्यसहित ५२ स्थानमा उपनिर्वाचन हुँदैछ । जसमा स्थानीय तह प्रमुख–१, अध्यक्ष–३, उपाध्यक्ष–१ र वडा अध्यक्ष–४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप