बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

देउवाको अभिव्यक्तिले ल्याएको तरङ्ग : राष्ट्रवादमा नेकपा–काँग्रेसको वाकयुद्ध

आइतबार, ०८ मङ्सिर २०७६, १५ : २९
आइतबार, ०८ मङ्सिर २०७६

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको शनिबारको अभिव्यक्तिले राजनीतिक वृत्तमा तरङ्ग ल्याएको छ । 

शनिबार पोखराको चुनावी सभामा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा भारतले नयाँ राजनीतिक नक्सामा नेपाली भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरा समावेश गरेको गम्भीर आरोप लगाए । 

पछिल्लो समय सरकारप्रति आक्रमक देखिएका देउवाले आक्रोशित हुँदै भनेका थिए, ‘अघिल्लोपल्ट राष्ट्रवादी नारा लाएर जितेको होइन ? कहाँ छ त्यो राष्ट्रवाद ? ओलीको राष्ट्रवाद आज कालापानी पुगेर घुँडा टेकेको छ । ओलीको राष्ट्रवाद कालापानीमा गएर लम्पसारवादमा परिणत भएको छ । यसकारण ओली राष्ट्रवादी नै होइनन् ।’

‘ओलीसँग भित्रीरूपमा सल्लाह गरेरै भारतले नक्सा छापेको  हो । यो त्यसै छाप्छ ? ओलीको सहमतिबिना छाप्नै सक्दैन भारतले’ समेत देउवाले भन्न भ्याए ।

यता उनले आफू प्रधानमन्त्री भएका बेला महाकाली सन्धि भएको र त्यतिबेला महाकालीलाई सीमा नदी मानिएको दाबी पनि प्रस्तुत गरे ।     

‘आज कालापानी र लिपुलेक भारतलाई बुझाएर सबैभन्दा ठूलो राष्ट्रघात गरेका छन् ओलीले । ओलीको राष्ट्रवाद कालापानीमा गएर लम्पसारवादमा परिणत भएकाले यो सरकार राष्ट्रवादी नै होइन । यिनीहरु राष्ट्रवादी होइनन्, लम्पसारवादी हुन्,’ उनको आरोप थियो ।

यता नेकपाका नेताहरुले उक्त अभिव्यक्तिको खण्डन गर्दै राष्ट्रियताको सवालमा सिङ्गो देश एकताबद्ध भएको बेला देउवाको अभिव्यक्तिले देशलाई विभाजित गराउने काम गरेको प्रतिक्रिया दिएका छन् । 

सामाजिक सञ्जालमार्फत नेकपाका प्रवक्ता एवम् पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भनेका छन्, ‘भारतले नेपालको सीमा मिचेर बनाएको नक्साका बारेमा प्रम ओलीमाथि आरोपित गर्दै पूर्वप्रम देउवाले (शनिबार) पोखरामा बोलेको कुराको जति निन्दा र भत्सर्ना गरे पनि कम हुन्छ ।’ 

तर काँग्रेसका नेताहरुले देउवाको अभिव्यक्तिको बचाउ गर्दै सीमा विवादबारे प्रधानमन्त्री ओली उदासीन देखिनुले मौन समर्थन रहेको दाबी गरे । काँग्रेसका सह–महामन्त्री  पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले सीमा विवादमा प्रधानमन्त्री केपी शर्मा ओली मौन समर्थन देखिएकाले देउवाको उक्त अभिव्यक्ति आएको बताए ।

उनले भने, ‘दुई तिहाइको सरकार रहेका बेला सीमा विवादले चरमरूप लिँदा पनि प्रधानमन्त्री केपी शर्मा ओलीज्यू उदासीन देखिनु भयो । उहाँको उदासीनता देखेर सभापतिज्यूको यस्तो अभिव्यक्ति आएको होला जस्तो लाग्छ । तर मैले यस विषयमा कुराकानी गर्न पाएको छैन ।’

यता सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले देउवाको आरोपलाई चुनावी मसला भन्दै प्रधानमन्त्री ओलीको राष्ट्रवादमाथि प्रश्न उठाउनु आफैमा लज्जाजनक विषय भएको जवाफ फर्काएका छन् ।

देउवाले आफू सत्तामा छँदा भारतसँग गरेका सम्झौता र समझदारीहरुमाथि प्रश्न उठाउँदै मन्त्री बाँस्कोटाले, ‘एक पटक जनताको मत र फैसलाहरुमाथि अरू कसैले प्रश्न उठाउँदा त्यो नेपाली जनताको मत हो, फैसला हो भनेर बोल्न नसक्ने शेरबहादुर देउवाजीले केपी ओलीको राष्ट्रवादी अडान, क्षमता र सङ्घर्षको कुरामाथि प्रश्न उठाउनु आफैमा लज्जाजनक विषय हो । उहाँले यदि त्यसो भन्नु नै भएको हो भने म खेद प्रकट गर्न चाहन्छु,।’

सरकारलाई मुन्टो लुकाएर राष्ट्रियताको पक्षमा हिँड्नुपर्ने कुनै जरुरत नरहेको उनले बताए । 

‘यो सरकारलाई मुन्टो लुकाएर राष्ट्रियताको पक्षमा हिँड्नुपर्ने कुनै जरुरत छैन । नाकाबन्दीमा एक शब्द बोल्न नसक्ने, म्याउँ गर्न नसक्ने अहिले चाहिँ चुनाव आयो भनेर ढाडे बनेर कुर्लिएर हुन्छ ?,’ उनको प्रश्न छ ।
तर काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केही सङ्केत पाएर नै देउवाले यस्तो अभिव्यक्ति दिएको तर्क गरे । 

‘चार चार पटक प्रधानमन्त्री भइसक्नु भएकाले सभापतिज्यूले केही सूचनाका आधारमा बोल्नुभएको होला,’ उनले सरकरलाई चुनौती दिँदै भने, ‘होइन भने उहाँको अभिव्यक्ति सरकारले गलत सावित गरोस् ।’ 
यद्यपि देउवाको अभिव्यक्तिबारे काँग्रेसभित्र नेता शेखर कोइरालाको भने फरक मत छ ।

‘सीमा विवाद राष्ट्रियतासँग जोडिएको गम्भीर विषय हो । यस्ता विषयमा पूर्वप्रधानमन्त्रीजस्तो जिम्मेवार नेतासँग केही सूचना भए पनि प्रधानमन्त्रीसँग बसेर वार्ता गर्नुपर्छ,’ उनले भने, ‘राष्ट्रियताको विषयमा आरोप प्रत्यारोपभन्दा पनि समाधानको बाटोतिर जनुपर्ने हुन्छ । सभापतिजीले कुन प्रसङ्ग र किन भन्नु भयो । उहाँले नै बुझ्ने कुरा हो ।’

राजनीतिक वृत्तमा देउवाको यो अभिव्यक्तिले मात्र तरङ्ग ल्याएको भने होइन । केही ‘हल्का’ अभिव्यक्तिको शृङ्खला लामो छ । गएको आम निर्वाचनमा आफूलाई जोतिषीले ‘७ पकट प्रधानमन्त्री हुने योग रहेको छ’ भन्ने गरेको अभिव्यक्ति दिएका थिए । जसले लामो समयसम्म चर्चा पाएको थियो । त्यही चुनावमा काँग्रेस २३ सिटमा सीमित भई पूर्ण प्रतिपक्षीको ‘हैसियत’ समेत गुमाउन पुगेको थियो ।

आम चुनावमा ‘कम्युनिस्टले चुनाव जिते रुन पनि पाउँदैन’, भन्दै चुनावी नारा बनाएका थिए । देउवाको उक्त नारा पनि राजनीतिक बजारमा खपत भएको थियो भने आफ्नै पार्टीका नेताहरुले उक्त कुराको खण्डन गरेका थिए । 

नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगाउन ‘ठीक’ भनेका देउवाको बोलीलाई काँग्रेस प्रवक्ता शर्माले नै संशोधन गर्नुपरेको थियो ।

यस्तै आफ्नो पार्टीका सांसद मोहम्मद अफताब आलमको बचाउमा देउवाले राखेको अभिव्यक्तिले पनि तरङ्ग ल्याएको थियो । पछि देउवाले आफ्नो उक्त अभिव्यक्तिलाई पनि संशोधन गर्नु परेको थियो ।

काँग्रेस प्रवक्ता शर्माले सङ्केत गरेझैँ देउवाले सूचना पाएर नै प्रधानमन्त्री ओलीमाथि खनिएका हुन् वा पहिलेकै बोलीको निरन्तरता दिएका हुन्, यो विषय भने विस्तारै खुल्नै जानेनै छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप