बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

चुनाव हारेपछि साझा पार्टीले भन्यो–हिमालको टाकुरामा पुग्न उकालो मात्र होइन, ओरालो पनि झर्नुपर्छ

सोमबार, १६ मङ्सिर २०७६, ११ : ५८
सोमबार, १६ मङ्सिर २०७६

काठमाडौँ । उपनिर्वाचनमा पराजय व्यहोरेको साझा पार्टीले गल्तीकमजोरीबाट पाठ सिक्दै आउँदा दिनहरूमा मतदाताको मन सँगसँगै मत पनि जितेर नेपाल रूपान्तरणको यात्रामा अघि बढ्ने जनाएको छ । 

सो पार्टीका प्रवक्ता सूर्यराज आचार्यले सोमबार एक विज्ञप्ति जारी गर्दै पराजयलाई मुलुकको राजनीतिक धरातलको थप परीक्षणका रूपमा लिइएको उल्लेख गरेका छन् । 

हिमालको टाकुरामा पुग्न उकालो मात्र होइन कहिलेकाहीँ ओरालो ओर्लिनु र अनेक अवरोधहरू पार गर्नु पर्ने भन्दै साझा पार्टीले नेपाल रूपान्तरणको राजनीतिक यात्रामा अब रणनीतिक दृढता र पार्टी निर्माणको परिष्कृत मार्गचित्रका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

पुराना दलको परम्परागत राजनीतिक अभ्यास पछिल्लो चरणमा मूलतः सत्ता शक्ति, राज्य दोहन र भ्रष्टाचारमा निर्भर रहेको आरोप लगाउँदै साझा पार्टीले विधिको शासन भत्काउनले काम भएको समेत दावी गरेको छ । 

‘जनताले राज्यबाट पाउने आधारभूत सेवाका लागि दलका कार्यकर्ताको निगाह आवश्यक बनेको छ। गाउँटोलमा ठुला दलसँगको आबद्धता बिना सामाजिक जीवन बहिष्कृत हुने जोखिम छ’, विज्ञप्तिमा भनिएको छ ।

 साझा पार्टीलाई भोट दिएर अगाडि बढ्न आत्मविश्वास प्रदान गर्ने मतदाता र निर्वाचनमा सामेल भएर लोकतन्त्रलाई जीवन्त राख्ने सबैप्रति धन्यवाद प्रकट गर्दै साझा पार्टीले विजयी अन्य पार्टीका उम्मेदवारलाई शुभकामना पनि दिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप