सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल पाँच बलमै विजयी, अन्जलीको विश्व कीर्तिमान

सोमबार, १६ मङ्सिर २०७६, १६ : १८
सोमबार, १६ मङ्सिर २०७६

काठमाडौँ । अन्जली चन्दले कीर्तिमानी ६ विकेटको प्रर्दशन गरेपछि नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) को महिला क्रिकेटमा माल्दिभ्सलाई १० विकेटले हराएको छ ।

पोखरा रंगशालामा सामान्य १७ रनको विजयी लक्ष्य पाएको नेपालले पाँच बलमै लक्ष्य पूरा गरेको हो । नेपालका लागि पहिलो नो बलमा काजल श्रेष्ठले चौका प्रहार गरिन् । दोस्रो बलमा एक रन लिँदा तेस्रो बलमा सीता रानामगर डट भइन् । चौथोमा दुई वाइड र अर्कोमा काजलले चौका प्रहार गरिन् । पाँचौ बलमा लेग वाइका रुपमा एक रन लिँदै नेपालले पाँच बलमै खेल जितेको थियो । नेपालको यो जित विश्व क्रिकेटमै सर्वाधिक छिटो तेस्रो जित हो । यसअघि रवान्डा र तानजानिले चार चार बलमा खेल जितेका थिए ।  नेपालकी ओपनर काजल श्रेष्ठले पाँच बलमा तीन चौका सहित १३ रनमा अविजित रहिन् ।

यसअघि अन्जलीले अद्भुत प्रदर्शन गरेपछि माल्दिभ्स १०.१ ओभरमा १६ रनमा अल आउट भएको थियो । नेपालको आक्रमक बलिङमा माल्दिभ्सका नौ जना खेलाडीले खाता खोल्न सकेनन् । माल्दिभ्सका लागि हामना नियाजले नौ र हफ्सा अफ्सा अब्दुल्लाले चार रन बनाए । अन्जलीले चार ब्याट्सवुमनलाई क्याच आउट र दुई लाई बोल्ड आउट गरेकी थिईन् ।

अन्जलीले २.१ ओभरमा दुई मेडन कुनै रन नदिइ ६ विकेट लिइन् । अन्जलीले नवौं ओभरको पाँचौ र छैटौं तथा ११औं ओभरको पहिलो बलमा विकेट लिदै ह्याट्रिक पुरा गरेकी थिइन् । 

यो विश्व टी–२० महिला क्रिकेटमा अहिलेसम्मकै सर्वोउत्कृष्ट प्रर्दशन हो । यसअघि मलेसियाकी मास अलिसाले चार ओभरमा एक मेडन सहित तीन रन खर्चिएर ६ विकेट लिइकी थिइन् । नेपालकी करुणा भण्डारीले दुई विकेट झारिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप