शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

इराकमा अमेरिकी अधिकारीको सुरक्षाका लागि प्रधानमन्त्री मेहदीको आश्वासन: पोम्पेओ

बिहीबार, १७ पुस २०७६, १९ : ४१
बिहीबार, १७ पुस २०७६

एजेन्सी । इराकी प्रधानमन्त्री अदेल अब्देल मेहदीले इराकमा अमेरिकी अधिकारीहरूको सुरक्षाका लागि चिन्ता नलिन आश्वासन दिएका छन् । इराकस्थित अमेरिकी राजदूतावास नजिकै हिंसात्मक विरोध प्रदर्शन भइरहेका समय प्रधानमन्त्री अदेल अब्देल मेहदीले इराकमा अमेरिकी अधिकारीहरूको सुरक्षाका लागि चिन्ता नलिन आश्वासन दिएको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बिहीबार बताएका हुन् ।  

‘प्रधानमन्त्री मेहदीसँग बिहीबार कुराकानी भएको त्यस अवसरमा उनले इराकमा रहेका सवै अमेरिकी अधिकारीलाई सुरक्षित राख्ने जिम्मेवारी आफ्नो मुलुकको सुरक्षाकर्मीको हुने बताउनुभएको छ,’ अमेरिकी विदेशमन्त्रीले ट्विटरमार्फत लेखेको सन्देशमा भनिएको छ ।

‘इराकी सुरक्षा दस्ताले इरान समर्थन प्राप्त आक्रमणकारीलाई अमेरिकी राजदूतावासबाट हटाउन थालिसकेको छ । हामीले आक्रमणमा जिम्मेवार इरान र उसको समर्थन प्राप्त समूहलाई हटाउने कामलाई निरन्तरता दिनेछौँ ।’ 

अमेरिकाले इराक र सिरियामा गरेको अवाई आक्रमणपछि इरानी समुदायको नजिक मानिने इराकी सिया प्रदर्शनकारीले मङ्गलबार इराकस्थित अमेरिकी राजदूतावासको बाहिरी क्षेत्रमा पुगी आगजनी गरेको स्थानीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट सम्प्रेषित भिडियोमा देखाइएको थियो । 

आक्रमण प्रयासपछि विदेशमन्त्री पोम्पेओले यूक्रेनका लागि तय गरेको भ्रमण स्थगित गरेका छन् । इराकमा गत अक्टोबरदेखि भएको भ्रष्टाचारविरूद्धको वैधानिक अभियान अर्थात् प्रयासलाई अस्पष्ट पार्न ‘इरानी सत्ताले आक्रमणका लागि गोप्यरूपमा नाटक रचेको’ र यसमा आतङ्कवादीहरूलाई अघि सारिएको पोम्पेओले दावी गरे ।

यसैबीच अमेरिकी विदेशमन्त्रालयका प्रवक्ता मोर्गन अर्टागसले इराकमा भएका पछिल्लो राजनीतिक विकासक्रमको प्रसंशा गर्दै भने, ‘इराकले आफ्नो भूमिमा विदेशी नागरिकको सुरक्षाका लागि गरेको प्रतिवद्धतापछि राजदूतावास वरपरको अवस्थामा सुधार आएको छ तर इराकले लडाकू समूहका सदस्यहरूलाई राजदूतावास क्षेत्रबाट हटाउन आवश्यक हुनेछ ।’

इरानको समर्थन रहेको भनिएको कताइब हेज्बुल्लाह लडाकू समूहसँग आवद्ध व्यक्तिले मङ्गलबार इराकस्थित अमेरिकी राजदूतावासको झ्यालहरू फुटाएको र बाहिरी भवनमा आगजनीसमेत गरेको अमेरिकाले बताएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप