शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

महरा प्रकरण : स्वास्थ परीक्षण गराउने डाक्टर झिकाउन आदेश

आइतबार, २७ पुस २०७६, १७ : ४६
आइतबार, २७ पुस २०७६

काठमाडौँ । निवर्तमान सभामुख कृष्ण बहादुर महरामाथि लागेको अभियोगका सन्दर्भमा जिल्ला अदालत काठमाडौंले मेडिकल गराउने डाक्टर र विधिविज्ञान प्रयोगशालाका विज्ञ झिकाउन आदेश दिएको छ । 

आइतबार जिल्ला अदालत काठमाडौंमा न्यायाधीश अम्बरराज अधिकारीको इजलाशले पीडित (नयाँ बानेश्वर २६) को स्वास्थ्य परीक्षण गराउने विशेषज्ञ डाक्टर, मुचुल्का गराउने प्रहरी अधिकृत र बरामद भएका सामानहरुको फरेन्सिक टेष्ट गराउने राष्ट्रिय विधिविज्ञान प्रयोगशालाका विशेषज्ञलाई अदालतमै उपस्थित गराएर वकपत्र गराउन आदेश दिएको हो । 

परिवर्तित नाम नयाँ बानेश्वर २६ को जाहेरीले तत्कालीन सभामुख कृष्ण बहादुर महरामाथि लागेको बलात्कार प्रयासको अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन अवस्थामा रहेको छ । 

जिल्ला अदालतको थुनछेक आदेशले महरालाई पुर्पक्षका लागि थुनामा पठाएपछि उनी थुना बाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै उच्च अदालत पाटन पुगेका थिए । तर उच्च अदालत पाटनले गएको पुस ३ गते जिल्ला अदालतको आदेश सदर गर्दै फैसला गर्ने काम एक महिनाभित्र गर्न आदेश दिएको थियो । 

तर पुस २७ गते तोकिएको पेसीमा मुद्दाको फैसला हुन नसकेपछि उच्च अदालतले दिएको आदेश पनि समयभित्रै कार्यान्वयन हुने सम्भावना टरेको छ । उच्च अदालतले दिएको समय माघ ३ गते सकिने भएपनि त्यो मितिमा जिल्ला अदालतबाट फैसला आउने सम्भावना कमै रहेको छ । 

अब नयाँ बानेश्वर २६ को स्वास्थ्य परीक्षण गराउने डाक्टर, घटनास्थलको मुचुल्का उठाउने प्रहरी अधिकारी र बरामद गरिएका सामानहरुको फरेन्सिक टेष्ट गराउने विज्ञलाई अदालतमा ल्याएर वकपत्र गराउनका लागि समय लाग्नेछ । जसका कारण महराको मुद्दा उच्च अदालतले तोकेकै समयभित्र हुने सम्भावना टरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप