प्रदेश २ को नाम र राजधानीको टुंगो २३ गते, ‘मधेस प्रदेश कि मिथिला–भोजपुरा’ ?
जनकपुर । मतदानमार्फत प्रदेश नम्बर २ को नाम र स्थायी राजधानी टुंगो लाग्ने भएको छ । सहमति जुटाउन नसकेपछि प्रदेशसभामा निर्वाचनमार्फत राजधानी र नामको टुंगो लगाउन लागिएको हो ।
नाम र राजधानीको टुंगो लगाउन फागुन २३ गते मतदान हुनेछ । फागुन २२ गते बस्ने प्रदेशसभा बैठकमा नामाकरण र स्थायी राजधानी बारे टुंगो लगाउने प्रक्रियाबारे सदनलाई जानकारी गराएपछि अर्को दिन मतदान गर्ने तयारी भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
करिब ३ महिना देखि अवरुद्ध प्रदेशसभा बैठक यही २२ फागुनमा बोलाइएको छ । फागुन २२ गते दिउँसो १ बजे प्रदेशसभाको बैठकमा प्रदेशको नामाकरण र राजधानी टुंगो लगाउने प्रक्रियाको कार्यसूचीबारे सदनलाई जानकारी गराइने सभामुख सरोजकुमार यादवले बताए ।
उनले कार्यसूचीबारे सदनलाई जानकारी गराएपछि फागुन २३ गते बिहान ८ बजेदेखि सदनमा नाम र राजधानीको प्रस्तावमा मतदान प्रक्रिया सुरु हुने जानकारी दिए ।
सभामुख यादवले प्रदेशको नामाकरणका लागि चार र राजधानीका लागि ३ वटा प्रस्ताव दर्ता भएको भन्दै सबै प्रस्तावहरुमा छलफल गरेर दुई तिहाइ मतबाट पारित गर्ने बताए ।
प्रदेश नम्बर २ को स्थायी राजधानीबारे सबै दल एकमत भएपनि प्रदेशको नाममा सहमति हुन सकेको छैन । प्रदेशको अस्थायी राजधानी र नामाकरण सर्वसम्मतरुपमा राख्नका लागि संसदीय दलहरुबीच विवाद देखिएपछि सभामुख यादवको संयोजकत्वमा विशेष समिति पनि गठन गरिएको थियो ।
तर सो समितिले प्रदेशको राजधानीको टुंगो लगाएपनि प्रदेशको नामाकरण भने टुंगो लगाउन सकेको थिएन । समितिको पहिलो बैठक सुरु भएको एक महिनाभित्र सहमति जुटाई प्रस्ताव पेश गर्न भनिएको थियो ।
सत्तारुढ दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले प्रदेशको नामाकरण ‘मधेश प्रदेश’ प्रस्ताव गरेका छन् भने प्रमुख विपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ‘जानकी’ र नेपाली काँग्रेसले ‘मिथिला–भोजपुरा’ प्रस्ताव गरेका छन् ।
प्रदेशको नामाकरणबारे सहमति जुटाउन विभिन्न पटक बसेको समितिको बैठकमा सत्तारुढ दल मधेश प्रदेशबाट पछि हट्न तयार भएन भने विपक्षी दल पनि आफ्ना अडानबाट पछि हट्न तयार नभएपछि सहमति जुट्न नसकेको हो ।
मधेश जोड्दै नेकपाले जानकी–मधेश र कांग्रेसले मिथिला–मधेश नामकरण गर्न सत्तारुढ दलहरुलाई सुझाएका थिए ।
प्रदेश नम्बर २ मा सत्तारुढ दल समाजवादी पार्टीको ३० र राजपा नेपालको २५ सांसद छन् भने प्रमुख विपक्षी दल नेकपाका ३२, काँग्रेसको १९ र रिजवान अन्सारी नेतृत्वको संघीय समाजवादी फोरमका १ जना सांसद प्रदेशसभामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण