शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोरोनाबारे स्वास्थ्यमन्त्रीको जवाफः तीनै तहका सरकारबीच समन्वय गरिरहेका छौं

शुक्रबार, २३ फागुन २०७६, १७ : ०४
शुक्रबार, २३ फागुन २०७६

काठमाडौं । सरकारले कोरोना भाईरसको संक्रमणबाट जोखिम न्युनीकरणका लागि तीनै तहको सरकारबीच समन्वय र सहकार्य गरि आवश्यक व्यवस्था मिलाउने काम भएको स्पष्ट पारेको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले प्रस्तुत गर्नुभएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले संक्रमणबाट जोगिन सरकारले आवश्यक तयारी गरिरहेको बताएका हुन् । 

उनले  छिमेकी मुलुकमा पनि संक्रमण देखिएकाले हिजोको सर्तकताले मात्रै नपुग्ने भएकाले विशेष तयारीका साथ तीनै सरकारबीच समन्वय गरि विभिन्न स्थानमा चेकजाँचको व्यवस्था मिलाउने काम भइरहेको बताए । कोरोना भाईरस प्रवेश गर्न नदिने, सावधानी अपनाउने, मध्यम खालको स्थितमा कसरी जोगिने र अति जोखिममा पुग्दाको सम्भावित अवस्थाबारे आँकलन भएको र सोहीअनुसार आवश्यक तयारी गरिएको उनले स्पष्ट पारे ।  विभिन्न अस्पतालमा १ सय ५५ वटा आईसोलेटेड बेड निर्माण गरिएको तथा चन्द्रगढी, जनकपुर, भरतपुर, धनगढी विमानस्थलमा शुक्रबारदेखि नै प्लेनमा चढ्नुभन्दा अगाडि चेकजाँच गरेर मात्रै पठाउने व्यवस्था आरम्भ गरेको जानकारी दिए ।

उनले कोरोना भाइरसको संक्रमणलाई लिएर प्रधानमन्त्रीकै सक्रियतामा ४ पटक बैठक बसेको तथा अहिले उपप्रधानको नेतृत्वमा गृह, शिक्षा स्वास्थ्य, पर्यटन, उद्योग अर्थ लगायतका मन्त्रालय समेत समेटर उच्चस्तरीय समिति बनाइएको र यसको सचिव नेपाल सरकारको मुख्य सचिव रहने व्यवस्था गरिएको जानकारी दिए । त्यसैगरी अस्पताल क्षेत्रसँग सम्बन्धित रहेकालाई परिचालन गर्न सजिलो होस् भनेर मुख्य सचिवको नेतृत्वमा कार्यकारी समिति पनि बनाइएको उनले उल्लेख गरे ।

उनले मन्त्रालयको तर्फबाट प्राविधिक कामको नेतृत्व सचिवले गर्ने र स्पेशल कोरोनासँग सम्बन्धित विषयका बारेमा अरुसँग संयोजनकारी भूमिका निर्वाह गर्न विशेषज्ञ दिपक रमणले गर्ने व्यवस्था मिलाइएको बताए । पछिल्लो दिनमा तलसम्म सावधानी अपनाउन मुख्यमन्त्री वा मुख्यमन्त्रीले तोकेकोे अध्यक्षतामा प्रदेश स्तरमा यसको संरचना निर्माण गरिएको तथा सम्बन्धित नाकाहरुमा र प्रभावित क्षेत्रलाई समेत समायोजन गर्ने गरी तीनैस्तरकोे सरकारको प्रतिनिधित्व हुने गरि सहकार्य गर्न भनिएको स्पष्ट पारे ।

उनले पछिल्लो तथ्याँकअनुसार अहिलेसम्म ९८ हजार ४ सय ७ जना कोरोना संक्रमित भएको, ३ हजार ३ सय ८७ जनाको मृत्यु भएको, ५५ हजार ५ सय ९४ जना उपचारपछि फिर्ता भएको र ८९ देशमा फैलिएको तथा छिमेकी राष्ट्र भुटानलाई पनि छोएको भन्ने समाचार बाहिर आएको भन्दै संक्रमित हुनेको दायरा छिटो छिटो ढंगले अघि बढेको तर्फ गम्भीर बन्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘हिजोको सावधानीले नपुग्ने अवस्थामा पुगेका छौ । हिजो चीनमा मात्रै जोखिम हुँदा जति थियो, यो रोग अमेरिका लगायत अन्य देशहरुमा फैलिएको सन्त्रासबाट दक्षिण कोरिया, जापान, इरान, अरब लगायतका मुलुकहरुको फैलावटले चाहि संक्रमणको जोखिमलाई अझै उच्च विन्दुमा पुर्याएको छ ।’

उनले छिमेकी राष्ट्र भारतमा पनि हिँजो बेलुकासम्म २९ जनामा देखिएकाले भारतसँगको सम्बन्ध, आउजाउ लगायतले उच्च सर्तकतामा रहनुपर्ने अवस्था श्रृजना गरेकाले भन्सार नाका बाहेक ३७ वटा स्थानमा स्वास्थ्य विन्दुको रुपमा स्थानीय ठाउँमा चेकजाँच गर्नुपर्छ भन्ने निष्कर्षमा सरकार पुगेको र सोही अनुसारको तयारी भइरहेको बताए । भारतबाट आयात हुने औषधिमा लगाएको प्रतिबन्धका सम्बन्धमा कुटनीतिक छलफल भएको र अहिलेको अवस्थामा उपलब्ध गराउँदै आएका औषधि नरोक्ने प्रतिवद्धता भारतबाट आएको पनि उनले स्पष्ट पारे ।

मूल्यवृद्धि हुन्छ भन्ने आशंकामा जोखिम मोलेर भएपनि पेट्रोलिय पदार्थको स्टक राख्ने नेपालीहरुको बानी भएकोले पनि बजारमा औषधी लगायतका सामाग्रीहरु अभाव देखिएको भएपनि सरकारले आपूर्तिको सहज व्यवस्था गर्ने पनि उनले विश्वास दिलाए । खरिपाटी र तेलकोटमा गरिएको क्वारेन्टायनको व्यवस्थालाई विश्व स्वास्थ्य संगठनले प्रशंसा पनि गरेको भएपनि विविध कारणहरुले गर्दा नेपाल उच्च जोखिममा नै रहेकाले पर्याप्त सावधानी अपनाउन आवश्यक रहेको बताए ।

कोरोना संक्रमण र खानपानको विषयमा सामाजिक सञ्जालमा अफवाह फैलाउने काम भएको भन्दै त्यसबारे स्पष्ट पार्न सांसदहरुले गरेको आग्रहमा उनले भने, ‘कस्तो खाना खाने स्वास्थ्य नपढेको मान्छे स्वास्थ्य मन्त्री भइएको छ । डाक्टरहरुले भनेको गर्नु, डाक्टरले गरेको नगर्नु । सरहरुले भनेको मान्नु सरहरुले गरेको नगर्नु भने जस्तै खानेकुरा अहिलेको सन्र्दभमा माछा मासु खाँदा खेरी नपकाई नखानु भन्न सकिने कुरा भो । केही पनि होइन भनेर यसलाई उपेक्षा गर्ने वा सबै सन्त्रासै यही भइसक्यो अब जोगिनै गाहे होला कि भन्ने खालको दुईवटै अतिबाट हामीले हामीले समाजलाई बचाउनुपर्छ ।’

विदेशमा बस्ने नेपालीहरुका लागि उच्च जोखिमको मुलुकबाट आउनेहरुको प्रत्येक व्यक्तिलाई चेकजाँच गरेर मात्रै पठाउने व्यवस्था मिलाउने गरि तयारी भइरहेको बताए । उनले वर्तमान स्थितिको मध्यनजर गर्दे सरकारले सगरमाथा संवाद स्थगित गरिसकेको र भोजभतेर, सभा सम्मेलन लगायत नगर्न आग्रह गरेको तथा संसदलाई पनि नलम्ब्याउने बारे पनि छलफल भइरहेको बताए ।

सरकारले साबुन पानीले हात धुने र भोजभतेर, सभासम्मेलन नगर्न भने पनि संसद सञ्चालन भइरहेको र संसद भवनमा पानी पनि नभएको भन्ने सांसदहरुको गुनासोबारे उनले सभामुखको ध्यानाकर्षण गराए ।  उनले भने, ‘साबुन पानीले हात धुने भनियो संसदमै पानी छैन भनेर माननीयज्यूहरुले भन्नुभएको कुरा सभामुख आउनुभएकै बेला मैले पनि स्मरण गराएँ भने त्यो बोल्ने साथीलाई पनि न्याय होला भन्ने मैले ठान्दछु । अब यसका लागि स्वास्थ्य मन्त्रालयकै कारणले संसदमा पानीको अभाव भएको हो भने त्यसको बारेमा पनि छलफल गरौं । यो त अति आवश्यकीय वस्तु नै हो ।’

कोरोना संक्रमण रोक्ने सम्बन्धमा सबै राजनीतिक दल र विभिन्न क्षेत्रबाट देखाइएको चासोको प्रशंसा पनि गरे  । उनले भने, ‘अप्ठयारो परेपछि मात्रै एकठाउँमा आउने खालेको जुन खालको संस्कार थियो । यसपटक चाही हामी संकटमा पर्नुभन्दा अर्थात् एम्बुसमा पर्नुभन्दा अगाडि नै हामीले ज्ञान प्राप्त गर्यौ भने त्यो जोखिम आउन नदिने कुराका लागि नै हाम्रो एकताले सफलता प्राप्त गर्न सक्छ भन्ने विश्वास मैले लिएको छु । यो कोरोना भाइरस कस्तो हो भन्दा एकजना डाक्टरले भन्नुहुन्थ्यो यो नपड्किएको एम्बुस जस्तो हो । नपड्किन्जेल खतरै छैन जस्तो देखिन्छ तर तपाई हाम्रै छेउमा छ कि परिवारमै छ कि ? छिमेकीमा छ कि ? कहाँ आइपुग्यो भन्ने कुराको कुनै अनुमान नभएको तर पड्किदाखेरी बल्ल थाहा हुने यो खालको स्थिति भएको हुनाले हामीले सावधानीका कुरालाई चाही त्यही ढंगले नै अपनाउनुपर्छ ।’  

उनले भक्तपुरको क्वारेन्टायनलाई जगेडाको रुपमा सिडियो मातहत नै राख्ने गरी अन्य स्थान पनि खोज्ने तथा प्रदेश र स्थानीय तहमा पनि क्वारेन्टायनमा राख्ने खालको व्यवस्था गर्ने तयारी सरकारले गरेको स्पष्ट पारे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप